+
+

बर्लिन अवार्ड विजेता चिनियाँ प्राध्यापक सीए फेई निफको जुरी प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १२:२५

काठमाडौं । दुईपटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चिनियाँ फिल्म निर्देशक तथा प्राध्यापक सीए फेई नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को कथानक प्रतिस्पर्धातर्फ प्रमुख निर्णायक बन्ने भएका छन् ।

महोत्सव अध्यक्ष केपी पाठकले फेईले जुरीको भूमिकासँगै फिल्म लेखन र निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने तय भएको जानकारी गराए । फेस्टिभलमा उनको पछिल्लो निर्देशित फिल्म ‘सङ अफ तिब्बत’ देखाइने भएको छ ।

बेइजिङ फिल्म एकेडेमीबाट निर्देशनमा स्नातक गरेका फेईले सन् १९९० मा निर्देशन गरेको ‘ब्ल्याक स्नो’ले बर्लिनको दोस्रो ठूलो अवार्ड सिल्भर लाइन जितेको थियो । यसको तीन वर्षपछि उनैले निर्देशन गरेको ‘वुमन सिसम ओइलमेकर’ले बर्लिनमा गोल्डेन बेयर जितेको थियो ।

सन् २००० मा ‘सङ अफ तिब्बत’ निर्देशन गरेयता उनले कुनै पनि फिल्म निर्देशन गरेका छैनन् । बेइजिङ फिल्म एकेडेमीका पूर्वउपाध्यक्ष समेत रहेका फेई सन् १९८० देखि निरन्तर प्राध्यापन पेशामा संलग्न छन् । अहिले विश्व फिल्म क्षेत्रमा नाम बनाएका चेन काई, तिआन् झाङझुङ, झाङ यिमाऊ, जिया जाङके सीए फेईकै विद्यार्थी हुन् ।

८० वर्षको उमेर पार गरेका फेई अहिले पनि नयाँ पुस्ताका फिल्मकर्मीका लागि कला परामर्शदाताको रुपमा काम गर्छन् । निफको यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुँदैछन् ।

प्रतिस्पर्धामा रहेका फिल्म प्रदर्शनसँगै महोत्सव अवधिभर निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ । निफ आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?