News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको नवौं संस्करण चैत १९ देखि २३ सम्म काठमाडौंमा आयोजना हुँदैछ र सम्पूर्ण तयारी पूरा भएको छ।
- महोत्सवमा ४० देशका ८८ फिल्म प्रतिस्पर्धामा सहभागी छन् र ६ वटा चिनियाँ तथा ४ वटा रुसी फिल्म विशेष प्रदर्शन गरिनेछन्।
- कार्यक्रममा बलिउड निर्देशक रमेश सिप्पी, अभिनेता राजेश हमाल र अन्य कलाकारले सहभागी भएर सिनेमा संवाद र एआई फिल्म वर्कसप सञ्चालन गरिनेछ।
काठमाडौं । चैत १९ देखि २३ सम्म आयोजना हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ ।
‘विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलिचत्र महोत्सव’ भन्ने नाराका साथ फ्युचर फर्वाड थिममा आयोजना हुन लागेको यस महोत्सवको प्राविधिक र व्यवस्थापकीय पक्षलाई आयोजक समितिले अन्तिम रूप दिएको हो ।
निफका अध्यक्ष केपी पाठक भन्छन्, ‘प्रि-इभेन्ट सकिए लगत्तै हामी मेन इभनेन्ट प्रवेश गरेका हौं । विदेशी अतिथिहरू आउने क्रम सुरु भइसक्यो ।’
निफको उद्घाटन समारोहका विशेष अतिथि बलिउडका प्रसिद्ध निर्देशक रमेश सिप्पी भने १८ गते साँझ ६ बजे नेपाल आइपुग्ने भएका छन् । कलाकार किरण जुनेजा र नेपाली मुलका भारतीय चलचित्र निर्माता निलकण्ठ रेग्मी पनि निफमा सहभागी हुनेछन् ।
चैत १९ गते सिभिल मलमा हुने उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतको उपस्थिति रहने बताइएको छ ।
निफको दोस्रो दिन चैत २० गते दिउँसो ३ बजे पर्यटन बोर्डमा निर्देशक सिप्पी र अभिनेता राजेश हमालबीच ‘सिनेमा संवादः रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवाद कार्यक्रम तय भएको छ । जहाँ उनीहरूले आफ्नो व्यक्तिगत अनुभव, सिनेमा क्षेत्रको यात्रा र सिनेमाको भविष्यबारे केन्द्रित रहेर कुराकानी तय भएको आयोजकले बताए ।
त्यस्तै, युवा मेकरलाई लक्षित गरी निफमा पाँच दिने एआई फिल्म वर्कसप पनि राखिएको छ । निफ अविधभर यो जारी रहनेछ । निफका संयोजक शिव पुरी भन्छन्, ‘यो फिल्म निर्माणमा एआईको प्रयोगबारे वर्कसप हो ।’
यस वर्कसपमा नेपाली विज्ञले एआई-डिजिटल कन्टेन्टबारे कानुनी जटिलता र प्रतिलिपी अधिकारबारे पनि वर्कसप दिनेछन् । पुरी भन्छन्, ‘एआई प्रयोग गरी बनाएका सामाग्रीको कानुनी पाटोबारे पनि वर्कसपमा चर्चा हुन्छ ।’
त्यस्तै, निर्माताका खोजीमा रहेका लेखकलाई उनीहरूको पहुँचमा पुर्याउने उद्देश्यले ‘फिचर पिच’ कार्यक्रम पनि राखिएको छ । जहाँ लेखकले निर्मातालाई आफ्नो कथा सुनाउन पाउनेछन् ।
यो संस्करणमा ४० देशका ८८ फिल्म प्रतिस्पर्धामा सहभागी छन् । ६ वटा चिनियाँ र ४ वटा रुसी प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ । रुसी सांस्कृतिक केन्द्रमा ‘रसियन फिल्म डेज’ आयोजना गरिनेछ । अन्य दिन पनि यस स्थानमा प्रदर्शन हुने फिल्म निःशुल्क हेर्न पाइने जनाइएको छ ।
यसपटक निफमा सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ । जस अन्तर्गत ६ वटा चिनियाँ सिनेमा र वृत्तचित्र प्रदर्शन गरिनेछ । पर्यटन बोर्ड र छायाँ सेन्टरमा यी फिल्म निःशुल्क हेर्न पाइने भएको छ ।
प्रतिस्पर्धमा रहेका मध्येका फिल्म सिभिल मल र छाया सेन्टरमा भने सःशुल्क प्रदर्शन हुनेछ । निफ अन्तर्गत १० वटा अन्तक्र्रियात्मक कार्यकम राखिएको छ । जसमा विभिन्न देशका मेकरले अनुभव सेयर गर्नेछन् ।
प्रतिक्रिया 4