+
+

बीपी प्रतिष्ठानको विवाद तत्काल समाधान गर्न प्रधानमन्त्रीलाई सांसद तोसिमाको पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १८:२७

२३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको विवाद तत्काल सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेकी छन् ।

मंगलबार प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई पत्र लेख्दै उनले बारम्बार हुने गरेका बन्द, हड्तालका कारण उक्त प्रतिष्ठान क्षयीकरणको क्रममा रहेको र यो देशकै लागि दुखद र नोक्सानको विषय भएको बताएकी छन् ।

२०५० सालमा धरानमा स्थापित प्रतिष्ठान नेपालको एक अग्रणी स्वास्थ्य संस्था र पूर्वी भेगको एक विशिष्टकृत रिफरल अस्पतालको रुपमा रहँदै आएको छ । ‘तर बारम्बार हुने गरेका बन्द, हड्ताल जस्ता विषम परिस्थितिले देशको स्वास्थ्य र मेडिकल शिक्षाको मेरुदण्ड मध्येको एकको रूपमा स्थापित प्रतिष्ठान आज क्षयीकरणको क्रममा छ, जुन सिंगो देशकै लागि दुःखद र नोक्सानको विषय हो,’ उनले भनेकी छिन् ।

प्रतिष्ठानको विकास र विस्तारमा योगदान गरेका शिक्षक तथा कर्मचारीको आन्तरिक बढुवा लामो समयदेखि रोकिएकाले उनीहरुमा उत्प्रेरणा र ऊर्जा हराउँदै गएको डा. कार्कीले बताएकी छन् । पटक पटक आन्दोलन र सम्झौता हुने तर समस्या समाधान नभएको भन्द उनले गत भदौ १३ देखि २४ गतेसम्म र असोज २२ देखि कात्तिक २० गतेसम्म चरणबद्ध रूपमा भएका शिक्षकहरुको आन्दोलनले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेको जानकारी गराएकी छन् ।

तेस्रो पटक पुस २९ गतेदेखि सुरु भएको आन्दोलनले प्रतिष्ठानको शैक्षिक क्षेत्रलाई क्षतविक्षत बनाउँदै लगिरहेको भन्दै समाधानका लागि पहल लिन प्रधानमन्त्रीलाई आग्रह गरेकी हुन् । ‘यो अन्यौलताका कारण प्रतिष्ठानको शैक्षिक क्यालेन्डर पछि धकेलिएको त छ नै, अधिकांश ब्याचको कक्षाहरू, पोस्टिङहरू, प्रयोगशाला अभ्यासहरु पूर्णरूपमा ठप्प रहेको अवस्था छ । शिक्षक तथा कर्मचारी आन्दोलनरत भएका कारण प्रतिष्ठानमा स्वास्थोपचारका लागि आउने बिरामीले पनि उपचार नपाई फर्कनुपर्ने स्थिति रहेको छ’, डा. कार्कीले भनेकी छन् ।

अग्रणी स्वास्थ्य संस्थाको आन्तरिक विवादले सर्वसाधारण जनताको संविधानद्वारा सुनिश्चित स्वास्थ्य सम्बन्धी हकमा आघात पुगेको उल्लेख गर्दै उनले प्रतिष्ठानमा शिक्षक–कर्मचारीको बढुवा सम्बन्धी विवाद तुरुन्तै समाधान गरी शैक्षिक तथा चिकित्सकीय गतिविधि तुरुन्तै सुरु गराउन माग गरेकी छन् ।

हेर्नुहोस् सांसद कार्कीले प्रधानमन्त्रीलाई लेखेको पत्र : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?