+
+

भन्सार यार्डमा रोकिएका गाडी भित्र्याउन सरकारको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १९:१०
फाइल तस्वीर

२३ माघ, काठमाडौं । विभिन्न समयमा भन्सार यार्डमा ल्याएर जाँचपास नगरेका साना सवारी साधन नेपाल भित्राउन सरकारले नै ताकेता सुरु गरेको छ ।

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार यस्ता गाडी २ हजार भन्दा बढी संख्यामा रहेका छन् ।

विभागले विभिन्न कम्पनीले भन्सारसम्म ल्याएका गाडी नेपाल भित्राउन कम्पनीहरुसँग ताकेता सुरु गरेको छ । कुनै पनि वस्तु ६० दिनभित्र भन्सार जाँचपास नगरे जफत गरी लिलामी प्रक्रियामा जाने नियम छ ।

तर, सवारी साधनको हकमा भने केही लचिलो बनेर प्रक्रियागत रुपमै भित्राउन पहल थालिएको उनले जानकारी दिए ।

‘अहिले सरकारको राजस्व घटेको अवस्था छ,’ उनले भने, ‘यस्तो अवस्थामा भन्सार यार्डमा रोकिएका सवारी साधन भित्राउन आग्रह गरिरहेका छौं ।’

यसरी ताकेता गर्दा समेत गाडीहरु नभित्रिएमा भने जफत र लिलामी प्रक्रियामा जानु पर्ने अवस्था आउने उनको भनाइ छ ।

सामान्यतया सवारी साधनलाई जफत गरी लिलामी प्रक्रियामा लैजानु भन्दा कर लिएर भित्राउँदा सरकारलाई फाइदा हुन्छ ।

कुन-कुन भन्सारमा छन् जाँचपास नभएका गाडी ?

भन्सार विभागका अनुसार वीरगञ्ज, भैरहवा, रसुवागढी र चोभरमा धेरै गाडी थुप्रिएका छन् । यस्ता गाडीको संख्या २ हजार भन्दा बढी रहेको विभागका निर्देशक खड्काले जानकारी दिए ।

उनका अनुसार व्यवसायीले बजारमा माग नभएको भन्दै यार्डमा ल्याएका सवारी साधन समेत भित्राउन आनाकानी गरेका हुन् । अर्कोतर्फ यस वर्ष विद्युतीय सवारी साधनको माग बजारमा बढी छ । सोही अनुसार विद्युतीय सवारी साधन भित्रने क्रम समेत उत्तिकै छ ।

जफत सामान लिलामी प्रक्रियामा तीव्रता

भन्सार विभाग मातहतका विभिन्न कार्यालयले जफत गरेका मालवस्तुको लिलामी प्रक्रियालाई यतिबेला तीव्रता दिएका छन् ।

गौर भन्सारले आइतबार एक सूचना प्रकाशित गरी चोरी पैठारी/निकासी अभियोगमा कार्यालयको गोदमममा थुप्रिएका मालवस्तु २८ माघका दिन लिलामी गर्ने गरी प्रस्ताव आह्वान गरेको छ ।कार्यालयले ५९ लाख ६७ हजार मूल्य अनुमान गरिएका मालवस्तुको लिलामी गर्दैछ । यसमा अधिकांश लत्ताकपडा छन् ।

ठाडी भन्सार कार्यालयले १८ माघमा एक सूचना प्रकाशित गरी मालवस्तुको लिलामीका लागि प्रस्ताव आह्वान गरेको छ । लत्ताकपडा, जुत्तालगायतका वस्तु लिलाममा राखिएको कार्यालयले जनाएको छ ।

सिराहा भन्सारले २१ माघमा सूचना प्रकाशित गरी २६ लाख ७४ हजार मूल्यांकन बराबरको मालवस्तु लिलामी गर्न लागेको जनाएको छ । भन्सार नियन्त्रणमा रहेका प्याजका बोरा, कपडा, ब्रिफकेस, मैदा, चिनीसहितका मालवस्तुको हकदाबीका लागि समेत आह्वान गरेको छ ।

कञ्चनपुर भन्सारले १८ माघमा सूचना प्रकाशित गरी १२ लाख ९ हजार ५४४ रुपैयाँ मूल्यांकन गरिएका सामान लिलामीमा राखेको छ । जसमा लत्ताकपडा र भाडा वर्तन धेरै छ ।

कैलाली भन्सारले १८ माघमा ठूलो मात्रामा मालवस्तु लिलामी र हकदाविका लागि सूचना निकालेको छ ।

यसैगरी १७ माघमा त्रिभुवन विमानस्थल भन्सारले टेलिभिजन सेटसहित ३६ भन्दा बढी वस्तुको हकदाबीका लागि सूचना निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?