+
+

गण्डकीमा ५ वर्ष नवीकरण नभए गाडी नै जफत

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १३:५०

१४ मंसिर, पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको छ ।

यातायात व्यवस्था कार्यालय कास्की, नवलपुर र बागलुङमा गरी अहिलेसम्म करिब साढे ३ लाख सवारी साधन दर्ता भएका छन् ।

वार्षिक नवीकरण नै नगरी सवारी साधन चलाउनेको संख्या बढेपछि यातायात व्यवस्था कार्यालयको टाउको दुखाइ बनेको छ । कार्यालयले अब नवीकरण नगरी चलेका सवारी साधन जफत नै गर्ने भएको छ ।

सडकमा प्रहरीले चेकजाँच गर्दा लामो समय नवीकरण नै नगरी चलाएको पाएमा गाडीलाई जफत गर्न थालेको छ । यातायात व्यवस्था कार्यालय कास्की (सवारी) का प्रमुख डिल्लीराम रिज्यालका अनुसार बुधबार पोखराबाट यस्तै एउटा सवारी साधन प्रहरी जफत गरेको छ ।

कार्यालयले अबको एक महिनाभित्र अनिवार्य रुपमा वक्यौता कर तिर्न सूचना नै जारी गरेको छ । कर नतिरी रकम बक्यौता राख्ने क्रमलाई रोक्न र कर तिर्न प्रोत्साहन गर्न कार्यालयले जरिवाना छुटको व्यवस्थासमेत गरेको छ ।

कार्यालयमा दर्ता भएका केही पुराना तथा नयाँ साधन कर, आयकर, रुट इजाजत शुल्क तथा नियमानुसार लाग्ने अन्य शुल्क समयमा नबुझाई वक्यौता राखेको कार्यालयका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिए ।

गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको हकमा २०७५/०७६ भन्दाअघिको तिर्नुपर्ने वक्यौता जरिवाना पूरै छुट हुने कार्यालयले जनाएको छ । प्रत्येक वर्षको सवारी साधन कर नतिर्नेको जरिवानाको शुल्क पनि बढ्ने व्यवस्था ऐनमा छ ।

सवारी साधनको म्याद सकिएको ९० दिनभित्र नवीकरण गर्न जाँदा जरिवाना लाग्दैन । तर, ९० दिन कटेको ३० दिनसम्म ५, ४५ दिनसम्म १० प्रतिशत र त्योभन्दा पछि २० प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

एक आर्थिक वर्ष नै नवीकरण मिति गुज्रियो भने ४० प्रतिशत, अर्को वर्ष पनि कट्यो भने ६० प्रतिशत हुँदै १०० प्रतिशतसम्म बढी जरिवाना शुल्क तिर्नुपर्छ । ५ वर्षसम्म कर नतिरेको सवारी साधनलाई अब प्रहरीले जफत गरेर कार्यालयमा बुझाउने प्रमुख रिज्यालले बताए ।

कार्यालयले दर्ता भएको २० वर्ष अवधि नाघेका सवारी साधनलाई पनि अनिवार्य लागत कट्टा गर्नुपर्ने जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य

यातायात व्यवस्था विभागले गत सालको साउन १ गतेबाटै गण्डकी र बागमतीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको थियो । तर, तयारी नै नगरी विभागले सूचना जारी गरेपछि कार्यालयले नम्बर उपलम्ब गराउन नसकेको प्रमुख रिज्यालले बताए ।

गण्डकी प्रदेशमा अब अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीले २०८० मंसिर १० गतेबाट अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न सूचना जारी गरेको हो । हालसम्म गण्डकीमा जम्मा २५ सय वटा सवारी साधनको इम्बोस्ड नम्बर जडान भएको रिजालले बताए ।

उनका अनुसार नयाँलाई अनिवार्य गर्ने र पुरानालाई पनि निरन्तरता दिइने छ । अब इम्बोस्ड नम्बर जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध हुने प्रमुख रिज्यालले जानकारी दिए ।

अहिले विभागको सर्भरको क्षमताले ५६ देखि ७० वटामात्रै इम्बोस्ड नम्बर जडान गर्न सकिन्छ । विभागले सर्भरको क्षमता बढाइदिने हो भने दिनमै २÷३ सय वटा नम्बर जडान गर्न सकिने रिज्यालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?