+
+

सतर्कता केन्द्र र खानेपानी मन्त्रालयबीच गाडीमा छिनाझपटी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १८:४४

३ फागुन, काठमाडौं ।  गाडी फिर्ता गर्ने विषयलाई लिएर खानेपानी मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रबीच मतभेद देखिएको छ ।

खानेपानी मन्त्रालयको गाडी सतर्कता केन्द्रले फिर्ता नगरेपछि दुई निकायबीच मतभेद देखिएको हो । मतभेद बढेपछि सतर्कता केन्द्रले पनि यसअघि सतर्कता केन्द्रका सचिवले चढेको गाडी केन्द्रमै फर्काउनुपर्ने बताउन थालेको छ ।

खानेपानी मन्त्रालयको स्रोतका अनुसार औपचारिक पत्र पठाउँदा पनि राष्ट्रिय सतर्कता केन्द्रका सचिव रामआधार साहले गाडी फिर्ता गर्न आनाकनी गरेका छन् । मन्त्रालयले गत १६ माघमा नै पत्र लेखेर सचिव साहलाई मन्त्रालयको गाडी फिर्ता गर्न आग्रह गरेको थियो ।

२८ मंसिरमा खानेपानी मन्त्रालयबाट सरुवा भएका सचिव साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तरगतको राष्ट्रिय सतर्कता केन्द्रमा जिम्मेवारी पाएका थिए । त्यतिबेला नै उनले खानेपानी सचिवलाई मन्त्रालयले उपलब्ध गराएको बा २ झ ५०५० नम्बरको गाडी आफूसँगै लगेका थिए ।

खानेपानी मन्त्रालयबाट विदा भएपछि सो गाडी फिर्ता गर्न सचिव साहले रुचि नदेखाएपछि खानेपानी मन्त्रालयले पत्र नै काटेर कामकाजमा आवश्यक परेका भन्दै फिर्ता गरिदिन भनेको थियो । तर, अहिले पनि सतर्कता केन्द्रका सचिव साह खानेपानी मन्त्रालयकै गाडी प्रयोग गरिरहेका छन् ।

सरकारी कर्मचारीले कार्यालयबाट सरुवा हुँदा सो कार्यालयमा पदीय हैसियतमा प्रयोग गरेका सबै सरसमान कार्यालयमै बुझाउनुपर्छ । तर, सार्वजनिक निकायको कामकाजको निगरानी गर्ने निकायकै प्रमुख रहेका सचिव साहले सरकारी नियमको पालना गरेका छैनन् ।

रोचक त के छ भने यसअघि सतर्कता केन्द्रका सचिव रहेका हालका खानेपानी सचिव सुरेश आचार्यले सहरी विकास मन्त्रालयको गाडी चढिरहेका छन् । सहरी विकास मन्त्रालयले गाडी फिर्ता नमागेको भन्दै उनले सतर्कता केन्द्रमा रहँदा पनि सहरी विकास मन्त्रालयकै गाडी चढेका थिए ।

सतर्कता केन्द्रका सचिव रामआधार साह सतर्कता केन्द्रमा रहँदा सचिव आचार्यले चढेको गाडी खानेपानी मन्त्रालयले फिर्ता गरेमात्र आफूले गाडी फिर्ता गर्ने बताउँछन् । ‘मुख्यसचिवज्यूसँग नै कुरा गरेर म यो गाडी चढिरहेको हुँ, सतर्कता केन्द्रमा एउटा गाडी भए पनि त्यो त्यति ठीक छैन,’ उनले भने,‘आवश्यक नै नदेखेकाले मैले खानेपानी मन्त्रालयको पत्रको जवाफ दिएको छैन ।’

सतर्कता केन्द्रमा सचिव चढ्नका लागि स्कर्पियो गाडी भएपनि त्यहाँ जाने सचिवले त्यसको प्रयोग गर्ने गरेका छैनन् । सचिवहरुले आफू चढ्ने गरेको गाडी मन्त्रालयहरुलाई फिर्ता नगर्ने र आफूसँगै लिएर हिँड्ने गर्दा पटक–पटक यस्तो विवाद चर्किने गरेको छ । महँगा र विलासी गाडीमा सचिवहरूले बढी रूचि देखाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?