+
+

राइड सेयरिङ खारेजीको माग गर्ने मजदुर नेता र व्यवसायीसँग कड्किए मन्त्री

अमृत सुवेदी अमृत सुवेदी
२०८० माघ २३ गते २१:४४

२४ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावलीको विरोध गर्दै ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीलाई मन्त्रीले थुरेर पठाएका छन् । यातायातसँग सम्बन्धित ६ वटा संघसंस्थाले मंगलबार सरकारको नियमावलीको विरोध गर्दै सच्याउन अल्टिमेटमसमेत दिएका थिए ।

यातायात व्यवसायी, मजदुरसँग छलफल नगरी ऐन ल्याइएकोमा उनीहरुले ध्यानाकर्षण गराउँदै नियमावलका नियमहरु फेर्न माग गरेका हुन् । नियमावलीका केही नियम खारेज गर्नुपर्ने र व्यवसायीको मागलाई ७२ घन्टाभित्र पूरा नगरे बाध्य भएर आन्दोलनमा जानुपर्ने व्यवसायीको चेतावनी छ ।

व्यवसायीले १ नम्बर बुँदामै निजी सवारी साधनलाई पनि सार्वजनिक सवारीसरह यात्रु ओसारपसार (राइड सेयरिङ) गर्न मापदण्ड बनाएर अनुमति दिने व्यवस्था खारेजीको माग गरेका छन् । त्यसैगरी सार्वजनिक सवारीको हकमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी २० वर्षमा र विद्युत सार्वजनिक सवारी तीस वर्षमा पत्रु गर्नुपर्ने व्यवस्था हटाउनसमेत माग गरेका थिए ।

मजदुर तथा व्यवसायीका तर्फबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका तर्फबाट केदार पौडेलले ज्ञापन पत्र बुझाएपछि मन्त्रीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीको ध्यानाकर्षण गराएका थिए । उनीपछि मजदुर र व्यवसायीले आफ्नो कुरा राखे ।

पोखरेली ट्याक्सी सेवा प्रालिका निवर्तमान अध्यक्ष प्रकाश तिवारीले प्रदेश सरकारले मन्त्री र सांसदको योग्यताको नियम ल्याउनुपर्नेमा व्यवसायी र मजदूरलाई निरुत्साहित गर्ने गरी कानुन ल्याएको भनेर विरोध गरेका थिए ।

स्वार्थ समूह र निजी गाडी कम्पनीको इसारामा नियमावलीमा आएको पनि त्यही व्यवसायीले बताउँदै थिए । संघीयतामाथि नै प्रश्न उठाउन थालेपछि तिवारीलाई बीचमै रोकेर यातायात मन्त्री जुग्जाली जंगिइहाले । कुनै माफिया, कुनै सुरुङको मान्छे, कुनै दलालसँग मन्त्री बसेको भए प्रमाण ल्याउन भन्दै जुग्जालीले व्यवसायीलाई हकारे ।

‘भन्दिएर हुन्छ ? भन्ने कुरा भन्नुपर्‍यो नि ! भन्न पाइन्छ, लोकतन्त्र त तपाईं हामीले नै ल्याएको हो नि, लोकतन्त्र मान्छेलाई जेजे मन लाग्यो, त्यही त्यही गर्न पाइन्छ भनेर ल्याएको होइन नि !,’ जुग्जालीले भने, ‘जेजे मन लाग्यो त्यही बोल्दिने ? हामी चाहिँ घन्टी हल्लाएर आएको यहाँ ?’

नियमावली मुख्यमन्त्री र मन्त्रीले नहेरी ल्याएको भनाइप्रति मन्त्री जुग्जालीले प्रतिवाद गरे । कयौं कुरामा आफूहरु पनि दृष्टि नपुगेको हुन सक्ने र त्यसमा सबै समेटेर जान तयार नै रहेको मन्त्रीको भनाइ थियो । तर, मुख्यमन्त्री र मन्त्रीले नहेरी सही गर्‍यो भन्दिने भन्ने प्रश्न गर्दै जुग्जाली जंगिएका थिए ।

‘माफियाको चंगुलमा परेर..जे पनि भन्दिने ? तपाईंहरुले थाहा पाएको छैन भन्नुभाछ ? यहाँ मजदुरको साथीहरु हुनुहुन्छ नि ! केके छ हामीलाई थाहा छैन र ? ट्याक्सी चलाउने मजदुरहरुलाई ल्याएर तपाईं नेता भन्नेहरुलाई राखौं त के हुन्छ ?’ जुग्जाली कड्किए, ‘एक एक थाहा छैन र हामीलाई पनि, के कुरा गर्नुहुन्छ ?’

निजी सवारी साधनको आयु तोकेकामा सार्वजनिक यातायातका व्यवसायीले माग राखेको भन्दै आन्दोलन गर्ने साथी बनाउन खोजेको हो ? भन्दै मन्त्री जुग्जालीले प्रश्न गरे ।

‘नियमावली बनाउने बेलामा मुख्यमन्त्री कार्यालयबाट, मन्त्रालयबाट कतै आर्थिक चलखेल भएको छ भने ल्याउनुस्, अख्तियारमा हाल्नुस्, अख्तियार छ नि ! कहाँ कहाँ हुन्छ उजुरी गर्नुस्,’ मन्त्री जुग्जालीले भने, ‘एक रुपैयाँ यो क्षेत्रमा ल्याएको छ भने ल्याउनुस्, म भर्खरै रिजाइन दिन्छु । मलाई कोही माफिया, दलालसँग बसेर केही गर्नु पनि छैन, म तपाईंहरु भन्दा सामान्य किसान परिवारमा जन्मिएर संघर्ष गरेर आएको मान्छे ।’

यातायात क्षेत्र सुधारमा यसोयसो गरौं भन्दा सहमत हुन सकिने तर यातायातको ऐन ल्याउँदा मन्त्री, सांसदले यति पढेको, यति पढ्नुपर्नेजस्ता तर्क नगर्न आग्रह गरे ।

ट्याक्सी मिटरमा चलाउन खोज्दा किन हिँड्न नखोजेको भन्दै मन्त्री जुग्जालीले प्रश्न गरे । कर्मचारीलाई चेकिङमा पठाउँदा कुट्न आउने, खेद्ने गरेको र पुलिसलाई बोलाएर भाग्नुपर्ने स्थिति आएको जुग्जालीको भनाइ थियो ।

‘मजदुर आएर मसँग रोएर गएका छन् । तपाईंहरुले होइन रुने बनाको ?,’ मन्त्री जुग्जालीले भने, ‘अहिले आएर मजदुरको पक्षमा यो गरें भनेर गफ दिने ? मजदुर तपाईंहरुले मार्नुभाछ । यहाँ आएर एउटा सहमति गरेर बाहिर गएर टेक्स्ट गर्ने ?’

नियमावली मजदुरको पनि पक्षमा रहेको उनको भनाइ थियो । ट्याक्सी मिटरमा चलाउने विषयमा अझै पनि चलखेल हुन सक्ने र कर्मचारीले चाहेरमात्रै पनि चलखेल नहुने भन्दै उनले व्यवसायीतिर औंला ठड्याए ।

‘तपाईंहरुजस्तै नेताहरुबाट हुने हो । तल मजदुरलाई पनि थाहा हुँदैन । उनीहरुसँग मासिक रुपमा ल्याउनुहुन्छ, पैसा ।

तपाईंहरुजस्तै नेताहरुबाट हुने हो आर्थिक चलखेल’, मन्त्री जुग्जालीले भने, ‘तपाईंहरु जस्तै नेताले बुझाउनु भाछ, तपाईंहरु नै बोल्नुभाछ नि, मैले सुन्याछैन ? कहाँ बुझाउनु भाछ पैसा ?’

संघीयता खारेज गर्ने विषय उठाएका व्यवसायीलाई यही हो चाहेको भन्दै मन्त्री जुग्जालीले प्रश्न गरे । धम्क्याएर, गिज्याएर यसलाई ठीक पार्न सकिन्छ कि भनेर नसोच्न मन्त्रीले चेतावनी दिए ।

गण्डकी प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०७६ मा टेकेर हालै ल्याएको नियमावली माघ १८ गते राजपत्रमा प्रकाशित भएको थियो ।

नियमावलीमा सार्वजनिक यातायातलाई धारासायी बनाउने गरी ल्याएको नियमावली सच्याउन आग्रह गर्दा मन्त्री जंगिएको पोखरेली ट्याक्सी सेवा प्रालिका निवर्तमान अध्यक्ष तिवारीले बताए ।

सबै ट्याक्सी, व्यवसायी, भ्यानलाई प्रदेशभरिको रुट परमिट दिँदा सबै सवारी साधन केन्द्रित हुने तिवारीको भनाइ थियो । ‘रातो प्लेटलाई पनि यात्रु बोक्न दिने भए किन प्लेटको वर्गीकरण गर्ने ? राइड सेयरिङमा जाने हो भने पनि कालो नम्बर प्लेटमा जानुपर्छ भन्ने हो,’ तिवारीले भने ।

गण्डकी प्रदेशभित्र सञ्चालन हुने गरी कुनै पनि डिजेलबाट सञ्चालित ट्याक्सी र कृषि कार्यबाहेक कुनै पनि ट्रयाक्टर र पावर टेलरलाई पोखरा उपत्यका र सहरी क्षेत्रमा सञ्चालन हुने गरी दर्ता नगर्ने व्यवस्था ट्याक्सीको हकमा लागु नगर्न उनीहरुको माग छ ।

सिन्डिकेटको पक्षमा गएका व्यवसायीले सार्वजनिक भाडाका (ट्याक्सी) को नयाँ दर्ता रोकी विस्थापन नीतिलाई यथावत कायम गरेर मात्र लागु गर्नु पर्ने बताए ।यात्रुवाहक सवारीले यो नियम लागू भएको ४५ दिनभित्र सवारी साधनको छतमा सामान राख्ने क्यारियर नहटाएमा इजाजत निलम्वन गर्ने नियमलाई हटाउनुपर्ने व्यवसायीको माग छ ।

विद्युतीय सवारी खरिद गर्न प्रोत्साहन स्वरुप सरकार द्वारा ३ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने साथै विद्युतीय सवारीले वायु प्रदुषण नगर्ने भएको हुँदा ३० वर्षे आयु खारेज गरिनु पर्ने व्यवसायीले मन्त्री रेशमबहादुर जुग्जालीको ध्यानाकर्षण गराएका थिए ।

गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको वैज्ञानिक भाडादर कायम गरि स्वचालित भाडादर कार्यान्वयन गरिनु पर्ने र प्रदेश स्तरीय यातायात प्राधिकरण गठन गरिनुपर्ने मागसमेत व्यवसायीको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?