+
+

सानोठिमी क्याम्पसका छात्रवासबाट पूर्वविद्यार्थी हटाउने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते २१:४१

२४ माघ, काठमाडौं । भक्तपुरको सानोठिमी क्याम्पसमा आन्दोलनरत विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच सहमति भएको छ । बुधबार क्याम्पस प्रशासन, स्ववियु र आन्दोलनरत विद्यार्थी संगठनहरुबीच भएको वार्तामा १० दिनभित्र समस्या समाधान गर्ने सहमति भएको छ ।

क्याम्पसको छात्राबासमा स्नातकको पढाइ सकेर स्नातकोत्तरमा भर्ना नभएका र स्नातकोत्तर पढाइ सकेका विद्यार्थी नियम विपरीत बसेको भन्दै विद्यार्थीहरुले हटाउन क्याम्पस प्रशासनलाई दबाब दिँदै आएका थिए । तर, क्याम्पस प्रशासनले पटक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगरेको भन्दै क्याम्पस प्रमुख जगतकृष्ण पोखरेलको कुर्सी रुखमा लगेर झुन्ड्याएका थिए ।

स्ववियुले मंगलबार साँझ नै क्याम्पस प्रमुखको कुर्सी रुखबाट झारेपछि आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरुले बुधबार बिहानै क्याम्पस प्रशासनमा ताला लगाएको थियो ।

बुधबार नै संयुक्त विद्यार्थी संगठन, स्ववियु र क्याम्पस प्रशासनबीच विद्यार्थीको माग अनुसार १० दिनभित्र होस्टल व्यवस्थापन गर्ने सहमति भएपछि संयुक्त विद्यार्थी संगठनले क्याम्पस प्रशासनको ताला खोलेको जनाएको छ ।

८० जना क्षमता भएको सानोठिमी क्याम्पसको छात्राबास २०७२ सालको भूकम्पपछि पूर्ण रुपमा बन्द भएको थियो । २०७३ सालमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित स्ववियुको अग्रसरतामा मर्मत सम्भारपछि ४८ जना क्षमता बराबरको होस्टल मात्रै सञ्चालनमा रहेको छ ।

त्यसमध्ये ५ जना विद्यार्थी अध्ययन सकेका, अर्को विषय अथवा संकायमा भर्ना गरेको नदेखिएको विद्यार्थी रहेको क्याम्पस प्रमुख पोखरेलले बताए । क्याम्पस प्रमुख पोखरेल भन्छन् ‘ती विद्यार्थी हाम्रै हुन् पढाइ सकेर निस्कनुपर्ने समय भइसकेको तर विविध कारणले ननिस्केका विद्यार्थी हुन् । अब उनीहरुलाई हटाएर भर्ना भएर अध्ययन गरिरहेकालाई व्यवस्थापन गर्छौं ।’

विद्यार्थी संगठनहरुले भने क्याम्पस प्रशासनले पटक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगरेको बताएका छन् । विद्यार्थी संगठनहरुले दुई महिना अघिदेखि क्याम्पसको छात्रवासमा नियमित विद्यार्थीहरुले अवसर पाउनुपर्ने माग राख्दै विभिन्न चरणको आन्दोलन गरिरहेका थिए ।

सानोठिमी क्याम्पस अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष उमेश सापकोटाका अनुसार छात्रवासमा क्याम्पसका पूर्वविद्यार्थी पनि बसिरहेका छन् । क्याम्पसमा भर्ना भएर अध्ययन गरिरहेको विद्यार्थी मात्र छात्रवासमा बस्नुपर्ने उनको भनाइ छ ।

स्ववियु अध्यक्ष रेशमलाल श्रेष्ठले छात्रवास छाड्नुपर्ने विद्यार्थीले व्यवहारिक कारण देखाएकाले समस्या आएको बताए । यसपटक क्याम्पस प्रशासनले गरेको सहमति कार्यान्वयन नभए स्ववियुले नेतृत्व लिएर आन्दोलन गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?