+
+

भरतपुर महानगर र माडी नगरपालिका बीच भगिनी सम्वन्ध कायम

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १९:३५

२५, माघ, चितवन । चितवनका दुई पालिकाहरु भरतपुर महानगरपालिका र माडी नगरपालिका बीचमा भगिनी सम्वन्ध स्थापित भएको छ ।

माडीमा विहिबार दिउँसो आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल र माडी नगर प्रमुख ताराकुमारी काजी महतोले १० बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्वन्ध कायम गरेका हुन् ।

भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने छ । माडी नगर प्रमुख महतो यो कार्यकाल पछि आउने नेतृत्वले समेत भगिनी सम्वन्धलाई निरन्तरता दिन सक्ने बताइन् ।

भरतपुर महानगरपालिका र माडी नगरपालिका जोडिएका स्थानीय तह हुन् । यी दुबै पालिकालार्ई चितवन राष्ट्रिय निकुञ्जले सीमा छुट्टाएको छ ।

सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर र माडीका समस्या र भोगाई एकै प्रकारका भएकोले साझा समस्याको समाधान एकीकृत ढंगले गर्न भगिनी सम्वन्धले थप बल प्रदान गर्ने बताइन् ।

नगर प्रमुख दाहालले विभिन्न देशका पालिकाहरुसँग भरतपुरले भगिनी सम्वन्ध स्थापित गरे पनि जिल्ला भित्रकै पालिका माडीसँग पहिलो भगिनी सम्वन्ध स्थापित भएकोमा खुसी लागेको बताइन् ।

माडी नगर प्रमुख ताराकुमारी काजी महतोले माडीका आदिवासी थारुहरुको सघन वस्ती रहेको सिमा क्षेत्रलाई थारु भिलेजका रुपमा विकास गर्न चाहेको बताइन् ।

उनले तीब्र शहरीकरणको जोखिममा आदिवासी जातजातिहरुको संस्कृति, परम्परा र संरचनाहरु परेको भन्दैं त्यसलाई जोगाउन र जनतालाई सहुलियत प्रदान गर्ने कुरामा साथ दिन अनुरोध गरिन् ।

उनले माडीको सिमराको थारु वस्तीमा अझैं पनि परम्परागत घर र संरचनाहरु रहेकोले त्यसलाई जोगाउन र आउने पुस्तालाई थारुको बस्ती यस्तो हुन्छ भनेर देखाउन विभिन्न सरकारी तथा गैरसरकारी निकायको साथ र सहयोग चाहिएको बताइन् ।

उनले आर्थिक तथा सामाजिक रुपले कमजोरलाई हातमा समातेर तान्नुपर्ने बताउँदै खुट्टा तान्न नहुने बताइन् । मध्यवर्ती क्षेत्र र निकुञ्जका कानुनले माडीमा नयाँ कुरा सोचेर पनि काम गर्न सक्ने अवस्था नरहेको भन्दैं नगर प्रमुख महतोले ठूला स्रोत र साधन भएका पालिकाहरुले कमजोर पालिकाहरुका जनताको जीवनस्तर उकास्न सहयोग गर्नुपर्ने बताइन् ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर वर्षका रुपमा मनाउँदैछ ।  भरतपुरमा घुम्न आउने पर्यटकहरू माडीमा आउने वातावरण मिलाउन दुबै पालिकाले सहजीकरण गर्ने, भरतपुर र माडीमा रहेका रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको महत्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचार प्रसार गरिने सम्झौतापत्रमा उल्लेख छ ।

कृषि, शिक्षा, पशुपालन, उद्यमशीलता, लगायतका सेवामूलक कामहरूमा सहकार्य गर्ने बताइएको छ । दमकल, एम्बुलेन्स सेवा सञ्चालन, उपचार, वस्ती विकास लगायतका विषयमा सहकार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?