+
+

भरतपुर महानगरको प्रशासनिक भवन : ५० प्रतिशत भौतिक प्रगति

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १९:२६

११, फागुन, चितवन । भरतपुर महानगरपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण ठेक्का लिएका शर्मा–सगरमाथा–सगुन जेभीका प्रमुख सहदेव खड्काका अनुसार भवनको ५० प्रतिशत भौतिक र ४० प्रतिशत वित्तिय प्रगति भएको हो ।

सात कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको ६ तले भवनको तेस्रो तला ढलान भइसकेको छ । चौथो तला ढलानको तयारी हुँदैछ । ढलान सकिएको भागहरूमा वाल निर्माण लगायतका कामहरू पनि सुरु भएका छन् । खड्का भन्छन्, ‘आगामी असारसम्म भवनको स्टक्चरको काम सकिनेछ ।’

मूल्यअभिवृद्धि करसहित ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माणको ठेक्का लिएको कम्पनीसँग ३० महिना भित्र भवन तयार गर्नुपर्ने गरी २०७९ साउन २० गते सम्झौता भएको थियो । महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार ठेकेदारले हालसम्म १५ करोड २७ लाख रकम भुक्तानी लिइसकेका छन् ।

ठेकेदार कम्पनीले अघिल्लो वर्ष कार्तिकबाट भवन निर्माणका काम सुरु गरेको थियो । केही डिजाइन परिवर्तन तथा चाडपर्वका कारण सम्झौता भएर काम सुरु गर्न केही ढिलाई भएको इन्जिनियर आचार्यले बताए । ‘कार्यतालिकाभन्दा २÷३ महिना ढिलो काम भएको छ’ इन्जिनियर आचार्यले भने, ‘इन्टेरियर लगायतका काम गर्दा समग्रमा तोकिएको मितिभन्दा ६ महिना ढिला भवन तयार हुन्छ जस्तो लाग्छ ।’

भवनको कुल लागतको ३५ करोड संघीय सरकारबाट, ५० प्रतिशत बागमती प्रदेश सरकार र बाँकी रकम महानगरपालिकाले खर्च गर्नेछ । भूमिगत (अण्डरग्राउण्ड) पार्किङसहितकोे भवन १४ हजार १५२ वर्गमिटरको हुनेछ । भवनको भूमिगत तलामा ५० कार र २५० वटा मोटरसाइकल पार्किङ गर्न सकिने छ ।

दुई बिघा १३ कठ्ठा १६ धुर जमिन रहेको क्षेत्रमा भवन बाहिर पनि पार्किङ र बगैँचा निर्माण गर्ने ठाउँ रहने गरी भवन बनाउन लागिएको उनको भनाइ छ । भवनको भुईँतलामा नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायतको कार्यकक्ष रहनेछ भने, दोस्रो तलामा उपमेयरको रहनेछ ।

भवनमा दुई लिफ्ट हुनेछन् । ज्येष्ठ नागरिक प्रतिक्षा कक्ष, पुस्तकालय, सांस्कृतिक प्रदर्शनी कक्ष, सभाहल, हरेक तलामा दुई/दुई बैठक कक्ष हुने उनको भनाइ छ । उनले भवनको सबैभन्दा माथिल्लो तलामा अडिटोरियम हल र अर्को साइडमा कल्चरल म्युजियम हुने बताए ।

भवनमा १५८ सानाठूला कार्य कक्ष रहने छन् भने २२१ कोठा रहने छन् । भवनका हरेक तलामा अपाङ्गमैत्री शौचालयसहित प्रत्येक तलामा पुरुष र महिलाका लागि अलग्गै शौचालय रहने छ । पूर्ण अपाङ्गमैत्री सो भवनले आउँदो ६० वर्षसम्म सेवा दिन सक्ने गरी नक्साङ्कन गरिएको इन्जिनियर आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?