+
+

स्थायी समितिमा प्रचण्डको निर्देशन : विधानमाथि लिखित सुझाव दिनू

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १८:३०

२६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको शुक्रबारदेखि सुरु स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधानमाथि लिखित सुझाव दिन निर्देशन दिएपछि छलफल सैद्धान्तिक र नीतिगत मात्रै भएको छ ।

फागुन पहिलो सातादेखि सुरु हुने पार्टीको पहिलो विधान सम्मेलनको तयारीका लागि बसेको स्थायी कमिटी बैठकमा प्रस्तावित मस्यौदामा छलफल गर्ने भनिए पनि अध्यक्ष प्रचण्डको निर्देशनपछि बैठकमा सैद्धान्तिक छलफल बढी भएको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘सैद्धान्तिक नीतिगत छलफल बढी भयो । अध्यक्षले अहिले त्यति नै गरौँ, बाँकी सुझाव लिखित रूपमा दिनुहोला भन्नु भयो’, प्रवक्ता सापकोटाले भने, ‘भोलि दिनभरी फेरि स्थायी समिति बैठक बस्छ । त्यसपछि २८ र २९ गते केन्द्रिय सदस्य बैठक बस्छ ।’

बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले पेस गरेको ९ बुँदे पुरक प्रस्तावमाथि कुनै छलफल नभएको सापकोटाले जानकारी दिए ।

यस्तै हाल जिल्लालाई माओवादी केन्द्रले संयोजन समिति भनिरहेको, तर राज्यले जिल्ला भनेकाले त्यसमा पुनर्विचार गर्ने बारे पनि कुरा भएको छ । पार्टी कमिटी भद्दा भएको भन्दै बैठकमा केन्द्रीय कमिटी १५१ सदस्यीय बनाउने बारेमा पनि छलफल सुरु भएको छ ।

बैठकमा शुक्रबार विधान मस्यौदा समितिकी संयोजक पार्टी उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरीराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवहरू गणेश साह र राम कार्कीले कुरा राखे । यस्तै स्थायी समिति सदस्य शशी श्रेष्ठले पनि विधान मस्यौदामाथि सैद्धान्तिक धारणा राखिन् ।

यो बैठकले आइतबार र सोमबार बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्ने सापकोटाले जानकारी दिए । केन्द्रीय समितिको बैठकले फागुन १ गतदेखि सुरु हुने पार्टीको विधान सम्मेलनको एजेन्डा तय गर्नेछ । उक्त विधान सम्मेलनले पार्टीको विधानलाई पूर्णता दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?