+
+

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा एथलेटिक्सको वर्चस्व

दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी, चन्द्र उत्कृष्ट प्रशिक्षक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते २०:०६

२८ माघ, काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा एथलेटिक्सले वर्चस्व राखेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आइतबार आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई  वर्ष खेलाडी घोषित भएका छन् ।

यस्तै वर्षको उत्कृष्ट प्रशिक्षकमा पनि एथलेटिक्सकै चन्द्र गुरुङ घोषित भए । अधिकारी, पछाई र गुरुङले १६औं एसियाली क्रसकन्ट्री दौडमा पदक जितेका थिए ।

यस संस्करणदेखि मञ्चले अवार्डका लागि सुरुमा ८ जनाको मनोनयन गरेको थियो । जसमध्येबाट शीर्ष ३ छानेर यसअघि शीर्ष तीनको मनोनयन सार्वजनिक गरिएको थियो । आज तीनै ३ मध्येबाट अवार्ड विजेछा छानिएका हुन् ।

पुरुषतर्फका दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पारे । महिलामा राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पारिन् ।

दीपक १६औं एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन् । राजपुराले पनि सोही च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् ।

उनीहरु गुरुङको प्रशिक्षणमा १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा सहभागी थिए ।

वर्ष उत्कृष्ट खेलाडीद्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाए ।

वर्ष उत्कृष्ट प्रशिक्षक गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए । प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे ।

टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन् । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन् ।

सिक्काले सर्वाधिक ४४.८ प्रतिशत मत प्राप्त गरिन् । सिक्काले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन् ।

यस अवार्डको मनोनयनमा करातेका विप्लवलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ थिए ।

युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए । उनी नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान हुन् ।

देवकै कप्तानीमा नेपालले युएईलाई फाइनलमा हराउँदै एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । उनले एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ पछि पार्दै यो अवार्ड जिते ।

देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए ।

एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ विशुंखे सम्मानित भइन् । उनले ट्रफीसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाइन् । उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छिन् ।

लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे । खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन् । उनले ५० हजार रुपैयाँ प्राप्त गरे ।

स्पेसल अवार्डबाट फोटो पत्रकार र पोखरेली खेलकुद अभियन्ता सुदर्शन रन्जित सम्मानित भए । अनलाइनखबरकर्मीसमेत रहेका उनी चार दशकभन्दा बढी पोखराका खेल गतिविधिमा सक्रिय छन् ।

एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड हङकङ रेमण्ड चुलाई प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?