+
+

पल्सर स्पोर्टस अवार्डको वर्ष युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १७:१५
वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेकाहरु ।

२३ माघ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको वर्ष युवा खेलाडी र प्रशिक्षको मनोनयन सार्वजनिक भएको छ ।

माघ २८ गते हुने २० औं संस्करणका लागि मञ्चले वर्ष युवा खेलाडी र प्रशिक्षकमा उत्कृष्ट ८–८ जनाको मनोनयन सार्वजनिक गरेको हो ।

स्पोर्ट्स अवार्डका लागि मञ्चले विगतमा उत्कृष्ट ५ मात्र मनोनयन गर्ने गरेकोमा यसपालि उत्कृष्ट ८ को मनोनयन सार्वजनिक गरिनेछ ।

वर्षभरी उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा खेलाडीहरूलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यले ८ जना खेलाडी मनोनयन गरिएको मञ्चले स्पष्ट पारेको छ ।

वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई अवार्डका लागि मनोनयन गरेको मञ्चले जानकारी गराएको छ ।

उत्कृष्ट वर्ष युवा खेलाडीतर्फ क्रिकेट, बक्सिङ र फुटबलका २/२ खेलाडी छन् । एथलेटिक्स र गल्फबाट १/१ जना मनोनयनमा परेका छन् ।

शिक्षकमा क्रिकेट र फुटबलबाट २-२ जना मनोनयनमा छन् । एथलेटिक्स, बक्सिङ, भलिबल र पौडीबाट १-१ जना परेका छन् ।

मञ्चले यसअघि नै वर्ष खेलाडी पुरुष र महिलाको शीर्ष ८ को सूची सार्वजनिक गरिसकेको छ । मनोनयनमा परेका आठ जनाबाट उत्कृष्ट तीनको छनोट केही दिनमा हुने र अन्तिम मनोनयन सूचीमा परेका तीनमध्येबाट कार्यक्रमको दिन विजेता चयन गरिनेछ ।

वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेकाहरु:

विजय बाटा (बक्सिङ)
– एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा पुरुषतर्फ कांस्य पदक विजेता खेलाडी

– नवौं राष्ट्रिय खेलकुदमा रजत पदक जित्न सफल

देव खनाल (क्रिकेट)
– नेपालले ८ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट खेल्न सफल

– देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल

– ५ खेलको ३ इनिङ्समा ६५ माथिको औसतमा १ सय ९७ रन बनाउन सफल

– कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १ सय २५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाउन सफल

– उनकै कप्तानीमा लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय प्रतियोतामा उपविजेता

दीपेश कँडेल (क्रिकेट)
– आईसीसी यू–१९ विश्वकपको एसिया छनोटको फाइनलमा युएईविरुद्ध ह्याट्रिक विकेट

– यूएईलाई जितनिम्ति ३ ओभरमा ११ रन आवश्यक हुँदा दीपेशले ४८ औं ओभरमा बलिङ मोर्चा सम्हाल्दै पहिलो ३ बलमा ३ रनमात्र दिए । त्यसपछि लगातार तीन विकेट लिई ह्याट्रिक पूरा गरेर आईसीसी यू–१९ विश्वकपको एसिया छनोटको उपाधि दिलाउन सफल । फाइनलमै ५ विकेट लिन सफल ।

–नेपालले ४ खेलमा १२ विकेट लिन सफल

राममाया बुढा (एथलेटिक्स)
– १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा रजत (महिला जुनियर ६ किमि)

– एपीएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण विजेता

– गोल्डेन एथलेटिक्स मिटको १५०० मिटर दौडमा स्वर्ण र ५ किमिमा रजत

– देवदह हाफ म्याराथनमा स्वर्ण

– राइट टु प्रोटिन रनमा रजत

– दोस्रो वीर गणेशमान सिंह १० किमि, मदन भण्डारी मेमोरियल र केपी ओली रोड रेस ५ किमि रोड रेसमा रजत

– तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको ३ हजार मिटर दौडमा स्वर्ण

सद्‍भाव आचार्य (गल्फ)
– सुवास तामाङसँग मिलेर नेपाल टुरिजम कप र बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा स्वर्ण जित्न सफल

– नवौं राष्ट्रिय खेलकुदमा बागमती लागि स्वर्ण, व्यक्तिगतमा रजत जित्न सफल

सुजाता तामाङ (फुटबल)
– २०७९ कात्तिकमा बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि विजेता

– साफ यू–१५ च्याम्पियनसिपकी उत्कृष्ट गोलकिपर । चार खेलमध्ये तीन खेलमा क्लिनसिट राख्न सफल

– बंगलादेशसँग १–१ को बराबरी खेलमा पेनाल्टी बचाउन सफल गोलकिपर

–२०७९ चैतमै बंगलादेशमा भएको साफ यू-१७ महिला च्याम्पियनसिपमा पनि उत्कृष्ट गोलकिपर घोषित । एक क्लिनसिट राख्न सफल

सुष्मा तामाङ (बक्सिङ)
– एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत

– नेपालले एसियाली स्तरमा जितेको अहिलेसम्मको ठूलो पदक । फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा पराजित । त्यसअघि उनको भियतनामकी फाम थी किनहान र मंगोलियाकी बाइसेनबाई जनरगुलीविरुद्ध जित  ।

– एएसबीसी यू–२२ च्याम्पियनसिपमा रजत जितेपछि सिधै महिला वल्र्ड बक्सिङ च्याम्पियनसिपमा छनोट

– नवौं राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा वाग्मती प्रदेशका लागि स्वर्ण

– विश्व महिला बक्सिङ च्याम्पियनसिप, भारतमा सहभागी

युनेश बुढाथोकी (फुटबल)
– श्रीलंकाको कोलम्बोमा भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलमा उपविजेता

– नेपाललाई साफ यू–१७ च्याम्पियनसिपको फाइनल पु¥याउन महत्वपूर्ण योगदान

– च्याम्पियनसिपमा संयुक्त रूपमा सर्वाधिक ४ गोल गरेका थिए । समूह चरणमा भुटान र भारतविरुद्ध १–१ तथा सेमिफाइनलमा श्रीलंकाविरुद्ध २ गोल गर्न सफल

– भारतसँग एक गोलले पछि पर्दा नेपालले उत्कृष्ट पुनरागमन गर्दै ३–१ ले जित्न सफल

वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेकाहरु:

अनन्त थापा (फुटबल)
– साफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली टिमका प्रशिक्षक

– साफ च्याम्पियनसिपमा पहिलो पटक नेपालले भारतलाई हराउँदाका प्रशिक्षक

– भारतविरुद्धको दुई मैत्रीपूर्ण खेलमा बराबरी नतिजा

– पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक एसियाली छनोटमा भियतनामविरुद्ध घरेलु मैदान दुई खेलको प्रशिक्षक

भगवती रानामगर (फुटबल)

– बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि विजेता टोलीका प्रशिक्षक

– नेपाली महिला युथ टिमले दोस्रो पटक उपाधि जित्दाको मुख्य प्रशिक्षक

– साफ य–ू१७ महिला टिमका प्रशिक्षक । नेपाल चौथो स्थान सफल ।

भरत शाह (भलिबल)
– काभा सेन्ट्रल जोन बिच भलिबलमा दुई रजत जित्दाका प्रशिक्षक

– उनको प्रशिक्षणमा नेपालको महिला र पुरुष टिमले रजत जितेको थियो ।

चन्द्र गुरुङ (एथलेटिक्स)
– १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक । सिनियरमा २ स्वर्ण र १ कांस्य तथा जुनियरमा २ रजत र १ कांस्य

–बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाल १ स्वर्ण र २ कांस्य जित्दाका प्रशिक्षक

दीपक महर्जन (बक्सिङ)
– एएसबीसी यू–२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा १ रजत र ३ कांस्य पदक दिलाउँदाका प्रशिक्षक ।

–च्याम्पियनसिपमा सुष्मा तामाङ रजत जित्न सफल, हेमा राई, त्रिशा जबेगु र विजय बाटा कांस्य जित्न सफल ।

 जगत टमाटा (क्रिकेट)
– आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ८ वर्षपछि छनोट गराउन सफल प्रशिक्षक

– यूएईलाई उसकै भूमिमा अन्तिम खेलमा पराजित गरी एसिया छनोट जित्दै नेपाल विश्वकपमा पुग्न सफल

मोन्टी देशाई (क्रिकेट)
– नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल प्रशिक्षक

– विश्वकप लिग २ को अन्तिम १२ मध्ये ९ खेल जिताएर नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल ।

– विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै सोझे विश्वकप छनोट हुनुका साथै एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउन सफल ।

ओङ्देन लामा (पौडी)
– नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबले सर्वाधिक २० स्वर्ण जित्दाका प्रशिक्षक

– नवौं राष्ट्रियमा आर्मी २० स्वर्ण, ९ रजत ७ कांस्यसहित ३६ पदक जित्न सफल । डुवाना लामा ९ र नासिर याहा हुसेन ७ स्वर्ण जित्न सफल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?