+
+

रुपा गाउँपालिकामा एक घर, एक घार अभियान

८ हजार लिटर मह उत्पादन गर्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १८:५५

१ फागुन, पोखरा । कास्कीको रुपा गाउँपालिकाले आफ्नो कार्यक्रममा बोलाएका पाहुनालाई अनदीको चामल, ठेकी र तिख्खर मह कोसेली दिने गरेको छ ।

सहरबाट ल्याइएका सामान उपहार दिने चलन हटाउँदै स्थानीय उत्पादन, माटोसँग जोडिएका र परम्परा झल्किने वस्तु कोसेली दिने नीति लिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझा बताउँछन् ।

यो वर्षलाई गाउँपालिकाले मह उत्पादन वर्षका रुपमा मनाइरहेको छ । त्यसैले २७ फागुनमा गाउँपालिका स्थापना दिवसको कार्यक्रममा जाने पाहुनाले मह उपहार पाउने पक्का छ ।

मह उत्पादनको राम्रो सम्भावना भएको रुपामा मह उत्पादनलाई प्रोत्साहन गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा २ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यो बजेटबाट एक घर एक घार अभियान चलाइरहेको र किसानलाई न्यूनतम मूल्यमा घार वितरण गर्ने योजना रहेको अध्यक्ष ओझाले जानकारी दिए । उनका अनुसार रुपाका सबै घरलाई एक घर एक घार अभियानमा जोडेर कम्तीमा ८ हजार लिटर मह उत्पादन गर्ने लक्ष्य छ ।

‘अहिले पनि हाम्रो गाउँपालिकाबाट ३ हजार लिटर मह बिक्री हुँदै आएको छ । यो वर्ष मह उत्पादन अझ बढाएर ८ हजार लिटर पु¥याउने हाम्रो योजना हो’, ओझाले भने, ‘रुपालाई मौरी पालनको हब बनाउने र यहाँको महलाई ब्रान्डिङ गर्दैछौं ।’

सहुलियत दरमा महको घार वितरणका लागि पालिकाले स्थानीयसँग आवेदन माग गरेको अहिलेसम्म १५० परिवार परिवारले आवेदन दिइसकेको ओझाले बताए । ‘हाम्रो यो अभियानबाट गाउँको बेरोजगारी घटाउन सहयोग पुग्ने विश्वास छ’, उनले भने, ‘मौरी पालन गर्दा पनि स्थानीय मौरीलाई प्राथमिकता दिन प्रोत्साहन गरिरहेका छौैं ।’

रुपा रत्नमा किसानलाई सम्मान गरिने

रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा विशिष्ट पहिचान र उपलब्धी पाएका व्यक्तिहरुलाई बर्षेनी रुपा रत्नबाट सम्मान गर्दै आएको छ । पालिका स्थापना दिवसका दिन दिइने रुपा रत्नबाट राष्ट्रियस्तरका खेलाडी, चिकित्सक, समाजसेवी, उच्च पदस्थ सम्मानित भइसकेका छन् ।

यो वर्ष भने गाउँपालिको रुपा रत्नबाट गाउँकै किसानलाई सम्मान गर्ने अध्यक्ष ओझाले बताए । ‘खेलाडी, डाक्टर, समाजसेवी सबैलाई सम्मान गरिसकेका छौं’, उनले भने, ‘पालिकाले कृषिलाई प्राथमिकता दिएर काम गरिरहेको बेला किसानलाई नै सम्मान गर्ने भन्ने भयो ।’

स्थापना दिवसको अवसरमा पालिकाले अध्यक्ष कप भलिबल प्रतियोगितासमेत आयोजना गरेको छ । सोही अवसरमा झाँकी प्रदर्शन प्रतियोगिता र माला प्रतियोगिता पनि गरिने उपाध्यक्ष लालसुब्बा गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

वार्षिकोत्सव मूल आयोजक समिति संयोजकसमेत रहेकी गुरुङले भलिबल प्रतियोगितामा पहिलो हुनेले १ लाख ५० हजार, दोस्रो हुनेले ८० हजार र तेस्रोले २० हजार रुपैयाँ पाउने जानकारी दिइन् ।

त्यस्तै, झाँकी प्रदर्शन प्रतियोगितातर्फ पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार तथा चौथो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । ‘प्रत्येक समूहमा ३५ जना हुनेछन् । त्यसमा कम्तीमा ५ जना ३० वर्षमुनिको हुुनुपर्नेछ’, गुरुङले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?