+
+

रुबिनाले देशलाई समर्पण गरिन् प्लेअर अफ दी म्याचको अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १५:४९

१ फागुन, काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित निकाल्दा शतकसहित ३ विकेट लिएकी रुबिनाले प्लेअर अफ दी म्याचको अर्वाड देशलाई समर्पण गरेकी छिन् ।

टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी रुबिना ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा अविजित रहेकी थिइन् । नेपालले २० ओभरमा ४ विकेट गुमाएर २२७ रन बनाएको थियो ।

२२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्सलाई १३ रनमा अल आउट गर्ने क्रममा रुबिनाले बलिङतर्फ ३.५ ओभरमा २ रन खर्चिएर ३ विकेट लिइन् । माल्दिभ्सलाई २१४ रनको फराकिलो अन्तरले हराउने क्रममा कीर्तिमान प्रदर्शन गरेकी रुबिना म्यान अफ द म्याच भएकी थिइन् ।

‘मेरो यो अवार्ड म मेरो देश, नेपाली महिला क्रिकेटलाई माया गर्ने समर्थक र मेरो परिवारलाई समर्पण गर्न चाहन्छु,’ अवार्ड हात पारेपछि उनले भनिन् ।

विकेट निक्कै नै राम्रो रहेकाले विकेटमा टिकेर आफ्नै सर्टहरु खेल्ने योजना अनुसार खेल्दा कीर्तिमान बनेको उनले बताइन् ।

‘विकेट निकै राम्रो थियो, हामीले यो विकेटमा खेलिसकेका थियौं । विकेट फ्ल्याट हुन्छ र खेल्न सहज हुन्छ भन्ने मलाई थाहा थियो,’ उनले भनिन्, ‘हामीले जति लामो समय खेल्यो त्यति धेरै रन बनाउन सक्छौं भन्ने थियो । मैले त्यहि सोचेर खेलेको थिएँ ।’

खेल भएको मलेसियाको बाङ्कीको तापक्रम ३२ डिग्रीसम्म पुगेको थियो । त्यो गर्मीमा पनि रुबिना र नट आउट ५९ रन बनाएकी पूजा महतो फिट देखिएका थिए ।

अभ्यासका क्रममा फिटनेशमा धेरै काम गरेकाले खेल्न सहज भएको रुबिनाले बताइन् । ‘हामीले फिटनेसमा निकै काम गरेका थियौं । यसको क्रेडिट हाम्रो सर्पोट स्टाफलाई पनि जान्छ,’ उनले भनिन्, ‘गर्मी थियो तर हामी कुनै पनि प्रतियोगितामा आउँछौं भने हामी जित्नकै लागि आउँछौं । हामीले जसरी पनि खेल्नु पर्छ ।’

६‍.२ ओभरको खेल सकिँदा ६१ रन बनाएको नेपालले ४ विकेट गुमाएको थियो ।

त्यसैले रुबिना र पूजाले १० ओभरसम्म सम्हालिएर खेलेका थिए र त्यसपछि शर्टहरु प्रहार गरेका थिए । ‘हामीले केही छिटो विकेट गुमाएका थियौं । जसका कारण हामीले १० ओभरसम्म टिकेर विकेट लिएर जानुपर्ने थियो । त्यसपछि हामीले शर्टहरु प्रहार गर्न थाल्यौं ।’

खेलपछि कप्तान इन्दु बर्माले पनि रुबिना र पूजाको तारिफ गरिन् । उनले भनिन्, ‘आज रुबिना र पूजाले निकै राम्रो खेले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?