+
+

नेपाली महिला क्रिकेटलाई हन्टरको ‘हर्ट’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १६:३०

४ फागुन, काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लियो ।

बायोमास ओभलमा नेपालको सुरुवाती त्यति राम्रो रहेन । जस्तो नेपालले चाहन्थ्यो । चौथो ओभरमा सीतालाई ६ रनमा गुमाउँदा टोलीको स्कोर १० रन थियो ।

१० ओभरमा १ विकेट गुमाउँदै ४५ रन बनाएको थियो । ११ औं ओभरको पहिलो कविता कुँवर २३ रनमा रन आउट भएपछि रुविना ब्याटिङमा आइन् ।

रनको गति बढाउन खोजे पनि उनी १८ बलमा २ चौकासहित २० रनमा क्याच भइन् । महिराह इजातिको १६ औं ओभरको दोस्रो बलमा रुविना थोरै अघि बढेर फुलटस बनाएर खेल्ने धुनमा क्याच हुन पुगेकी थिइन् ।

त्यसपछि क्रिजमा आएकी डली भट्टले १७ औं ओभरको अन्तिम दुई बलमा नुर दानियालाई दुई छक्का हानेपछि नेपालले १०० रन कटाउने देखिएको थियो । डलीले १४ बलमा १ चौका र २ छक्कासहित २५ तथा इन्दु बर्मा ३७ बलमा २ चौकासहित २९ रनमा आउट भएकी थिइन् । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

नेपालले सहजै रक्षा गर्ने अनुमान गरिएको थियो । यसअघि ११ पटक नेपालले महिला टी–२० आईमा पहिला ब्याटिङ गर्दै ११० माथि रन बनाउँदा कुनैमा हारेको थिएन ।

नेपालले बलिङमा पनि राम्रो सुरुवात पायो । पहिलो ओभरमा कविता कुँवरले एक रन दिइन् । दोस्रो ओभरको चौथो बलमा ओपनर तथा प्रमुख ब्याटर अनिना हामिजाहलाई रुविनाले शून्यमा एलबीडब्लू आउट गरिन् ।

त्यसपछि एल्सा हन्टर ब्याटिङमा आइन् । हन्टरले तेस्रो ओभरको पहिलो बलमा कविता कुँवरलाई चौका प्रहार गरिन् । चौथो बलमा कविताले मलेसियाकी कप्तान तथा प्रमुख ब्याटर विनिफ्रेड दुराईसिंघमलाई २ रनमा बोल्ड गरेपछि सहज जितको अनुमान गरिएको थियो ।

तेस्रो विकेटका लागि हन्टरले मास एलिसासँग ३६ बलमा २७ रनको साझेदारी गर्दै इनिङ बढाउन प्रयास गरिन् । नवौं ओभरको चौथो बलमा एलिसाले १३ रनमा हन्टरको साथ छाड्दै आउट भइन् । पहिलो १० ओभरमा मलेसियाले ४३ रन बनाउँदा ३ विकेट गुमाएको थियो । बाँकी १० ओभरमा ७३ रन बनाउनु पर्ने हुन्थ्यो ।

हन्टरले चौथो विकेटका लागि महिराहसँग ३६ रनको साझेदारीका साथ जितको आशा जगाएकी थिइन् । स्पिनर कविता जोशीले १५ औं ओभरमा इस्माली र जामाहिदायु गरि दुई विकेट लिएपछि मलेसिया थप समस्यामा परेको थियो ।

१५ ओभरमा मलेसिया ७२–५ को अवस्थामा थियो । बाँकी ३० बलमा मलेसियालाई जितको लागि ४४ रन चाहिँएको थियो । खेल टी–२० भए पनि एसोसिएटमा महिला टोलीलाई यो धेरै कठिन मानिन्छ ।

तर हन्टरले हार मानेकी थिइनन् । १६ औं ओभरको तेस्रो बलमा रुविनालाई लङअनमा चौका प्रहार गरिन् । १७ ओभरमा मलेसिया १७ ओभरमा ८६–५ को अवस्थामा पुगेको थियो ।

मलेसियालाई जितको लागि अन्तिम १८ बलमा ३० रन चाहिएको थियो । सीताको १८ औं ओभरको दोस्रो बलमा हन्टरले अघि बढेर लङअनमा चौका हानिन् । त्यो चौकाले निराश मलेसियाको पभेलियनमा खुसी फर्केको थियो ।

सीमित मात्रमा आएका दर्शकले मलेसियाको झण्डा फहराउन थालेका थिए । लगत्तै अर्को बलमा कभरमा सट खेलिन् । रुविनाले फालेको थ्रो विकेटकिपर काजोल श्रेष्ठले समाउन नसकेपछि त्यसको भरपूर्ण फाइदा उठाउँदै मलेसियाले तीन रन जोडेको थियो ।

हन्टरले ४२ बलमा अर्धशतक पूरा गरिन । त्यसपछि खेलको मोमेन्ट्स मलेसियाको पक्षमा गयो । त्यो रन जोड्दा हन्टर निकै थकित बनी सकेकी थिइन् ।

वान जुलियाले त्यसपछि दुई बलमा २–२ रन जोडिन् । अन्तिम बलमा स्वीप खेल्ने धुनमा बोल्ड भएकी थिइन् । मलेसियाले विकेट गुमाए पनि अर्को ओभरमा स्ट्राइक हन्टरसँग थियो ।

अर्को ओभरमा हन्टरले कविता जोशीको बलमा कुल ७ रन जोडेकी थिइन् । अन्तिम बलमा एक रन बटुल्दै स्ट्राइक आफैंसँगै राखेकी थिइन् । मलेसियालाई जितको लागि ११ रन चाहिएको थियो । नेपालले आफ्नो प्रमुख बलर कविता कुँवरलाई बलिङ दियो ।

कविताले अन्तिम ओभरको पहिलो बल अफ साइडतर्फ गरिन् । हन्टरले चलाखीपूर्ण डीप एक्स्ट्रा कभरमा सट खेल्दै चौका बटुलिन् । दोस्रो बल डट राखेकी थिइन् । तेस्रो अफ साइडकै बलमा हन्टरले चौका हानेपछि नेपालको जितको सम्भावना लगभग खोसेकी थिइन् ।

त्यो अवस्थाबाट नेपाललाई जित्न तीन बलमा तीन विकेट आवश्यक देखिन्थ्यो । लगत्तै अर्को बलमा दुई रन जोडिन् । दोस्रो रन जोडेपछि मलेसियाका खेलाडी पभेलियनबाट सेलेब्रेसन गर्न मैदान छिरेका थिए । पाँचौं बलमा एक रन जोड्दै हन्टरले मलेसियालाई ४ विकेटको जित दिलाइन् । साथै फाइनल र एसिया कप २०२४ मा पुर्‍याइन् ।

नेपाली खेलाडी निराश हुँदै पभेलियन फर्किए । मलेसिया खेलाडी जितको खुसी मनाए । नेपाली खेलाडी निराश, स्तब्ध र रुन थाले ।

कप्तान इन्दु बर्मा भावुक बन्दै बोलेकी थिइन्, ‘हाम्रो लागि दुखदायी रह्यो । उनीहरुले राम्रो क्रिकेट खेले । हामी पुन मजबुत बनेर फर्किने छौं । बलियो योगफल बनाए पनि १७ औं ओभरमा हामीले मोमेन्ट्स गुमायौं ।’ भावुक बनेकी इन्दुले त्यसपछि राम्रोसँग बोल्न पनि सकिनन् ।

ब्याटिङमा सुरुवात राम्रो गर्न नसक्नु, कमजोर फिल्डिङ र डेथ ओभरमा खराब बलिङ नेपालको हारको कारण हुन् । तर १८ वर्षीय हन्टरको यो परिपक्क इनिङको पनि त्यतिनै तारिफ गर्नुपर्छ ।

उनले ५३ बलमा ६ चौकासहित ६९ रनको आफ्नो करिअरको उत्कृष्ट इनिङ खेल्दै नेपालको मुखमै आएको जित खोसेकी थिइन् । मलेसियाको टोलीलाई एक उत्कृष्ट क्षणको खुसी दिँदा नेपाली समर्थक र शुभचिन्तकलाई हर्ट गर्ने इनिङ खेलिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?