+
+

खराब फिल्डिङले गुमेको एसिया कप अवसर

नमिता दाहाल नमिता दाहाल
२०८० फागुन ७ गते २०:४०

७ फागुन, काठमाडौं । पुरुष टोली होस् वा महिला । एसिया कप खेल्न पाउनु नेपाल जस्ता एसोसिएट टोलीका लागि एउटा ठूलो अवसर हो ।

गत वर्ष पहिलो पटक एसिया कप खेलेको पुरुष टोलीले विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो । यस पटक नेपाली महिला टोलीलाई भारत, पाकिस्तानसँगै बंगलादेश र श्रीलंकासँग खेल्ने गोल्डेन चान्स थियो ।

पछिल्लो समय एकपछि अर्को खराब प्रदर्शन गरेको महिला टोली यसपटक एसीसी वुमन्स प्रिमियर कपमा राम्रो प्रर्दशन गरेका थिए । हङकङ र भुटानलाई ८–८ विकेट तथा माल्दिभ्सलाई २१४ रनले हराउँदै नेपाल समूह डी बाट समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुग्यो । क्वाटरफाइनलमा कुवेतलाई हराएपछि नेपाल सेमिफाइनलमा मलेसियासँग परेको थियो ।

तुलनात्मक रुपमा थाइल्यान्ड र युएई भन्दा मलेसिया सहज टोली थियो । मलेसियालाई हराउँदै २०१६ पछि एसिया कप खेल्ने महिला टोलीलाई राम्रो अवसर थियो । सेमिफाइनल अघि नेपाल र मलेसियाबीच महिला टी–२० आईमा कुल १० खेल भएका थिए । जसमा नेपाल ७ खेलमा जित र ३ खेलमा पराजित भएको थियो ।

बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । सुरुवात त्यति राम्रो नभए पनि डली भट्ट १४ बलमा २५ र रुविना क्षेत्रीको १८ बलमा २० रनको इनिङले नेपालले प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । नेपालको बलिङ आक्रामणले सहजै रक्षा गर्ने अनुमान गरिएको थियो ।

तर नेपालको कमजोर फिल्डिङको फाइदा उठाउँदै मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । सुरुवात कमजोर रहे पनि एल्सा हन्टरले ६९ रनको अविजित इनिङ खेल्दै मुखमै आएको नेपालको एसिया कप यात्रा खोसेकी थिइन् । कमजोर फिल्डिङ, विकेटकिपर काजोल श्रेष्ठको खराब किपिङ र अन्तिम पाँच ओभरमा बलिङमा राम्रो गर्न नसक्नुनै नेपालको हारका कारण थिए ।

महिला टोलीका खेलाडी सोमबार स्वदेश फर्किए । मुखैबाट गुमाएको एसिया कप गुमाउनुको पीडा उनीहरुले भुल्न सकेका छैनन् । ‘मलेसिया जस्तो सहज विपक्षी पाउँदा पनि हामीले जितेनौं भने कहिले जित्ने । यसअघि हामीले सधैं भाग्यले साथ नदिएको भन्थ्यौं । तर यसपटक हामीले आफ्नै हातले खेल गुमाएका हौं,’ अनुभवी अलराउन्डर सीता राना मगरले त्रिभुवन विमानस्थलमा पत्रकारसँग भनिन् ।

नेपालले अन्तिम ३ ओभरमा ३० रन दिएको थियो । ओभर थ्रो, क्याच मिस, बाउन्ड्री रोक्न सक्ने सहज बल रोक्न नसक्नु र किपिङमा कमजोर प्रदर्शनले अन्तिम समयमा मोमेन्ट्स गुमेको थियो ।

‘हाम्रो त्यो दिनमा अन्तिम ओभरसम्म पनि जित्छौं भन्ने विश्वास थियो, तर अन्तिम ओभरमा लगातार चौका खाएपछि हामीले खेल हारेका हौं । हाम्रो टिममा कम्बिनेसन मिलेकै थिएन । खोइ के भएको त्यो दिन सायद ओभर कन्फिडेन्स् नै होला’, सीताले भनिन् ।

टोलीका मुख्य प्रशिक्षक मनोज कटलाल फिल्डिङ र फिटनेस प्रशिक्षणको आवश्यक बताउँछन् । ‘मैले क्यानलाई प्रतिवेदन नै पेस गरेको छु, जसमा फिल्डिङ र फिटनेस प्रशिक्षकको आवश्यकताको बारेमा जानकारी गराएको छु ।’

सिनियर टिमका खेलाडीलाई सामान्य कुरा पनि थाहा नहुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला टिम कमजोर देखिएको मनोजले बताए । ‘सामान्य बल थ्रो देखिको कुरा सिनियर टिममा सिकाउनु पर्दा थोरै समयको क्याम्पले हुँदैन ।’

प्रिमियर कप खेल्न जानुअघि महिला टोलीले पोखरा रंगशाला विकेटमा प्रशिक्षण गरेको थियो । सेन्टर विकेटमा प्रशिक्षण गर्दा तयारी निकै राम्रो भएको प्रशिक्षक मनोज कटुवालले बताए । ‘त्यहाँ प्रशिक्षण राम्रो भएको थियो । जसका कारण हामी जानेबेला हामी उपाधि नै जितेर आउने विश्वास थियो । हामी सेमिफाइनलमा प्रेसर सम्हाल्न नसकेका हौं । साथै हामीले सेमिफाइनलमा ओभर कन्फिडेन्ट भएका हौं’, कटवालले भने ।

सीता र रुविना कै भर

नेपाली महिला क्रिकेट अझै पनि रुविना र सीताको भरमा छ । सीता २००७ र रुविना २००८ देखि महिला टोलीको प्रमुख सदस्य हुँदै आएका छन् । नेपालको चार मध्य तीन जितमा सीता र एक खेलमा रुविना प्लेयर अफ म्याच चुनिएका थिए । नेपालको हरेक नतिजा यी दुई खेलाडीमा बढी निर्भर हुन्छ ।

‘हामीलाई अन्तर्राष्ट्रिय अम्पायरहरुले पनि सीता र रुबिनाले छोडपछि नेपाली महिला क्रिकेट रहँदैन भन्नुहुन्छ । त्यो सुन्दा नराम्रो लाग्छ’, सीताले भनिन् । उनले प्रतियोगितामा कुवेतविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक ह्याट्रिक लिइन् ।

रुबिना क्षेत्रीले नेपाली महिला क्रिकेटमा माल्दिभ्सविरुद्ध पहिलो पटक शतक प्रहार गरिन् । तर टिम हार्दा यी दुई सिनियर यी दुई खेलाडीका उपलब्धि सबै छायाँमा परे । ‘शतक बनाए पनि टिमले लक्ष्य प्राप्त नगर्दा खासै महत्व नै लागेको छैन’, रुबिनाले निराश हुँदै भनिन् ।

नयाँ खेलाडीले खेलमा जिम्मेवारी लिन नसक्दा सधैं तालिकामा रुबिना क्षेत्री र सीता रानाकै नाम अगाडि आउँछ । प्रशिक्षक कटुवाल भन्छन्, ‘नेपालले खेल जित्ने हो भने सीता, रुबिना र इन्दुले नै प्रदर्शन गर्नुपर्ने अवस्था छ । युवा खेलाडीले खेलको महत्व बुझ्न जरुरी छ ।’

कप्तान इन्दु थप्छिन, ‘युवा खेलाडीहरु बिस्तारै आउँदैछन्, कसैलाई दोष लगाउनु भन्दा पनि अब कसरी अगाडी बढ्ने भन्ने कुरा हो ।’

पूर्व कप्तान रुबिना पनि कहाँ के कमजोरी रह्यो आफैंले बुझ्न नसकेको बताउँछिन् । ‘घरेलु प्रतियोगितामा बन्द प्रशिक्षणमा राम्रो गर्छन, सोही अनुसार खेलाडी छनोट हुन्छन्, तर अन्तर्राष्ट्रियमा गएर भने प्रदर्शन गर्नै सक्दैनन्’, रुविनाले भनिन् ।

‘हामीले यहि वर्ष विश्वकप छनोट पनि गुमायौं । एसिया कप पनि गुमायौं । यसरी हरेक प्रतियोगिता हार्दा अब के खेल्ने त भनेको जस्तो लाग्छ’, भावुक हुँदै रुविनाले भनिन् ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?