+
+

ओलीको आरोप : ‘जनयुद्ध’ प्रधानमन्त्री पद र सत्ताका लागि रहेछ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १७:०५

१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न र सत्ता प्राप्तिका लागि मात्र तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने भन्ने प्रश्न पनि गरे ।

‘हिंसा सुरु गरेको मिति ०५२ सालबाट ०६३ सालमा आइपुग्दा केमा फरक परेको थियो ? के कारणले फेरि त्यही व्यवस्था, त्यही प्रणालीमा आउनुपरेको थियो । त्यही संसदमा नलडीकन हिस्सा लिइयो । सरकारमा चुनाव नलडी पुगियो । अनि हिंसा छोडियो’ ओलीले प्रश्न गरे, ‘के भएर ? किन त्यत्ति थियो त्यसको उद्देश्य ? पार्लियामेन्टमा अच्छाखासा सिट संख्या र सरकारमा राम्रो हिस्सा । अरु त केही प्राप्त गरेको देखिँदैन । भनेपछि हिंसा किन गरेको थियो अहिलेसम्म पुष्टि छैन ।’

२०४७ सालको संविधानले शान्तिपूर्ण बाटाहरु बन्द नगरेको अवस्थामा माओवादीले हिंसात्मक बाटो रोज्नु गलत भएको बताए । ‘यो कुनै राणा शासन थिएन, पञ्चायती थिएन । संगठन गर्न नपाइने, बोल्न नपाइने, विचार व्यक्त गर्न नपाइने अवस्था थिएन । अनि फेरि हिंसा किन गर्नुप¥यो, अलिक पछि हिंसा बिसाएर फेरि आउनुप¥यो’, ओलीले भने ।

धेरै घाइतेहरु अहिले पनि शरीरमा गोली बोकेर हिँडेका भन्दै ओलीले सशस्त्र युद्धकै कारण नेपालीहरु विदेश पलायन सुरु भएको टिप्पणी गरे ।

‘राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा चाहिएको सत्ता रहेछ । जम्माजम्मी सत्ता । सरकार रहेछ, सांसद रहेछ । चाहिएको त प्रधानमन्त्री न रहेछ । अनि त्यत्तिका लागि यत्रो मान्छे मर्नुपर्ने ?’, ओलीले प्रश्न गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन १८ वर्षसम्म नटुंगिनु बिडम्वना भएको बताए । सशस्त्र युद्धमा सहभागीहरु नै शासक भइसक्दा समेत पीडितलाई पीडामै राख्नु कतिसम्मको न्यायसंगत हो भन्ने प्रश्न गरे ।

‘पीडितलाई पीडामै राखेर हिंसा मच्चाउनेहरु सरकारमा उहिले नै गइसके । १८ वर्षअघि शासक भइसके । पीडित जस्ताको त्यस्तै । डेमोक्रेसी कांग्रेसलाई आयो हामीले देख्यौँ, तर घाइते, अपांगलाई आएन । हामी संक्रमणकालीन न्यायका कुरा किन उपलब्ध गराउँदैनौं ?’ ओलीले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?