+
+

नीतिगत सहजीकरणले देखिएन घरजग्गा कारोबारमा सुधार, राजस्व घट्यो

चालु आर्थिक वर्ष २०८०/८१ पुस मसान्तसम्म जग्गा कारोबारमा सुधार देखिए पनि कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्व भने घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १९:२१
फाइल तस्वीर

१ फागुन, काठमाडौं । सरकारले घरजग्गा कारोबार बढाउने भन्दै विभिन्न नीतिगत व्यवस्थामा नै संशोधन गर्‍यो । तर, भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले भने कारोबारमा सुधार भएको देखिएन ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८०/८१ पुस मसान्तसम्म जग्गा कारोबारमा सुधार देखिए पनि कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्व भने घटेको छ ।

चालु आव सात महिनामा कुल २ लाख ७८ हजार ९ सय २५ लिखत पारित भएको विभागको तथ्यांक छ । गत आव २०७९/८० को सोही अवधिमा २ लाख ३१ हजार ४ सय २३ लिखत पारित भएको थियो । जुन चालु आवभन्दा २०.५३ प्रतिशतले कम हो ।

लिखत पारितले चालु आवमा घरजग्गा कारोबार संख्यात्मक रूपमा राम्रो सुधार भएको देखाउँछ । लिखत पारितमा वृद्धि देखिए पनि जग्गा कारोबारबाट संकलन हुने मालपोत करमा खासै सुधार नभएको तथ्यांकले देखाउँछ ।

गत आवको तुलनामा चालु आव पुससम्म जग्गा कारोबारबाट प्राप्त हुने राजस्व करिब १.३२ प्रतिशतले घटेको छ ।

चालु आव माघ मसान्तसम्म घरजग्गा कारोबारबाट २१ अर्ब ६५ करोड २७ लाख रुपैयाँबराबर राजस्व संकलन भएको विभागले जनाएको छ । गत आव सोही अवधिमा २१ अर्ब ९४ करोड १७ लाख राजस्व प्राप्त भएको थियो ।

जग्गा मूल्यांकन बढी भएको भन्दा कम भएको स्थानमा कारोबार वृद्धि हुँदा लिखत पारित संख्या बढे पनि कारोबार राजस्वमा वृद्धि हुन नसकेको घरजग्गा व्यवसायी बताउँछन् ।

विभाग महानिर्देशक विदुरप्रसाद खनाल बढी मूल्यांकन भएको सहरी क्षेत्रको भन्दा कम मूल्याकंन भएको ग्रामीण क्षेत्रको जग्गा कारोबार बढेर राजस्व कम भएको हुन सक्ने बताउँछन् ।

यस्तै लिखत पारितमा दृष्टिबन्धक अशंबण्डा लगायत अन्य कारोबार पनि हुने भएकाले लिखत पारित हुँदैमा सबै राजीनामाका लिखत मात्रै नहुने उनले बताए ।

दृष्टिबन्धक लिखतमा रजिस्ट्रेसन दस्तुर नलाग्ने र शुल्क मात्रै लाग्ने हुँदा दृष्टिबन्धक लगायत कारोबार बढ्दा राजस्व नबढ्ने उनले बताए ।

यस्तै बागमती प्रदेशमा सहकारीको लिखतमा शुल्क पनि नलाग्ने आदेश सर्वोच्च अदालतबाट आएका कारण राजस्व प्रभावित भएको उनले बताए ।

घरजग्गा किनबेचमा लाभकर र रजिस्ट्रेसन दस्तुर जति अंशबण्डामा नहुने भएकाले अशंबण्डाले लिखत पारित वृद्धि हुँदा राजस्वमा कम योगदान हुने विभागले जनाएको छ । यस्तै दृष्टिबन्धक लगायतको लिखत पारितमा पनि राजस्व कम हुने गरेको विभागको तर्क छ ।

नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सहज बनाउने भन्दै चालु आवको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत ५० लाखसम्मको आवासीय घर कर्जाको कर्जा आम्दानी अनुपात बढाएको छ ।

आम्दानीको ५० प्रतिशत मासिक किस्ता हुने गरी मात्रै कर्जा लगानी गर्न पाइने व्यवस्थालाई ६० प्रतिशत बनाइएको छ । यस्तै धितो मूल्यांकन आधारमा कर्जा पाउने सीमा (लोन टु भ्यालु रेसियो) पनि उपत्यकाभित्र ३० प्रतिशतम्म झारेकोमा त्यसलाई बढाउँदै लगेर ५० प्रतिशत कायम गरिएको छ ।

यस्तै आवासीय कर्जा सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पुर्‍याइएको छ । यस्तै रियल इस्टेट सम्बन्धी कर्जाको जोखिम भार १ सय ५० बाट घटाएर १ सय २५ प्रतिशत कायम गरिएको छ ।

यता, सरकारले भू-उपयोग नियमावलीले जग्गा कित्ताकाटमा गरेको कडाइ र जग्गा वर्गीकरण लगायत समस्या पनि नियमावली संशोधनमार्फत सहजीकरण गरिसकेको छ । त्यही पनि जग्गा कारोबारमा भने सकारात्मक प्रभाव पर्न नसकेको तथ्यांकले देखाउँछ ।

व्यवसायीहरू घरजग्गा कारोबार बढ्न आवासीय घर कर्जाको ‘लोन टु भ्यालु रेसियो’ र कर्जा आम्दानी अनुपातमा अझै लचिलो नीति चाहिने बताउँछन् । यस्तै कर्जाको जोखिम भार पनि अझै घटाउनुपर्ने उनीहरूको तर्क छ ।

पुसभन्दा माघमा लिखत पारितसँगै राजस्वमा पनि केही सुधार भएको भने देखिन्छ । पुसमा ४५ हजार २ सय ७७ लिखत पारित हुँदा ३ अर्ब २० करोड ५२ लाखबराबर राजस्व प्राप्त भएको थियो । माघमा ५० हजार ९ सय २१ लिखत पारित हुँदा ३ अर्ब ३७ करोड ५७ लाख राजस्व प्राप्त भएको विभागले जनाएको छ ।

गत आव माघमा ४१ हजार ८६ मात्रै लिखत पारित हुँदा ३ अर्ब ६९ करोड ९७ लाख राजस्व प्राप्त भएको थियो । माघमा गत आवको तुलनामा लिखत पारित ९४ प्रतिशतले वृद्धि हुँदा राजस्व भने ८.७६ प्रतिशतले घटेको देखिन्छ ।

माघमा धेरै लिखत पारित हुनेमा नयाँ सहकारीका रूपमा विकास भइरहेको मालपोत कार्यालय अगाडि देखिन्छ । तर, राजस्व संकलनमा भने लखनखेल, भक्तपुर, काठमाडौं जिल्लाका मालपोत कार्यालय अगाडि देखिन्छन् । ती मालपोत कार्यालयमा लिखत पारित कम हुँदा पनि बढी राजस्व संकलन भएका छन् ।

पुसमा सबैभन्दा धेरै लिखत पारित इनरुवा मालपोत कार्यालयबाट भएको थियो । माघमा भने मालपोत कार्यालय जनकपुरधाम, धनुषाबाट भएको छ । उक्त कार्यालयबाट माघमा २ हजार ९२ लिखत पारित भएको छ । इनरुवा मालपोत कार्यालयबाट २ हजार ३२ लिखत पारित भएको छ ।

यस्तै मालपोत कार्यालय झापा भद्रपुरबाट १ हजार ९ सय लिखत पारित हुँदा मोरङ बेलबारी मालपोतबाट १ हजार ६ सय ८३ लिखत पारित भएको छ ।

त्यसैगरी सप्तरी राजविराज मालपोतबाट १ हजार ४ सय, महोत्तरी जलेश्वर मालपोत १ हजार २ सय ९२, सिरहा मालपोत १ हजार १ सय १३, सर्लाही मलंगवा मालपोत १ हजार ८०, पर्सा मालपोत १ हजार ५७ र बारा कलैया मालपोतबाट १ हजार ३३ लिखत पारित भएको छ ।

लिखत पारितमा सहरीकण हुँदै गरेको मधेश प्रदेश र कोशी प्रदेशका मालपोत कार्यालय अगाडि देखिएका छन् । राजस्व संकलनमा भने ललितपुर लगनखेल मालपोतबाट सबैधन्दा धेरै संकलन भएको छ । माघमा कुल ३ अर्ब ३७ करोड ५७ लाख राजस्व संकनल हुँदा लगनखेल मालपोतबाट मात्रै ३१ करोड ६१ लाख १६ हजार संकलन भएको छ ।

त्यसैगरी भक्तपुर मालपोतबाट २६ करोड ७ लाख ६३ हजार र काठमाडौं कलंकी मालपोतबाट १९ करोड ९३ लाख ८८ हजारबराबर राजस्व संकलन भएको छ ।

काठमाडौंकै डिल्लिबजार मालपोतबाट १७ करोड ६६ लाख ४५ हजार र चाबहिल मालपोत १५ करोड ८२ लाख ८९ हजार, कास्की मालपोत १२ करोड ६६ लाख ३७ हजार, चितवन मालपोत ११ करोड ७ लाख ७८ हजार, सुनसरी इनरुवा मालपोत १० करोड ४८ लाख ४३ हजार र काभ्रेपलाञ्चोक धुलिखेल मालपोत ८ करोड ५१ लाख ४ हजार राजस्व संकलन भएको विभागको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?