+
+

नेतृत्व चयनका लागि माओवादीमा प्रत्यक्ष निर्वाचन !

दिपेश शाही दिपेश शाही
२०८० फागुन १ गते २१:५६

१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष चुनावबाट नेतृत्व चयन गर्ने विषय विधान अधिवेशनमा छलफलमा ल्याएको छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा मंगलबार सुरु भएको पार्टीको पहिलो विधान अधिवेशनमा माओवादी केन्द्रले खुला र समानुपातिक क्लस्टर छुट्याएर प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने विषय छलफलमा ल्याएको हो ।

विधान अधिवेशनमा प्रस्तावित मस्यौदामा केही विषय थप गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयनको विधि के बनाउने भनेर छलफलका लागि प्रस्तुत गरिएको बताए । बैठकमा सहभागी नेताहरूका अनुसार अध्यक्ष प्रचण्डले कमिटीको आकार घटाउने र नेतृत्व चयनको प्रक्रिया प्रत्यक्ष निर्वाचन बनाउने कि के गर्ने भन्ने विषयमा छलफल गर्न प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

‘सबै कमिटीका आकार घटाउने र केन्द्रीय समिति १५१ जनाको बनाउने प्रस्ताव आएको छ । त्यसमा ५१ प्रतिशत खुला र ४९ प्रतिशत समानुपातिक गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्ने कि भन्ने छ । त्यसमा मनोनितका लागि कुल संख्याको छुट्टै १० प्रतिशतको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ’, बैठकमा प्रचण्डले प्रस्ताव राख्ने क्रममा भने ।

समानुपातिकको ४९ प्रतिशतलाई १०० मानेर त्यसमा दलित, मुस्लिम, मधेसी, थारु, आदिवासी जनजाति र खसआर्य क्लस्टरबाट समेट्ने र यसो गर्दा हरेक क्लस्टरबाट ५० प्रतिशत महिलाको प्रतिनिधित्व गर्ने प्रचण्डले बताए ।

उपाध्यक्ष पम्फा भुसाल संयोजकत्वको कार्यदलले तयार पारेको मस्यौदामा कमिटीको संख्या प्रस्ताव गरिए पनि नेतृत्व चयनको विधि तय गरिएको थिएन । सहमति जुट्न नसकेपछि कार्यदलका सदस्य समेत रहेका उपमहासचिव जनार्दन शर्माले प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्नुपर्ने भन्दै ७ बुँदे फरक मत राखेका थिए ।

स्थायी समितिको गत २८ पुसमा बसेको बैठकमा पनि यस विषयमा सहमति नभएपछि त्यसलाई छलफलका लागि तल्ला कमिटीमा पठाइएको थियो ।

अध्यक्ष प्रचण्डले कार्यदलले तयार पारेको विधानको मूल मस्यौदासँगै उपमहासचिव शर्माले अघि सारेको पूरक प्रस्तावलाई पनि अधिवेशनमा पेश गरेका छन् । शर्माले आफ्नो फरक मतमा पदाधिकारीलगायत समितिका सबै सदस्य प्रत्यक्ष निर्वाचित हुनुपर्ने, उमेर हदको पनि व्यवस्था गर्नुपर्ने, एउटै पदमा दुईपटक भन्दा दोहोरिन नपाइने र तलका कमिटीलाई कार्यकारी बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।

त्यसपछि २६ र २७ माघमा बसेको स्थायी समिति बैठकमा पनि नेतृत्व चयनको विधिमा स्पष्ट फरक मत देखिएपछि त्यसलाई माओवादीले विधान अधिवेशनमा लगेको हो ।

पार्टी सचिव राम कार्कीले नेतृत्व चयनका विषयमा प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने विषयलाई छलफलमा लैजान करिब सबै पदाधिकारीहरू सहमत भए पनि एकमत नभएको स्वीकार गरे ।

‘सबैले आ–आफ्नो धारणा राख्नुभएको छ । नेतृत्व चयनको विधि प्रत्यक्ष निर्वाचनलाई बनाउने विषय छलफल गरेर हल गर्नुपर्छ भन्नेमा सबैको सहमति रह्यो’, कार्कीले भने ‘तर त्यो हलमा छलफलका लागि लगिएको विषय हो, निष्कर्ष हलले नै दिन्छ ।’

नेतृत्व चयनको विषयलाई छलफलमा लैजान तयार भए पनि माओवादीभित्र पदाधिकारी चयनको विषयमा भने विवाद देखिएको छ । बैठकमा सहभागी अर्का एक पदाधिकारीका अनुसार पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाट गर्ने, केन्द्रीय समितिले छनौट गर्ने वा पदाधिकारी नै हटाउने विषयमा पनि छलफल भएको छ ।

‘सुरुदेखि नै चलिरहेको प्रत्यक्ष निर्वाचन र केन्द्रीय समितिले पदाधिकारी चयनको विषय यथावत नै छ । पदाधिकारी बैठकमा अध्यक्षबाहेक पदाधिकारी नराख्ने कि भन्ने विषयले पनि प्रवेश पाएको छ’, ती पदाधिकारीले भने, ‘तर त्यस विषयलाई छलफलका लागि हलमा लगिएन ।’

अध्यक्ष बाहेक पदाधिकारी नराख्ने विषय वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा प्रवेश गराएको ती नेताको भनाइ छ । ‘विश्वका कम्युनिस्ट पार्टीमा विद्यमान रहेको मूल नेतृत्वपछि सचिवालय/हेडक्वार्टर/कार्यालयमध्ये कुनै एउटा राखेर जान सकिन्छ भन्ने वरिष्ठ उपाध्यक्ष कमरेडको प्रस्ताव थियो’, उनले भने ।

तर अहिलेसम्म नेतृत्व चयन र पदाधिकारीका विषयमा अध्यक्ष प्रचण्डले भने कुनै धारणा राखेका छैनन् ।

उनले पदाधिकारीमा दुईपटक भन्दा बढी रहन नपाउने व्यवस्थाका विषयमा पुनर्विचार गर्नुपर्ने हुनसक्ने धारणा भने अधिवेशन हलमा नै राखेका छन् ।

‘दुई पदाधिकारी एउटा पदमा दुई पटक मात्रै रहन पाउने व्यवस्था बढी नै कडा हुनेजस्तो लागेकाले नराख्ने कि भन्ने लागेको छ’, प्रचण्डले मस्यौदा प्रस्ताव गर्ने क्रममा भनेका थिए ।

प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व चयनको विषयलाई अधिवेशन हलमा छलफल गराउन तयार भए पनि यसको कार्यान्वयनमा भने पार्टीपंक्तिमा नै आशंका छ । अहिले विधान मस्यौदालाई अधिवेशन हलमा छलफल मात्रै गराउने र त्यसलाई महाधिवेशनबाट मात्रै पारित गराउने मनस्थितिमा अध्यक्ष प्रचण्ड देखिन्छन् ।

पार्टीका अर्का सचिव गणेश साह अहिले विधान कस्तो बन्छ भन्ने भन्दा पनि कार्यान्वयन कसरी हुन्छ भन्ने मुख्य रहेको बताउँछन् ।

‘विधानमा नेतृत्व चयनदेखि पार्टी सञ्चालनको विधि कस्तो बन्छ भन्ने कुराले मात्रै सबै निर्धारण गर्दैन । त्यसलाई कसरी कार्यान्वयनमा लगिन्छ भन्ने मुख्य कुरा हो’, सचिव साहले भन्छन्, ‘आजसम्म हामी कसरी पार्टी सञ्चालन गरिरहेका छौँ, अब पनि त्यसमा परिवर्तन हुन्छ कि हुँदैन भन्ने महत्वपूर्ण हो ।’

सचिव साहको जस्तै आशंका अधिवेशनमा हलमा उपस्थित कयौं प्रतिनिधिहरूमा देखिन्छ । कतिपयले अधिवेशनबाट विधान नै पारित नहुने भए सम्मेलन हुनुको के औचित्य भनेर समेत प्रश्न गरिरहेका छन् ।

माओवादीले मस्यौदामाथि छलफलका लागि अधिवेशनमा सहभागीका २० वटा समूह बनाइएको छ । मंगलबार बनाइएका समूहले बुधबार बिहान ८ बजेदेखि छलफल थाल्ने छन् ।

एउटा समूहमा ५० देखि ५५ रहने माओवादीले जनाएको छ । समूहगत छलफल सकिएपछि बुधबार दिउँसो २ बजेदेखि पुनः अधिवेशन सुरु हुनेछ । त्यसमा समूहमा भएको छलफललाई टोली नेताले रिपोर्टिङ गर्नेछन् । बिहीबार माओवादीको अधिवेशन सकिने छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?