+
+

आउँदो वैशाखमा हुम्ला सडक सञ्जालमा जोडिने

यज्ञ खत्री यज्ञ खत्री
२०८० फागुन २ गते १४:०४

२ फागुन, सुर्खेत । कर्णाली करिडोर आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ । अहिले हुम्लाको लालीबगरदेखि दुल्लीकुनासम्मको ११ किलोमिटर कडा चट्टानी पहाडमा ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको निर्माणको जिम्मा लिएको नेपाली सेनाले जनाएको छ ।

छहारेदेखि लिप्चेसम्म ८ सय मिटर भीर काट्ने काम धमाधम भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी अमृत पराजुलीले जानकारी दिए ।

‘आगामी वैशाखसम्म हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी काम भइरहेको छ’ पराजुलीले भने, ‘बाँकी रहेको करिब ८०० मिटर सडकको लेभल चैतसम्म मिलाइसक्ने लक्ष्य छ ।’

वैशाख १ गते हुम्लामा गाडी पुर्‍याउने गरी काम भइरहेको उनले बताए । १० जिल्ला रहेको कर्णाली प्रदेशमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एकमात्र जिल्ला हुम्ला हो ।

हुम्लामा गाडी पुगेपछि उत्तरी छिमेकी चीनसँग स्थलमार्गबाट कर्णाली र सुदूरपश्चिम प्रदेश जोडिने छ । सेनाले अहिले काम गरिरहेको लालीबगर–दुल्लीकुना खण्डअन्तर्गत पर्ने छहारेदेखि लिप्चेसम्मको भीर सबैभन्दा कठिन मानिन्छ । कडा चट्टान फुटाउनका लागि ब्लास्टिङको काम सकिएको र ८०० मिटर सडक खण्डको लेबलिङ भइरहेको सेनाको भनाइ छ ।

हाल सडक विभागले काम गरिरहेको बोक्चे गौडा, भी–गौंडा, दुलीकुना र याङ्चुका मोड काट्नुका साथै सडकको लेभल मिलाउने जिम्मेवारी पनि सेनालाई दिएको छ । यो सडकमा साना सवारी सञ्चालन भए पनि ठूला गाडी सञ्चालन गर्न भने कठिन छ ।

कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुबाट सुरु हुने कर्णाली करिडोर सुदूरपश्चिमको बाजुरा जिल्ला भएर हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरको छिमेकी चिनियाँ नाकासम्म जोडिन्छ ।

खुलालुदेखि सिमकोटसम्मको कुल लम्बाइ २६८ किलोमिटर छ । त्यसमध्ये सबैभन्दा अप्ठ्यारो मानिएको १२२.७५ किलोमिटर सडक निर्माणको जिम्मा सरकारले ५ चैत २०७१ मा नेपाली सेनालाई दिएको थियो । यो खण्ड सेनाले निर्माण सकेर हस्तान्तरण गरिसकेको छ  ।

कर्णाली करिडोरकै दुल्लीकुना–लालीबगर खण्ड निर्माणको जिम्मा पनि दुई वर्षअघि सरकारले नेपाली सेनालाई दिएको थियो ।

कर्णाली करिडोर नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । भारतसँगको सीमा जोडिएको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा, हुम्लाको सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म जोड्दछ । जमुनाहादेखि हिल्सासम्मको सडकको दूरी ५०५ किलोमिटर रहनेछ । कर्णालीको राजधानी वीरेन्द्रनगरदेखि हिल्सा ४१९ किलोमिटर पर्छ ।

एक दशक पहिले सडक निर्माण सुरु भएपनि कठिन भूगोलका कारण अझैसम्म पूर्णरूपमा ट्रयाक खोल्न सकिएको छैन । हुम्ला सदरमुकाम सिमकोट भन्दा माथि मौसमका कारण ६ महिनाभन्दा बढी काम गर्न सकिँदैन ।

२०५७ सालमा नेपाल सरकारका तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले कर्णाली करिडोर शिलान्यास गरेका थिए । तर ८ चैत २०६९ मा हिल्सा–सिमकोट सडक आयोजनाको कार्यालय स्थापना भएको थियो । उक्त कार्यालय बनेपछि मात्रै कालीकोटदेखि सिमकोट सडक निर्माण कार्य अघि बढेको थियो ।

कर्णाली करिडोरका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि ९७ करोड रुपैयाँ छुट्याएको छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?