+
+

७ फागुनदेखि उत्पादनमूलकतर्फको कोरियाली भाषा परीक्षा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १९:०४

२ फागुन, काठमाडौं । आगामी ७ फागुनदेखि रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तरगत कोरियाली भाषा परीक्षा सुरु हुने भएको छ । एक सूचना जारी गर्दै ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फ जाने श्रमिकहरुको कोरियन भाषा परीक्षा सुरु हुने जानकारी दिएको छ ।

परीक्षा हुनुभन्दा एक दिनअघि ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा परीक्षार्थीले बायोमेट्रिक (फिंगरप्रिन्ट) दर्ता गर्नुपर्नेछ । रजिष्ट्रेसन नम्बरको आधारमा तोकिएको मिति, समय र सिफ्टमा परीक्षार्थी उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । परीक्षाअघि बायोमेट्रिकका लागि २ घण्टा अगावै परीक्षा केन्द्रमा पुगिसक्नुपर्ने छ ।

सक्कल राहदानी र प्रवेशपत्र नभएकालाई परीक्षामा सामेल हुन नपाइने सूचनामा उल्लेख छ । सूचनाअनुसार परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटीको यूबीटी भवनमा सञ्चालन हुनेछ ।

शाखाले परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिक्स्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको बताएको छ । परीक्षा हलमा एक घण्टाअघि नै ओरियन्टेसन सुरु हुनेछ र बायोमेट्रिक भरिफिकेसन पनि गरिने छ ।

परीक्षामा चिट, कपी गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्ने र ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गर्ने सूचनामा उल्लेख छ ।

यसपाली जहाज निर्माण (सिप बिल्डिङ)को भाषा परीक्षामा सहभागी भएकाहरु पनि उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा सहभागी हुँदैछन् । उत्पादनमूलतर्फ आवेदन दिएका १ लाख ६५ हजार भन्दा बढी आवेदक परीक्षामा सामेल हुँदैछन् । सिप बिल्डिङतर्फको परीक्षामा सहभागी भएका करिब २१ हजार २५४ जना परीक्षार्थीहरूले आवेदन भरेकोमा उनीहरु समेत यो परीक्षामा सामेल हुन पाउने गरी तालिका तय भएको हो ।

गत असारमा सिप बिल्डिङका लागि आवेदन दिएर बसेका परीक्षार्थीले समेत उत्पादनमूलक क्षेत्रमा पनि भाषा परीक्षा दिन पाउने गरी १६ पुसमा शाखाले आवदेन खुला गरेको थियो । त्यसअघि साउनमा भएको सिप बिल्डिङका लागि ईपीएस परीक्षामा ३५ हजार सहभागी भएकामध्ये ४ हजारमात्र उत्तीर्ण भएका थिए ।

त्यसपछि उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरेको थियो । तर सन् २०२३ भित्र परीक्षामा सहभागी भएकाहरुले अन्य क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था भएकाले अनुत्तीर्ण भएका ३० हजारलाई आवेदन भर्न दिइएको थिएन ।

तर, परीक्षार्थीले उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी हुनु पाउनुपर्ने भन्दै १८ जनाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । ५ पुसमा अदालतको आदेशपछि १८ जनालाई मात्र ईपीएस परीक्षामा सहभागी हुनका लागि ईपीएस शाखा ग्वार्कोले सूचना निकालेका थियो ।

त्यसपछि पुनः उच्च अदालत पाटमा परेका अर्को रिटमा सुनुवाइ गर्दै अदालतले १३ पुसमा सबैलाई परीक्षार्थीलाई रोक नलगाउन आदेश दिएको थियो । अदलतको आदेशपछि उनीहरुलाई पनि सहभागी हुन पाउने गरी १६ पुसदेखि आवेदन खुला गरिएको थियो ।

त्यसअघि सिप बिल्डिङ क्षेत्रमा सहभागी भएकाले अरु क्षेत्रको परीक्षामा पनि सहभागी हुन पाउनु पर्ने भन्दै आन्दोलन गरेका थिए । आन्दोलनकै क्रममा १२ पुसमा ललितपुरको बालकुमारीमा सुजन रावत र वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

त्यसपछि सरकारले सप बिल्डिङ क्षेत्रमा सहभागी भएकालाई पनि फारम भर्न खुला गरेपछि करिब २१ हजारले मात्रै आवेदन दिएका थिए । ती परीक्षार्थीलाई पनि परीक्षा दिन कोरियाले अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?