+
+

सर्वोत्तमको आईपीओ फागुन १३ देखि खुल्ने, न्यूनतम १८ हजार ४५ रुपैयाँ लगानी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १५:४८

३ फागुन, काठमाडौं । पहिलो पटक बुक बिल्डिङ पद्दतीबाट मूल्यांकन भई सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि फागुन १३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारमा रहेका तथा प्रभावित स्थानीयका लागि बाँडफाँट भइसकेपछि कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । फागुन १३ देखि १६ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ । सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

कम्पनीले सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसअघि प्रभावित स्थानीयका लागि खुलाइएको ९ लाख ३० हजार कित्ता सेयरमध्ये ६ लाख ८१ हजार ५३० कित्ता बिक्री नभएपछि सो समेत थप गरी सर्वसाधारणका लागि निष्कासन हुने भएको हो ।

बुक बिल्डिङ पद्दतीबाट सर्वसाधारणका लागि कम्पनीको आईपीओ मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भएको छ । यो पद्दतीबाट आईपीओ जारी गर्ने कम्पनीमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्छ । तसर्थ आईपीओ भर्न कम्तीमा १८ हजार ४५ रुपैयाँ चाहिने भएको छ । सो रकम बैंक खातामा मौज्दात नभएमा आवेदन नै रद्द हुन्छ ।

नवलपरासीको सुनवल नगरपालिकामा सर्वोत्तम सिमेन्ट उद्योग सञ्चालनमा छ । दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिंकर उत्पादन क्षमताको उद्योग रहेको कम्पनीले सार्वजनिक गरेको आहृवान पत्रमा उल्लेख छ । पाल्पाको तिनाउँ तथा निस्दी गाउँपालिकामा कम्पनीले चुनढुंगा खानीको अनुमति लिएको छ । यसका सहायक कम्पनीहरु सर्वोत्तम होल्डिङ्स र सवोत्तम इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा छन् ।

गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा छ । सो अवधिसम्म कम्पनीको जगेडा कोष ३ अर्ब ४५ करोड रुपैयाँ बराबर छ । आर्थिक वर्ष २०७७र७८ मा ८ अर्ब ९३ करोड ७८ लाख पुगेको कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ८८ करोड १५ लाखमा झरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?