+
+

बुक बिल्डिङबाट पहिलो पटक सर्वोत्तमको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते ९:१०

६ मंसिर, काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) निस्कासन गरेको छ ।

आज बुधबारदेखि बिक्री खुला भएको सर्वोत्तमको आईपीओमा संस्थागत लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् ।

संस्थागत लगानीकर्तालाई बाँडफाँट भइसकेपछि अर्को चरणमा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई पछि जारी हुनेछ ।

कम्पनीको सेयरका लागि संस्थाहरुलाई न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँदेखि अधिकतम ६०१ रुपैयाँ ५० पैसाको रेञ्ज प्रदान गरिएको छ । संस्थागत लगानीकर्ताले मंसिर १० गतेसम्म यो कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिनेछन् ।

संस्थागत लगानीकर्ताले गोप्य शिलबन्दीमार्फत तोकिएको मूल्य रेञ्जभित्र रहेर दिएको आवेदनअनुसार प्रतिस्पर्धाका आधारमा निश्चित मूल्य (कट अफ प्राइस) तय हुन्छ । त्यहीं कटअफ प्राइसभन्दा १० प्रतिशत कम मूल्यमा पछि सर्वसाधारणलाई ३६ लाख कित्ता सेयर जारी हुनेछ । सर्वसाधारणले बुक बिल्डिङबाट खुल्ने आईपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । बाँडफाँटका क्रममा पनि एक व्यक्तिले कम्तीमा ५० कित्ता सेयर पाउने छन् ।

कस्तो छ कम्पनी ?

पहिलो पटक बुक बिल्डिङ प्रणालीबाट सेयर निस्कासन हुन लागेकाले सर्वोत्तम सिमेन्ट विशेषतः चासोको कम्पनी बनेको छ ।

नवलपरासीको सुनवल नगरपालिकामा सर्वोत्तम सिमेन्ट उद्योग सञ्चालनमा छ । दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिंकर उत्पादन क्षमताको उद्योग रहेको कम्पनीले सार्वजनिक गरेको आहृवान पत्रमा उल्लेख छ ।

पाल्पाको तिनाउँ तथा निस्दी गाउँपालिकामा कम्पनीले चुनढुंगा खानीको अनुमति लिएको छ । यसका सहायक कम्पनीहरु सर्वोत्तम होल्डिङ्स र सवोत्तम इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा छन् ।

अर्थतन्त्रमा देखिएको शिथिलताले गर्दा निर्माण उद्योगमा पनि असर गरेको छ । सर्वोत्तम सिमेन्टको पनि बिक्री आम्दानी खस्केको गत आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणले देखाउँछ ।

गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा छ । सो अवधिसम्म कम्पनीको जगेडा कोष ३ अर्ब ४५ करोड रुपैयाँ बराबर छ ।

आर्थिक वर्ष २०७७/७८ मा ८ अर्ब ९३ करोड ७८ लाख पुगेको कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ८८ करोड १५ लाखमा झरेको थियो ।

गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३८ करोड ३ लाखमा झरेको छ । सञ्चालन आम्दानीमा कमी आउँदा कम्पनीको नाफा प्रभावित बन्दै गएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २०७८/७९ मा ४६ करोड ७६ लाख र २०७९/८० मा २० करोड ७५ लाख मात्रै खुद नाफा कमाएको छ । जगेडा कोषमा ३ अर्ब ४५ करोड रुपैयाँ सञ्चित रहेको कम्पनीको विवरणपत्रमा उल्लेख छ ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ३ वर्ष ९ महिना रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना प्रक्षेपण छ । इक्रा नेपालले कम्पनीलाई टि्रपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनी समयमा नै वित्तीय दायित्व वहन गर्न मध्यमस्तरको क्षमतामा रहेको जनाउँछ । इक्राले सबैभन्दा सुरक्षित कम्पनीलाई टि्रपल ए रेटिङ प्रदान गर्दछ भने कमजोर स्तरको कम्पनीलाई डी रेटिङ प्रदान गर्दछ ।

२०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म कम्पनीको दिर्घकालीन ऋणसहितको दायित्व ६५ करोड ५४ लाख रुपैयाँ छ । चालु पुँजी प्रकृतिको दायित्व ३ अर्ब ३५ करोड रुपैयाँसहित कुल चालु दायित्व ५ अर्ब ११ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । हालै सूचीकृत भएको घोराही र सोनापुर मिनरल्सको तुलनामा कम्पनीको ऋण दायित्व न्युन देखिन्छ ।

कम्पनीले लिएको ऋणमा वाषिर्क १०.५० प्रतिशत ब्याज बुझाउँदै आएको जनाएको छ । पछिल्लो समय निर्माण क्षेत्रमा आएको मन्दीको असर यो कम्पनीको नाफामा पनि परेको देखिन्छ ।

कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपाने हुन् । उनले २८.९७ प्रतिशत सेयर स्वामित्व लिएका छन् । अन्य सञ्चालकहरुमा विमलकुमार सवार्थिया, टिकाराम न्यौपाने, दिवस न्यौपाने, तेन्जिङ लाक्देन तामाङ छन् । कम्पनीमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना र स्वतन्त्र व्यवसायिक सञ्चालक १ जनासहित ७ जना सञ्चालक हुनेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?