 
																			५ मंसिर, काठमाडौं । नेपालमा पहिलो पटक भोलि बुधबार (मंसिर ६) देखि बुक बिल्डिङ प्रक्रियाबाट सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) जारी गर्दैछ । आईपीओमा पहिलो चरणमा सर्वसाधारणले नभई संस्थागत लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् ।
सर्वोत्तमले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई पछि जारी हुनेछ ।
कम्पनीको सेयरका लागि संस्थाहरुलाई न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँदेखि अधिकतम ६०१ रुपैयाँ ५० पैसाको रेञ्ज प्रदान गरिएको छ । संस्थागत लगानीकर्ताले मंसिर १० गतेसम्म यो कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिनेछन् ।
संस्थागत लगानीकर्ताले गोप्य शिलबन्दीमार्फत तोकिएको मूल्य रेञ्जभित्र रहेर दिएको आवेदनअनुसार प्रतिस्पर्धाका आधारमा निश्चित मूल्य (कट अफ प्राइस) तय हुन्छ । त्यहीं कटअफ प्राइसभन्दा १० प्रतिशत कम मूल्यमा पछि सर्वसाधारणलाई ३६ लाख कित्ता सेयर जारी हुनेछ ।
बुक बिल्डिङका लागि योग्य संस्थागत लगानीकर्ताको संख्या ११७ पुगेको छ । तर सोमबार साँझ ५ बजेसम्म नेप्सेमा दर्ता तथा नवीकरण भएका संस्थाको संख्या ७९ छ । मंगलबारसम्म थप कम्पनी नवीकरण नभएको खण्डमा यिनै ७९ कम्पनीले मात्रै सर्वोत्तमको बुक बिल्डिङमा सहभागिता जनाउन सक्ने नेप्सेले जनाएको छ ।
धितोपत्र बोर्डका सह-प्रवक्ता तेजप्रसाद देवकोटाका अनुसार हाललाई संस्थागत लगानीकर्ताले भौतिक रुपमा नै बोलकबोल प्रक्रियामा भाग लिनेछन् । ‘नेप्सेले विद्युतीय रुपमा सहभागिता गराउनेगरी विद्युतीय प्रणाली विकास गरिसकेको छैन, निर्देशिकामा भनिएअनुसार नै विद्युतीय प्रणाली विकास नभएसम्म भौतिक रुपमै आवेदन दिएर संस्थागत लगानीकर्ता बुक बिल्डिङमा सहभागी हुनेछन्’ उनले भने ।
बुक बिल्डिङमा कसरी तोकिन्छ सेयर मूल्य ?
संस्थागत लगानीकर्ताले कम्पनीको सम्पूर्ण वित्तीय स्थिति केलाउन दक्ष जनशक्ति राखेका हुन्छन् । कम्पनीको वित्तीय स्थिति, संभावित बजार, जोखिमको अवस्था केलाएर संस्थागत लगानीकर्ताले एउटा निश्चित सीमाको मूल्यभित्र रहेर सेयर माग गर्दै आवेदन दिन्छन्, त्यहीं आवेदनका आधारमा मूल्य तय गरिने विधि नै बुक बिल्डिङ हो ।
बुक बिल्डिङ विधिमा सुरुमा योग्य संस्थागत लगानीकर्ताबाट सुझाव माग गरिन्छ । योग्य संस्थागत लगानीकर्ताले छलफल कार्यक्रम समाप्त भएको पाँच कार्य दिनभित्र लिखित रुपमा खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा आफ्नो सुझाव दिन्छन् ।
आशय मूल्य लिँदा न्यूनतम १० वटा योग्य संस्थागत लगानीकर्ताबाट सबै सेयर बिक्री हुनेगरी लिनुपर्ने व्यवस्था बुक बिल्डिङ निर्देशिकाले गरेको छ ।
यसरी आशयमूल्य प्राप्त गरेपछि बिक्री मूल्य सीमा निर्धारण गरिन्छ ।आशयमूल्यको अध्ययनपछि तय भएको आधार मूल्यमा २० प्रतिशत थप गरी कायम हुने मूल्यलाई माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी सीमा निर्धारण हुन्छ । सो अनुसार सर्वोत्तमको माथिल्लो मूल्य सीमा ६०१ रुपैयाँ ५० पैसा र तल्लो सीमा ४०१ रुपैयाँ छ ।
बोर्डले उक्त बिक्री मूल्य सीमाभित्र रहेर योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत आईपीओ जारी गर्न स्वीकृति दिएको छ । अब बुधबारदेखि संस्थागत लगानीकर्ताले आवेदन दिँदा सोही मूल्यको सीमाभित्र रहेर आफूले किन्न चाहेको सेयर संख्या र चाहेको प्रतिकित्ता मूल्य तोकेर विवरण बुझाउनेछन् ।
बुक बिल्डिङ निर्देशिका २०७७ अनुसार एउटा संस्थाले कुल निस्कासित सेयर संख्याको २० प्रतिशतभन्दा बढी सेयर माग गर्न पाउने छैनन् । संस्थागत लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर संख्या, मूल्य तोकेर गोप्य शिलबन्दीमार्फत प्रस्ताव गर्दछन् । यसरी प्रस्ताव गर्नका लागि संस्थाहरुलाई ४ दिनको समय दिइएको छ ।
बोलकबोलमा सहभागी योग्य संस्थागत लगानीकर्ताबाट परेका प्रस्तावहरु खोलेर बाँडफाँट गर्ने क्रममा धेरै मूल्य तोकेर आवेदन दिएका आधारमा संस्थागत लगानीकर्तालाई क्रमशः छनोट गर्दै लगिन्छ । त्यसरी छनोट गर्दै जाँदा संस्थागतलाई जारी गरिएको कुल सेयर संख्या सकिँदासम्म एउटा न्यूनतम मूल्य (कट अफ प्राइस) तय हुन्छ । त्यसरी तय भएको ‘कटअफ प्राइस’भन्दा माथि मूल्य तोकेर दिएका आवेदक सेयर पाउनका लागि छनोट हुन्छन् । कटअफ प्राइसभन्दा कम मूल्यमा आवेदन दिएका संस्थाहरुलाई सेयर दिइँदैन ।
‘कटअफ मूल्य’मै आवेदन परेको अवस्थामा समानुपातिक रुपमा सेयर प्रदान गरिने निर्देशिकामा उल्लेख छ । तर ती संस्थाले माग गरेजति नै सेयर नपाउन सक्छन् । उदाहरणको लागि कुनै कम्पनीको ‘कटअफ प्राइस’ ४२० रुपैयाँ तय हुन गयो, सो मूल्यमा सेयर माग गर्ने ५ संस्था थिए भने उनीहरुलाई मागेजति नै सेयर दिन नपुग्ने अवस्था रहेमा ५ वटै संस्थालाई समानुपातिक रुपमा सेयर दिइनेछ ।
कटअफ मूल्य भन्दा माथि बोलकबोल गर्ने संस्थागत लगानीकर्ताले पनि अन्ततः कटअफ मूल्यमा नै माग गरेजति सेयर पाउने हुन् ।
अब संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुनेछ । सर्वोत्तम सिमेन्टको बिक्री मूल्यको तल्लो सीमा नै ४०१ रुपैयाँ भएकोले कटअफ मूल्य त्यसभन्दा तल हुने सम्भावना हुँदैन । सर्वासाधारणलाई सर्वोत्तम सिमेन्टको आईपीओको मूल्य कटअफ मूल्य ४०१ नै कायम भएको अवस्थामा पनि ३६१ भन्दा तल हुने अवस्था छैन ।
कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने
सर्वसाधारणले सिधै पि्रमियममा जारी भएकोजस्तो १० कित्ताका लागि आवेदन दिन पाउँदैनन्, निर्देशिकाअनुसार कम्तिमा पनि ५० कित्ता आवेदन दिनुपर्छ र ५० कित्ताका लागि आवश्यक रकम बैंक खातामा मौज्दात हुनुपर्छ । अन्यथा आवेदन रद्द हुन जानेछ । बाँडफाँड गर्दा पनि एक व्यक्तिले कम्तीमा ५० कित्ता सेयर पाउनेछ । यसरी सर्वसाधारणलाई जारी गरिनुपूर्व पनि ‘अन्डरराइटिङ’ (प्रत्याभूति) गरिएको हुन्छ, सर्वसाधारणमा बिक्री नभएको अवस्थामा अन्डरराइटिङ गर्नेले सेयर सकार्नुपर्नेछ । सेयर नपाएकालाई ३ दिनभित्रै आर्जित ब्याजसहित पैसा फिर्ता गर्नुपर्छ ।
सर्वसाधारणलाई कति जोखिम ?
यसअघि प्रतिकित्ता ४३५ रुपैयाँ मूल्यमा जारी भएको घोराही सिमेन्टको बजार मूल्य हाल आईपीओको मूल्यभन्दा तल ४०० रुपैयाँ हाराहारीमा झरेको छ । त्यस्तै सोनापुर सिमेन्टको बजार मूल्य पनि केही दिन आईपीओभन्दा तल झरेको थियो । यी दुई सिमेन्ट कम्पनीको सेयर धेरैले घाटा खाएर बेचे ।
फेरि आउने अर्को सिमेन्ट सर्वोत्तमको पनि कतै आईपीओभन्दा तल पो मूल्य झर्ने हो कि भन्ने त्रास लगानीकर्तामा छ । अझ बुक बिल्डिङमार्फत ५० कित्ता सेयर पाइने भएकाले बजार मूल्य घट्न जाँदा जोखिम पनि १० कित्तामा भन्दा बढी हुन जान्छ ।
विश्वका अन्य सेयर बजारमा पनि बुक बिल्डिङ विधिलाई नै अनुसरण गरिएको छ । सामान्यतः योग्य संस्थागत लगानीकर्तामा दक्ष जनशक्ति हुन्छन् । उनीहरु कम्पनीको सम्पत्ति, दायित्व, उत्पादन तथा संभावित बजार, भविष्यको संभावित फाइदा, जोखिम लगायत कम्पनीको विवरण केलाउन सक्षम मानिन्छन् ।
कम्पनीको स्थलगत अध्ययन नै गर्न सक्छन् र लुकाइएका सूचना समेत थाहा पाउन सक्छन् । सबै विवरण केलाएर मात्रै उनीहरुले निश्चित मूल्य तोकेर आवेदन दिएका हुन्छन् भन्ने मान्यता यो विधिमा रहन्छ ।
दक्ष जनशक्तिले तोकेको मूल्य वैज्ञानिक हुने भएकाले पछि सर्वसाधारणलाई जारी हुने सेयरमा जोखिम कम हुने मान्यता रहन्छ । कटअफ प्राइसभन्दा १० प्रतिशत न्यूनतम मूल्यमा सर्वसाधारणलाई जारी हुने भएकाले उनीहरुको केही नाफा पनि सुनिश्चित गर्न खोजिएको छ ।
त्यसकारण पि्रमियममा सिधै जारी हुने सेयरभन्दा बुक बिल्डिङमार्फत जारी हुने सेयरमा जोखिम केही कम हुने मान्यता छ । तर संस्थागत लगानीकर्ताले एकआपसमा मिलेमतोमा मूल्य तोक्ने, कम्पनीसँग मिलेमतोमा अधिक मूल्य तोक्नेजस्ता विकृति नआउलान् भन्न सकिन्न । यस्तो विकृतिले भोलि बजारमा सेयर मूल्य र्झन सक्ने जोखिम रहन्छ । जसबाट सर्वसाधारण समेत प्रभावित हुन सक्छन् ।
कस्तो छ सर्वोत्तम सिमेन्ट ?
पहिलो पटक बुक बिल्डिङ प्रणालीबाट सेयर निस्कासन हुन लागेकाले सर्वोत्तम सिमेन्ट विशेषतः चासोको कम्पनी बनेको छ । नवलपरासीको सुनवल नगरपालिकामा सर्वोत्तम सिमेन्ट उद्योग सञ्चालनमा छ । दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिंकर उत्पादन क्षमताको उद्योग रहेको कम्पनीले सार्वजनिक गरेको आहृवान पत्रमा उल्लेख छ । पाल्पाको तिनाउँ तथा निस्दी गाउँपालिकामा कम्पनीले चुनढुंगा खानीको अनुमति लिएको छ । यसका सहायक कम्पनीहरु सर्वोत्तम होल्डिङ्स र सवोत्तम इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा छन् ।
अर्थतन्त्रमा देखिएको शिथिलताले गर्दा निर्माण उद्योगमा पनि असर गरेको छ । सर्वोत्तम सिमेन्टको पनि बिक्री आम्दानी खस्केको गत आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणले देखाउँछ । गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा छ । सो अवधिसम्म कम्पनीको जगेडा कोष ३ अर्ब ४५ करोड रुपैयाँ बराबर छ ।
आर्थिक वर्ष २०७७/७८ मा ८ अर्ब ९३ करोड ७८ लाख पुगेको कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ८८ करोड १५ लाखमा झरेको थियो । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३८ करोड ३ लाखमा झरेको छ ।
सञ्चालन आम्दानीमा कमी आउँदा कम्पनीको नाफा प्रभावित बन्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २०७८/७९ मा ४६ करोड ७६ लाख र २०७९/८० मा २० करोड ७५ लाख मात्रै खुद नाफा कमाएको छ । जगेडा कोषमा ३ अर्ब ४५ करोड रुपैयाँ सञ्चित रहेको कम्पनीको विवरणपत्रमा उल्लेख छ ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि तीन वर्ष ९ महिना रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना प्रक्षेपण छ । इक्रा नेपालले कम्पनीलाई टि्रपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनी समयमा नै वित्तीय दायित्व वहन गर्न मध्यमस्तरको क्षमतामा रहेको जनाउँछ । इक्राले सबैभन्दा सुरक्षित कम्पनीलाई टि्रपल ए रेटिङ प्रदान गर्दछ भने कमजोर स्तरको कम्पनीलाई डी रेटिङ प्रदान गर्दछ ।
२०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म कम्पनीको दिर्घकालीन ऋणसहितको दायित्व ६५ करोड ५४ लाख रुपैयाँ छ । चालु पुँजी प्रकृतिको दायित्व ३ अर्ब ३५ करोड रुपैयाँसहित कुल चालु दायित्व ५ अर्ब ११ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । हालै सूचीकृत भएको घोराही र सोनापुर मिनरल्सको तुलनामा कम्पनीको ऋण दायित्व न्युन देखिन्छ ।
कम्पनीले लिएको ऋणमा वार्षिक १०.५० प्रतिशत ब्याज बुझाउँदै आएको जनाएको छ । पछिल्लो समय निर्माण क्षेत्रमा आएको मन्दीको असर यो कम्पनीको नाफामा पनि परेको देखिन्छ ।
कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपाने हुन् । उनले २८.९७ प्रतिशत सेयर स्वामित्व लिएका छन् । अन्य सञ्चालकहरुमा विमलकुमार सवार्थिया, टिकाराम न्यौपाने, दिवस न्यौपाने, तेन्जिङ लाक्देन तामाङ छन् । कम्पनीमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना र स्वतन्त्र व्यवसायिक सञ्चालक १ जनासहित ७ जना सञ्चालक हुनेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसी हुन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4