+

जन्मजात मुटुरोग भएका बालबालिकामा कुपोषणको जोखिम

२०८० फागुन  ३ गते १४:११ २०८० फागुन ३ गते १४:११
जन्मजात मुटुरोग भएका बालबालिकामा कुपोषणको जोखिम

जन्मजात मुटुरोग लागेका बालबालिकामा कुपोषण हुने भय हुन्छ । जन्मजात मुटुरोग लागेकामध्ये १५ प्रतिशतदेखि ६४ प्रतिशत बालबालिकामा पोषणको कमी हुनसक्छ ।

मुटुले पम्प गरेपछि मात्र शरीरको आवश्यक अंकमा रगत प्रवाह हुन्छ । जसले गर्दा अन्य अंग पनि राम्ररी काम गर्न सक्छन् । तर जन्मजात मुटुरोग हुने बच्चाको मुटुको कार्य प्रणाली कमजोर हुन्छ ।

यस्तोमा मुटुले राम्रोसँग रगत पम्प गर्न सक्दैन । पम्प नहुँदा पाचन प्रणाली कमजोर भई खानेकुरा ग्रहण गर्ने क्षमता कमजोर हुन्छ । एकैपटक उनीहरू धेरै खान सक्दैनन् । उनीहरूलाई अलिकति खाने र पिउने बित्तिकै सास फेर्न नसक्ने र स्वाँस्वाँ हुन थाल्छ ।

फलस्वरुप सामान्य तौल भएकै जन्मिए पनि पहिलो महिनाबाटै पोषणको कमी हुनसक्छ । पोषणको कमी भएपछि शारीरिक वृद्धि विकासमा प्रभाव पार्छ ।

उनीहरूलाई सामान्य बच्चाको तुलनामा बढी ऊर्जा आवश्यक हुन्छ । तर उनीहरूले खाने खानाबाट मात्रै उचित मात्रामा क्यालोरी उपभोग गर्न सक्दैनन् । यस्तोमा उनीहरूको खानपिनमा ध्यान दिनुपर्छ । कसैलाई त सप्लिमेन्ट पनि आवश्यक पर्छ ।

उमेरअनुसार पोषण

६ वर्षमुनिका बालबालिका

जन्मजात मुटुरोग लागेका ६ वर्षमुनिका बालबालिकालाई दिनको आठ पटक जति स्तनपान गराउनुपर्छ । दिन होस् वा रात, उनीहरूले चाहेको बेलामा स्तनपान गराउनु सबैभन्दा उपयुक्त समय हो । तर खान मन नगर्दा जबर्जस्ती खुवाउनु हुँदैन । किनभने उनीहरूको पाचन क्षमता कमजोर हुन्छ । जसकारण बान्ता गर्न सक्छन् ।

यस्ता शिशुलाई भिटामिन डी, आइरन, मल्टी भिटामिन सप्लिमेन्टको रूपमा दिनुपर्ने हुन्छ । क्यालोरी बढाउन ह्युमन मिल्क सर्टिफाइड र एमसिटी अयल पनि दूधमा मिसाएर दिइन्छ ।

६ देखि १२ महिनाका शिशु

६ महिनामाथिको बच्चालाई भरपुर पोषणको आवश्यक हुन्छ । त्यसकारण दिनको तीन पटक ठोस खानेकुरा र पाँच पटक स्तनपान गराउनुपर्छ । उनीहरूले सूक्ष्म पोषक तत्त्व भएको ठोस कुरा खाएनन् भने सप्लिमेन्ट दिनुपर्छ । बजारमा विभिन्न खालका पोषणले भरिएको केरा, मेवा, सुन्तला र अनार जस्ता फलफूलको सप्लिमेन्ट पाइन्छ । यस्ता सप्लिमेन्ट दूधमा मिसाएर पनि दिन सकिन्छ ।

१२ महिनादेखि दुई वर्षसम्मका बालबालिका

दुई वर्षसम्म बच्चाले जतिबेला चाहन्छन् त्यतिबेला स्तनपान गराउनुपर्छ । ठोस खानेकुरा लिटो, जाउलो, खाना, गेडागुडी जस्ता पोषक ठोस खानेकुरा तीनदेखि पाँच पटक एकदेखि आधा कचौरा खुवाउनुपर्छ ।

यसबाहेक फलफूल खुवाउनमा पनि जोड दिनुपर्छ । उनीहरूलाई थोरै दिने तर पटक-पटक दिने गर्नुपर्छ । ताकि उनीहरूलाई पोषण पुगी शरीरले राम्रोसँग आफ्नो काम गर्न सकोस् ।

दुई वर्षमाथिका बालबालिका

वयस्कले खाने खाना दुई वर्षमाथिका बालबालिकालाई तीन पटक गरी खुवाउनुपर्छ । यो बीचमा खाजामा पुवा, केक र फलफूल दिनु उपयुक्त हुन्छ । उनीहरूलाई क्यालोरी पुग्ने खालका खानेकुरा प्रोटिन, बोसोजन्य खानेकुरा, कार्बोहाइड्रेट र सूक्ष्म पोषक तत्त्व भरपुर खान दिनुपर्छ ।

क्यालोरी

हामीले खाने खानेकुराबाट क्यालोरी प्राप्त हुन्छ । सामान्यतया कति क्यालोरी शक्ति चाहिन्छ भन्ने कुरा मान्छेको उमेर, उसले गर्ने कामको प्रकृति र अन्य विभिन्न पक्षमा समेत निर्भर गर्छ ।

वयस्कलाई भन्दा बच्चालाई बढी क्यालोरीको आवश्यकता पर्छ । किनकि उनीहरुले छिटो छिटो ऊर्जा खर्च गर्छन् । मुटुरोग लागेकालाई सामान्य बालबालिकालाई भन्दा थप क्यालोरी चाहिन्छ । क्यालोरी खानेकुराबाट प्राप्त हुन्छ । यी बालबालिका एकपटकमा चाहिएको मात्रामा क्यालोरी लिन सक्दैनन् । जसकारण थोरै मात्रामा तर दिनमा पटक-पटक खुवाउनुपर्छ ।

प्रोटिन

शारीरिक तथा बौद्धिक विकासका लागि पर्याप्त प्रोटिन आवश्यक छ । विशेषगरी जन्मजात मुटुरोग भएका बालबालिकामा प्रोटिनका स्रोतहरुमा मासु, माछा, अण्डा, दूध, दही, बिरुवामा आधारित (दाल, गेडागुडी, मटर, सोयाबिन) पर्छन् । यी तत्त्व दिनहुँजस्तो खुवाउनुपर्छ ।

बोसोजन्य पदार्थ

फ्याट भएका खानाले क्यालोरी बढाउने र दिमागको वृद्धि गराउने भएकाले खानामा यसको प्रयोग समावेश गर्न जरुरी हुन्छ ।

खानामा राम्रो फ्याट धेरै तर ट्रान्स फ्याट कम गर्नुपर्छ । बदाम, ओखर, एभोकाडो र जैतुन तेल राम्रो फ्याटका स्रोत हुन् भने प्रशोधित र प्याकेटको खानामा (जस्तै चाउचाउ, चिप्स, चीज बल, दालमोठ, चकलेट) ट्रान्सफ्याट हुन्छ ।

कार्बोहाइड्रेट

दिगो ऊर्जाको लागि होल ग्रेन, फलफूल र तरकारी जस्ता कार्बोहाइड्रेट पाइने खानेकुरामा जोड दिनुपर्छ ।

तरल पदार्थ

शरीरलाई उचित मात्रामा पानी चाहिन्छ । तर केही जन्मजात मुटुरोगका बिरामीलाई तरल पदार्थ नपुग्न सक्छ । निलो हुने मुटुरोगमा पर्याप्त मात्रामा पानी तथा झोलिलो पदार्थ खानुपर्छ । सबैभन्दा बढी ज्वरो आएको, पखाला लागेको र धेरै गर्मीको मौसममा पर्छ ।

सोडियम (नुन) नियन्त्रण

जन्मजात मुटुरोग भएका व्यक्तिमा नुनको मात्रामा पनि ध्यान दिनुपर्छ । यस्ता व्यक्तिले नुन धेरै खाएमा शरीरमा पानीको मात्रा उच्च हुने र यसले मुटुमा हानि गर्न सक्छ । त्यसका लागि प्रशोधित खानेकुरा कम गर्नुपर्छ, साथै खानामा अत्यधिक मात्रामा नुनको प्रयोग गर्नुहुँदैन ।

सूक्ष्म पोषक तत्व

समग्र स्वास्थ्य र शारीरिक विकासका लागि क्याल्सियम, भिटामिन डी, आइरन जस्ता भिटामिन र खनिजको पर्याप्त प्रयोग गर्नुपर्छ ।

कुपोषणका लक्षणहरू समयमै पत्ता लगाएर त्यसको उपचार गर्न सकेमा कुपोषणबाट हुने दीर्घकालीन हानि नोक्सानीबाट शिशुलाई जोगाउन सकिन्छ ।

कुपोषण जन्मजात मुटुरोग बालबालिका
डा. देवकी खड्का
लेखक
डा. देवकी खड्का
बाल तथा मुटुरोग विशेषज्ञ

डा. खड्का हाल काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल अस्पतालको पेडियाट्रिक कार्डियोलोजी विभागमा मेडिकल अधिकृतको पदमा कार्यरत छिन् । उनले पेडियाट्रिक (बालरोग) विषयमा एमडी गरेकी छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १६१२३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय