+
+

न्यायका लागि १७ दिन हिंडेका भुईंमान्छेहरु

सुवास पण्डित सुवास पण्डित
२०८० फागुन ५ गते २०:२०
फुलकुमारी सुनार (बायाँ), लक्ष्मी शाह (बच्चासँग) र फुलकुमारी र सुहान शर्माका सुन्निएका खुट्टा ।

५ फागुन, चितवन । खुट्टा सुन्निएका छन् । कति फोकामा पानी भरिएका छन्, कति फुटिसके । फुटेका फोका चहर्‍याएर खपिनसक्नु हुन्छ । दुखाइ कम गर्न ब्रुफिन खान्छिन् उनी । शुक्रबार बिहान पारिलो घाम लागेपछि फूलकुमारी सुनार नारायणी नदी किनारमा सुन्निएका खुट्टा सेकाइरहेकी थिइन् ।

सुर्खेतबाट सयौं किलोमिटर हिंडेर चितवन आइपुगेकी मिटरब्याज पीडित सुनारलाई जसरी पनि काठमाडौं पुग्नुछ, साहुले दिएको हैरानी र कष्ट सिंहरदरबारलाई सुनाउनु छ ।

सुनारका अनुसार उनले ४ लाख ऋण लिएकी थिइन् र तर २० लाख बढी बुझाउँदा पनि मुक्ति पाइनन् । अझै साहु आउँछ, धम्काउँछ । मुद्दा मामिला लगाएर दुःख दिन्छ । त्यसैले घरमा ६५ वर्षीय बिरामी श्रीमानलाई छाडेर आफ्नो दुःख सुनाउन न्याय मार्चमा हिँडेकी छन् ।

सुनार जस्तै झण्डै ६०० मिटरब्याज पीडितहरु, जसमा धेरै महिला छन्, सयौं किलोमिटर हिँडेर चितवन आइपुगेका छन् । पश्चिमको गड्डाचौकी र पूर्वको मेचीपुलबाट एकसाथ १६ माघमा न्याय मार्च सुरु भएको थियो, जसको भेट चितवन भयो ।

कैलालीको टीकापुरकी लक्ष्मी साह काखमा बच्चा च्यापेरै काठमाडौं जान हिँडेकी छन् । एक्लै ज्यान लौरीको साहारामा हिंड्न त मुस्किल भएको बेला बच्चा काखमा लिएर हिंड्दा उनलाई निकै गाह्रो भएको छ ।

श्रीमान् कोरोना लागेर बिते, बच्चा घरमा छाडेर हिंड्ने मान्छे नभएकाले साथमा लिएर आइन् । ‘आफनो र बच्चाको लुगाफाटो समेत गरेर झोला पनि ठूलै छ,’ लक्ष्मी भन्छिन्, ‘आफू त भोक खपेर पनि बस्नसक्छु, तर बच्चालाई के खुवाउने ?’

उनका अनुसार ऋण लिएको रकमको ५ गुणा रकम बुझाउँदा पनि साहुले छाडेनन् । श्रीमान् बितेपछि एक्लो भइन्, जग्गा साहुले खाइदिए । प्रहरीमा उजुरी गर्नुका साथै अदालतमा मुद्दा हाले, मुद्दा पनि हराएदिए । ‘हामी जस्ता निर्धाको बोलिदिने कोही हुँदो रहेनछ । सबै शक्ति कै पछाडि लाग्ने रहेछन्’ उनले दुःख पोखिन्, ‘भएको जग्गा नै हड्पेर खायो । बच्चा लिएर म कहाँ जाने ?’

१७ दिन अगाडि मेचीपुलबाट हिंडेकी सिराहाकी मन्जु सदाको पनि देब्रे खुट्टो टेक्नै नमिल्ने गरी सुन्निएको छ । एक सरो कपडामा काठमाडौं हिडेकी सदाको खुट्टामा फोकाहरु पनि छन् ।

मञ्जु सदा ।

खुट्टाबाट रगत नै बगेपनि हिड्न नछाड्ने उनको अठोट छ । मिटरब्याज पीडित संर्घष समितिले उठाएका ६ बुँदे माग आफूलाई चित्त बुझेकाल ‘न्याय मार्चमा सहभागी भएको उनले सुनाइन् ।

बाराका सुहन शर्माको पनि अवस्था उस्तै छ । लगातार १७ दिन हिंड्दा धेरै गाह्रो भएको उनले सुनाइन् । तर घिस्रिएर भने पनि काठमाडौं पुग्ने र न्यायको आवाज उठाउने उनको अठोट छ । ‘शारीरिक पीडा छ कम होला, सन्चो पनि होला, तर गाउँमा साहुले टिक्नै नदिएको पीडा कहिले समाधान हुन्छ ?’ शर्मा प्रश्न गरिन् ।

१७ दिन लामो यात्राका क्रममा कतिपय ठाँउमा निकै नराम्रो व्यवहार भएको उनले सुनाएन् । मंगलबार साँझ पूर्वबाट आएको टोलीमाथि मकवानपुरको मनहरीमा आक्रमण भएको थियो । स्थानीयले रड, बियरका बोत्तल, ढुंगाले आक्रमण गर्दा १६ जना मिटरब्याज पीडितहरू घाइते भएर उपचाररत छन् ।

तर अरुले यात्रा रोकेका छैनन् । करिब ७ सयको संख्यामा रहेका पीडितहरु शुक्रबार चिववनमै बसे । भोलि शनिबार त्यहाँबाट हिड्नेछन् । धादिङ्ग, तनहुँ लगायतका जिल्लाबाट थपिएर काठमाडौं पुग्ने मटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता प्रवक्ता निर्घ नवीनले जानकारी दिए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?