+
+

‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो

रासस रासस
२०८० फागुन ६ गते १३:३२

६ फागुन, म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर-काफलचौर-सल्यान-भर्जुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ ।

यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ । विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि स्तरोन्नति हुन थालेको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताए ।

‘चन्दा र तत्कालीन गाविस-जिविसको बजेट परिचालन गरेर मार्गमात्र खोलिएको सडक साँघुरो, ग्रेड र घुम्ती नमिलेका कारण दुर्घटनाको जोखिम थियो’, उनले भने, ‘सडक स्तरोन्नति भएपछि यात्रा अवधि छोटिने, सुरक्षित र सहजरूपमा आवतजावत गर्न सकिनुका साथै गाडी र ढुवानी भाडा घट्ने अपेक्षा गरेका छौँ ।’

सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा गण्डकी प्रदेश सरकारले रु ६० लाख र मङ्गला गाउँपालिकाले रु ४० लाख विनियोजन गरेका छन् ।

गत पुस ५ गते रु ७१ लाख ४० हजार पाँच सय ७६ मा ठेक्का सम्झौता गरेको जयदुप्चे निर्माण सेवाले सडक निर्माणलाई तीव्रता दिएको मङ्गला गाउँपालिकाका सबइन्जिनियर तथा पूर्वाधार शाखा प्रमुख रुपेन्द्र अधिकारीले बताए ।

‘काफलचौर-सल्यान खण्डको अप्ठ्यारो सडक विस्तार, ग्रेड र घुम्ती सुधार गरी नाली, पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘छ मिटर चौडाइका दरले दुई सय ५० मिटर लम्बाइमा सडक ढलान गर्ने तयारी भएको छ ।’ ढलानका लागि शुक्रबारदेखि सो सडकमा सवारीसाधन आवतजावत बन्द गरिएको छ ।

आगामी असार १० गतेसम्मको ठेक्का अवधि भए पनि लक्ष्यभन्दा तीन महिना अगाडि नै फागुन महिनाभित्र सम्पन्न गर्ने तयारीसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको दुप्चेश्वर निर्माण सेवाका सुपरभाइजर श्यामहरि पण्डितले बताए ।

यस सडक काफलचौर, सल्यान, भरजुला, थाइवाङ, भाइवाङ र हिदीका करिब एक हजार घरधुरीले प्रयोग गर्छन् ।

सडकको प्रवेशविन्दुमा पर्ने काफलचौर क्षेत्रमा गत वर्ष रु ५० लाख बजेटमा उपभोक्ता समितिमार्फत एक सय ७८ मिटर ढलान भएको मङ्गला गाउँपालिका-२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए ।

सडकको भरजुला-थाइवाङ खण्डमा गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत रु ३० लाख बजेटबाट ढलानसहितको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया अघि बढेको छ ।

गाउँपालिकाले ठेक्का लगाउँदा बचेको रु नौ लाख बजेट काफलचौर-सल्यान खण्डको स्तरोन्नतिका लागि विनियोजन गरेको छ । यो मङ्गला गाउँपालिकाको केन्द्रबाट बस्ती जोड्ने प्राथमिकताप्राप्त आयोजना भएको वडाध्यक्ष खाती क्षेत्रीले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?