+
+

सारंगीमा हिपहपको धुन सिर्जना गर्दै नेपाली र अमेरिकी कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते २०:०८

काठमाडौं । नेपाली बाजा सारंगी, मादल, धिमे र बाँसुरीलाई हिपहपसँग मिश्रण गरे कस्तो संगीत सुनिएला ? पूर्वीय र पश्चिमा संगीतको यो फ्युजनमा सिर्जिएको संगीतको मिठास आइतबार सुनियो ।

अमेरिकी र नेपाली कलाकारले पृथ्वीका दुई भूगोलको सांगीतिक स्वादलाई भिन्न शैलीमा बुन्ने प्रयत्न गरे । ‘सांस्कृतिक दूत’को रुपमा काठमाडौं आइपुगेका अमेरिकी कलाकार माजी मुताफा, सब्सटेन्सियल र डिजे फ्लेगले नेपाली बाजा र तिनका धुन सुने । नेपाली परम्परागत बाजाको रागलाई उनीहरुले र्‍याप र डिजेइङमा पस्किए ।

हाँडीगाउँको संगीत पाठशालामा नेपाली लोक सांगीतिक समूह ‘फ्युजन जात्रा’ र अमेरिकी कलाकारले सारंगीमा हिपहपको धुन सिर्जना गरे । अमेरिकी दूतावास र नेपाल हिपहप फाउण्डेसनको सहकार्यमा ‘नेपाल आर्ट्स इन्भोय हिपहप प्रोग्राम २०२४’ अन्तर्गत यस्तो कार्यशाला आयोजना गरिएको थियो ।

नेपाली लोक बाद्यबादक र अमेरिकी कलाकारबीच संस्कृतिक आदानप्रदान गर्न कार्यशाला आयोजना गरिएको दूतावासले जनाएको छ । ‘नेपालको मौलिक सांगीतिक बाजा सारंगी र कलाकारलाई हिपहप संगीत र यसको तत्वसँग चिनारी गराउन कार्यशाला महत्वपूर्ण हुनेछ’ दूतावासद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

सारंगीको मेलोडीलाई हिपहपसँग मिश्रण गरेर भविष्यमा सांगीतिक सहकार्यको बाटो खुल्ने आशा पनि दूतावासले लिएको छ ।

वासिङ्टनस्थित गैरनाफामूलक हिपहप संस्था वर्ड्स बिट्स एण्ड लाइफका चारजना अमेरिकी कलाकार यतिबेला नेपालमा छन् । डान्सर तथा पर्फमर सान्ना लिमले नेपाली तन्नेरीको नृत्य कलालाई तिखार्ने सीप सिकाइरहेकी छन् । उनीहरुले रचनात्मक लेखन, नृत्य, संगीत निर्माण र डिजेइङमा मास्टर क्लास पनि संचालन गरिरहेका छन् ।

रचनात्मक अभिव्यक्तिका विभिन्न स्वरुपमार्फत कथा वाचनको कला सुधार्न मद्दत मिल्ने उद्देश्यले आयोजना गरिएका यी सत्रमा ७० भन्दा बढी युवा कलाकारले भाग लिएको दूतावासले जनाएको छ । सो अवसरमा अमेरिकी कलाकारले रचनात्मक क्षेत्रमा करिअर निर्माण गर्न र हिपहपलाई उद्यमशिलताको माध्यमको रुपमा विकास गर्न सुझाव समेत दिएका थिए ।

‘आर्ट्स इन्भोय २०२४ : खुलौं बोलौं’ थिमसहित आयोजना गरिएको यी कार्यक्रमले दुई मुलुकबीच सांस्कृतिक अनुभव आदानप्रदान र घनिष्टता वृद्धिमा मद्दत पुग्ने आशा लिएको दूतावासले उल्लेख गरेको छ । ‘दूतावास अमेरिकी र नेपाली सहभागिको रचनात्मक स्वतन्त्रतालाई समर्थन गर्दै नेपाली नागरिकको सामाजिक र आर्थिक सचेतना वृद्धिमा प्रोत्साहन गर्न चाहन्छ’ विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले काठमाडौंसहित पूर्वी सहर बिराटनगरमा समेत यस्तै कार्यशाला आयोजना गर्दैछ । आगामी शनिबार काठमाडौंमा कन्सर्ट र हिपहप स्ट्रिट फेस्टिभल आयोजना गरिएको छ भने, बुधबार बिराटनगरमा पनि यस्तै कार्यक्रम आयोजना गरिएको छ । अमेरिकी दूतावास र नेपाल हिपहप फाउण्डेसनले यसअघि पनि संगीत र नृत्य सम्बन्धी रचनात्मक कार्यक्रम आयोजना गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?