+
+
मतदाताप्रति के हो सांसदको भूमिका ? :

‘राजनीतिमा महिला नआउनु आर्थिक पाटो मात्रै होइन, सामाजिक लाञ्छना पनि हो’

विद्या भट्टराई विद्या भट्टराई
२०८० फागुन ७ गते १८:२१

निर्वाचन भन्नेबित्तिकै अहिले ‘अर्थ’सँग बढी जोडिन्छ । निर्वाचन अनि खर्च र लगानी भन्ने यो भाष्य एकढंगले स्थापित भइसक्यो । म दुई पटक निर्वाचन लडें । पहिलो जुन अवस्थामा (बहालवाला तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेली दुर्घटनामा निधन भएपछि उनको ठाउँमा भएको उपनिर्वाचनमा भट्टराई उम्मेदवार बनेकी थिइन्) म चुनाव लडें, त्यो बेला कसैले मसँग आशै (अर्थको) गर्नुभएन ।

मप्रति सद्भाव थियो । निर्वाचन जित्नुपर्छ भन्ने थियो । त्यहाँ कहीं पनि पैसा महत्वपूर्ण भएन । दोस्रो पटक निर्वाचन लड्दा ‘विद्या विश्वविद्यालय छोडेर आएको छ, उसले जित्नुपर्छ’ भन्ने सद्भाव नै थियो । त्यसकारण पनि पैसा महत्वपूर्ण भएन । मैले दुवै निर्वाचनमा व्यक्तिगत खर्च गर्नुपरेन । सबै खर्च पार्टीले नै गरिदिएको हो ।

तर, यो मेरा सन्दर्भमा मात्रै होइन । निर्वाचनभन्दा पनि आकांक्षा नै यस्तो हुन्छ कि त्यहाँ लड्ने व्यक्ति आर्थिक हिसाबले सक्षम, सशक्त हुनुपर्छ अनि मात्रै निर्वाचन जित्छ भन्ने मनस्थिति आम रूपमा छ ।

यो मनस्थितिले हामीलाई यस्तो बनायो, जोसँग आर्थिक सम्पन्नता छैन, त्यो संसद्को निर्वाचनमा मात्रै होइन, जुनसुकै निर्वाचनमा पनि आफूलाई अयोग्य मान्ने अवस्था भइसक्यो । यो अवस्था अब बदल्नुपर्छ ।

राजनीतिमा योगदानको कुरा गरिरहने, राजनीति त्याग पनि हो भन्ने यो भाष्यलाई बदल्न सक्नुपर्छ । होइन भने त्याग र निष्ठासँग निर्वाचन कम जोडिन्छ ।

अर्को मैले महसुस गरेको कुरा निर्वाचन मात्रै होइन, जितिसकेपछि पनि एउटा सांसदले के गर्ने, के नगर्ने ? सांसदले कति कुरा गर्ने, कति नगर्ने ? निर्वाचित प्रतिनिधिले पाँच वर्षसम्म उसले जिम्मेवारी लिइरहँदा स्रोत र साधनसँग उसको नजिकपन कतिसम्म रहने भन्ने कुरामा हामीले छलफल गर्नुपर्छ ।

जनप्रतिनिधिको कार्यकालभरि उसलाई जिम्मा दिइएको कुरा के–के हो ? आर्थिक हिसाबले उसले समाजसँग, जनतासँग, आफ्ना मतदातासँग कसरी काम गर्ने ? खर्च गर्ने कुरामा आफूलाई कसरी पारदर्शी बनाउने भन्ने कुरामा छलफल हुनुपर्छ ।

अर्को भनेको मतदाताको आशालाई पनि कसरी निर्माण गर्ने भन्नेमा अब छलफल हुनुपर्छ । कतै विपद् भइहाल्यो भने ‘माननीयज्यू तपाईंले के गर्नुहुन्छ ? कसरी सहयोग गर्नुहुन्छ ?’ भन्दा मैले न्यूनतम पैसा दिन सकुँला, व्यक्तिगत रूपमा तयार हुँला । त्यसको पनि स्रोत हुनुपर्‍यो ।

तर, व्यक्तिगत रूपमा तयार हुँदा पनि त्यसको सीमा हुनुपर्छ । त्यो सीमालाई हामी जब पार गर्छौं, त्यसपछि उसलाई कहाँबाट सहयोग भएको छ वा हुनसक्छ भन्ने खोजी हुन्छ । कहींबाट सहयोग नभई त उसले पनि सहयोग गर्न सकेको हुँदैन ।

त्यही भएर पनि जनप्रतिनिधिसँग अपेक्षा कति राख्ने, कहाँसम्म राख्ने ? उसको उत्तरदायित्व के हो ? भन्नेबारे पनि अब हामीले छलफल गर्नुपर्छ । अब निर्वाचनको खर्च मात्रै होइन, निर्वाचन जितिसके पछाडि पनि जनप्रतिनिधिले गर्नुपर्ने खर्च, योगदान, सहयोगलाई पनि अब परिभाषित गर्दै लैजानुपर्छ ।

‘राजनीतिमा प्रश्नभन्दा पनि व्यक्तिगत पहुँचमा आधारित हुन थाल्यो’

राजनीतिको लामो समयसम्म आन्दोलनलाई मात्रै हामीले राजनीति हो भन्ने मान्यौं । त्यो भाष्यबाट राजनीतिबाट राज्य सत्ताको नेतृत्व गर्न सकिन्छ भन्ने ठाउँमा आइपुगेका छौं । आन्दोलनमा नेताप्रति एउटा समर्पण हुन्छ । समर्पण पार्टीभित्र मात्रै हुँदैन, नेताप्रति कार्यकर्ताले पनि देखाउँछन् । त्यो आन्दोलनको बेला हुन्छ ।

तर, अहिले त्यो आन्दोलनको अवस्थाबाट निर्वाचन र शक्ति आर्जनको ठाउँसम्म आइपुगेका छौं । यो अवस्थामा संख्याले पनि फरक पार्छ । महिलाहरू आज दाबा गर्ने ठाउँमा आइपुगेका छन् । अब माग मात्रै होइन, दाबी गर्न सक्नुपर्छ । तर हामीले माग, दाबी गर्ने कुरा पार्टीभित्रै पाउँछौं कि पाउँदैनौं भन्नेले पनि फरक पार्छ । त्यसको सुरुआत त हाम्रो घरदेखि नै हुने होला नि !

आजको पुस्तालाई पनि धैर्य भनेकै महिलाको हो भन्ने सिकाइएको छ । धैर्य महिलाको परिचय हो भन्ने सिकाइयो । धैर्य देखाउँदा महिलाको ‘क्यारेक्टर’ प्रदर्शन हुन्छ भन्ने बनाइयो ।

हिजो हामी राजनीतिमा लागिरहँदा राजनीति त्यस्तो अस्त्र हो, जसले हरेक कुरालाई प्रश्न गर्न सक्नुपर्छ भनेर बुझेका थियौं । प्रश्न गर्न सक्ने मान्छे मात्रै नेता बन्न सक्छ भन्ने संस्कृति निर्माण गरेर आएका थियौं ।

तर, बीचमा प्रश्नभन्दा पनि पहुँच निर्माणका लागि, सम्बन्ध विकासका लागि मात्रै गर्‍यौं । कसरी गयौं भने पार्टीभित्र सम्बन्ध विकास गर्न सकिन्छ, पहुँच पुर्‍याउन सकिन्छ भन्ने कुरालाई मात्रै ध्यान दिन थाल्यौं । अब यो विषयमा पनि छलफल हुुनुपर्छ ।

महिलाहरू अहिले पनि सँगै बस्ने, छलफल गर्ने कुरा पनि धेरै कम हुन्छ । जतिबेला महिलाहरू एकठाउँमा जम्मा हुन्छन्– छलफल गर्छन्, निष्कर्ष निकाल्छन्, त्यसले परिणाम आएकै छ ।

‘समाज फेरियो, राजनीतिक दलको सोचाइ फेरिएन’

हिजो समाजमै पनि महिलाहरू राजनीतिमा आउनुपर्छ भन्ने सोचाइ कम थियो । समाजले पनि प्रेरणा दिन दिंदैनथ्यो । महिलालाई प्राइभेट स्पेयरमै हेर्न चाहन्थ्यो । आज फरक देख्छु– समाजले अगाडि बढ भनिरहेको छ । राजनीतिक दलले भने उनी प्राइभेट स्पेयरकै नजरले हेरिरहेको छ ।

महिलालाई प्राइभेट ढंगले हेर्नुपर्छ, परिवारकै संरक्षक हो, उसले परिवारलाई नै माया गर्नुपर्छ भन्ने कन्सेप्ट राजनीतिभित्र अहिले पनि हावी छ । हिजो समाजमा रहेको त्यो अवधारणाले आज राजनीतिक दलहरू ग्रसित छन् ।

नेतृत्व तह, निर्णायक तहमा महिला थोरै छन् भन्ने एउटा तर्क रहला । तर, राजनीतिलाई समावेशी लोकतन्त्रको कुरा गर्छौं भने पुरुष नेतृत्वले पनि सोच्नुपर्ने होला नि ? समावेशी गणतन्त्र, लोकतन्त्रको कुरा गर्छौं भने महिला त्यहाँ पुग्दा त्यसले ल्याउने परिवर्तन एउटा हुने नै भयो ।

तर, आज महिलालाई निर्णायक ठाउँमा पुर्‍याउनुपर्छ भन्ने ठाउँमा एकमत हुनसकेका छैनौं । महिलाहरू आफैं पनि यो महिलालाई त्यहाँ पुर्‍याउँदा मेरो पनि प्रतिनिधित्व हुन्छ भन्ने ठाउँमा जब पुग्दैनन्, एकले अर्कालाई सपोर्ट गर्दैनन् यो मुद्दा कमजोर नै हुन्छ ।

‘महिला राजनीतिमा नआउनु पैसा मात्रै होइन, सामाजिक लाञ्छना कारक’

प्रत्यक्ष निर्वाचन भनेको प्रतिस्पर्धामा आधारित निर्वाचन हो । म जित्न सक्छु भनेर जसले दाबा गरेर अगाडि गयो, नेताहरू कन्भिन्स हुँदा पाउने स्थिति छ । होइन भने महिलालाई यति प्रतिशत दिनैपर्छ भन्ने एउटा बाध्यकारी ढंगले पार्टीभित्र पनि निर्वाचनको एउटा ऐन बनाउँदैनौं । त्यतिबेलासम्म उहाँहरू बाध्य हुनुहुन्न ।

पहिले पनि हामीले कानुन परिवर्तन गरिएकै हो नि ! ३३ प्रतिशत महिला आउनुपर्छ भनिसकेपछि बाध्य भएर समानुपातिकबाट पनि संख्या पुर्‍याउनुपर्ने भयो । पार्टीभित्र पनि केन्द्रीय कमिटीहरूमा ३३ प्रतिशत सदस्य महिला आए ।

अब त्यस्तै गरी हामीले पदाधिकारी वा अन्य कमिटीहरू पनि ३३ प्रतिशत मात्रै होइन, महिलाको समावेशी, समानुपातिक सहभागिता गर्नुपर्छ भन्ने वैधानिक रूपमै, कानुनी हिसाबमै प्रबन्ध गरेर लैजान सक्दैनौं तबसम्म पार्टीमा यो लागू हुँदैन । यो महिलाको संख्या वृद्धि हुँदैमा मात्र बदलिन्छ भन्ने ठान्दिनँ ।

हामी कुनै पनि नेतालाई, राजनीतिलाई हेर्दा भ्रष्टाचारको आँखाबाट मात्रै नहेरौं, त्यहाँभित्र राम्रा मान्छे पनि छन् भन्ने कोणबाट हेर्न सक्नुपर्छ । जसले गर्दा राजनीतिमा राम्रा मान्छे राजनीतिमा आउने बाटो हुन्छ ।

महिलाहरू राजनीतिमा नआउनू एउटा कारण होला ! अर्को कारण लाञ्छना पनि हो । आज महिलाले राजनीतिमा जुन लाञ्छना खेप्नु परिरहेको छ, त्यो लाञ्छना अरू जुनसुकै क्षेत्रमा पनि यति धेरै खेप्नुपर्दैन । पैसा एउटा कुरा मात्रै हो, सामाजिक लाञ्छना अर्को पाटो हो । यो सामाजिक लाञ्छना हामी सामाजिक सञ्जालहरूमा प्रष्ट देख्न सक्छौं । त्यो लाञ्छना खेप्न सक्ने महिला मात्रै राजनीतिमा आउन सक्छ भन्ने बोध गर्न जरूरी छ ।

पोखरामा जारी ११औं नेपाल लिटरेचर फेस्टिभलमा ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक सत्रमा भट्टराईले राखेको विचारको सम्पादित अंश ।

प्रस्तुतिः विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?