+
+

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले गरे पदभार ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १७:४५

८ फागुन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नवनियुक्त अध्यक्ष भण्डारीलाई मंगलवार मन्त्रालयमै शपथ ग्रहण गराएकी छिन् ।

गत ६ फागुनको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनी यसअघि मन्त्री शर्माको दूरसञ्चार तथा सूचना प्रविधि सल्लाहकार थिए । तत्कालीन मेरो मोबाइल (हालको एनसेल) बाट दूरसञ्चार सेवामा प्रवेश गरेका भण्डारीले विभिन्न देशमा मोबाइल सेवा प्रदायक कम्पनीका काम गरेका थिए ।

गत असारदेखि मन्त्रीको सल्लाहकार भएर सिंहदरबार छिरेका भण्डारीले नियामक निकाय दूरसञ्चार प्राधिकरणको अध्यक्षको शपथग्रहण गर्नासाथै जमलस्थित कार्यालयमा पुगेर पदभार पनि ग्रहण गरे ।

शपथ गराउँदै मन्त्री शर्माले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्न अध्यक्ष भण्डारीलाई निर्देशन दिइन् । अत्यन्त संवेदनशील क्षेत्रको रुपमा रहेको दूरसञ्चार क्षेत्रलाई गुणस्तरीय, सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिंदै उनले त्यसका लागि योजनाबद्ध पहल आवश्यक रहेको बताइन् ।

मुलुकको आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य रहेको र त्यसका लागि दूरसञ्चार आधारभूत डिजिटल पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री शर्माले चाँडोभन्दा चाँडो देशका सबै भूभागमा दूरसञ्चार सेवा पु¥याउने गरी काम गर्न सुझाव दिइन् ।

सुशासनलाई ध्यान दिन पनि आग्रह गर्दै उनले उपकरण तथा प्रणालीको खरिद र जडान प्रक्रियामा अन्य क्षेत्रबाट बढी अनियमिताको गुनासो आउने गरेकाले आगामी दिनमा त्यस्तो स्थिति आउन नदिन प्राधिकरणले विशेष ध्यान दिनुपर्ने बताइन् ।

नवनियुक्त अध्यक्ष भण्डारीले दूरसञ्चार क्षेत्रको बदलिंदो आयामका आधारमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा योगदान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?