+
+

आज देशभर बदली, काठमाडौंमा पानी पर्ला ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते ८:३९

९ फागुन, काठमाडौं । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभर बादल लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान पोखरा र विराटनगरमा फाट्टफुट्ट वर्षा  भएको सूचना आएको महाशाखाका मौसमविद सन्जिव अधिकारीले जानकारी दिए । यद्यपि वर्षाको मात्राको आधिकारिक तथ्यांक भने केही घण्टापछि आउने उनले बताए ।

उनका अनुसार बुधबार काठमाडौं उपत्यकामा पनि फाट्टफुट्ट वर्षाको सम्भावना छ । तर आजभन्दा भोलि वर्षाको झन् धेरै सम्भावना रहेको उनले बताए । ‘आज (बुधबार) तराई-पहाड सबैतिर देशभर नै बादल लागेको छ,’ मौसमविद अधिकारीले अनलाइनखबरसँग भने, ‘काठमाडौं उपत्यकाका एक-दुई ठाउँमा फाट्टफुट्ट वर्षाको सम्भावना पनि छ । तर आजभन्दा भोलि (बिहीबार) झन् धेरै वर्षाको चान्स देखिन्छ ।’

बिहीबार तराई मधेशका जिल्ला र कोशीसहितका अरु पहाडी भूभागहरुमा पनि वर्षाको सम्भावना रहेको मौसमविद अधिकारीले बताए । एक-दुई ठाउँमा मेघ गर्जन पनि हुनसक्ने उनले बताए ।

अहिले नेपालमा पश्चिमी वायुको प्रभाव छ । पश्चिमी वायु नेपालको पश्चिम भूभागबाट प्रवेश गरी पूर्वतिर सर्ने क्रममा छ । यसको प्रभावले अघिल्ला दिनहरुमा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही भूभागमा वर्षा भएको थियो । उच्च पहाडी भेगका केही ठाउँमा हल्का हिमपात पनि भएको थियो ।

विगत चौबिस घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही भूभागमा र बागमती प्रदेशका थोरै भूभागमा वर्षा भएको मौसम पूर्वानुमान महाशााले जनाएको छ ।

महाशाखाका मौसमविद अधिकारीका अनुसार विगत चौबिस घण्टामा गोरखामा १३.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी कालिकोटको विजयपुर रास्कोटमा ७ मिलिमिटर, डडेलधुरा ५.६ मिलिमिटर र अछाममा ४.८ मिलिमिटर वर्षा भएको उनले जानकारी दिए ।

उनले भने, ‘पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाटै नेपाल प्रवेश गर्ने हो । कर्लीणाली र सुदूरपश्चिमका एक-दुई ठाउँमा मध्यम वर्षा पनि भएको छ । सुदूरपश्चिमका तराई भूभागमा फाट्टफुट्ट वर्षा भएको छ । अरुतिर खासै धेरै देखिएको छैन । आज र भोलि चाहिँ काठमाडौं उपत्यकासहित तराई मधेशमा पनि वर्षा हुने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?