+
+

१३ बुँदे घोषणापत्र जारी गर्दै चलचित्र पत्रकार संघको राष्ट्रिय भेला सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघको राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला हेटौंडामा सम्पन्न भएको छ । भेलाले १३ बुँदे हेटौंडा घोषणापत्र जारी गरेको छ ।

भेला समापन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले चलचित्र क्षेत्रको विकासमा काम गर्न प्रदेश सरकारले रणनीति बनाइरहेको बताए । चलचित्रले समाजको अवस्था झल्काउने भन्दै उनले गरिखाने वर्गको पक्षमा भूमिका खेलेको धारणा राखे ।

दोलखाको डाङ्डुङे डाँडालाई फिल्म सिटी बनाउन बजेट विनियोजन गरेपनि त्यो हुन नसकेको मुख्यमन्त्री कट्टेलले बताए । अहिले दोलखाको डाङ्डुङे डाँडा, मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर र धादिङको रुविभ्याली गाउँपालिकालाई फिल्म सिटी बनाउन प्रयास भइरहेको उनले बताए ।

प्रदेश सरकारले चलचित्र ऐन बनाउन गृहकार्य गरिरहेको र हिउँदे अधिवेशनमा पारित गरी ऐनको रुपमा जारी गर्ने उनले बताए । मिडिया क्षेत्रसँग सम्बन्धित प्रस्ताव राष्ट्रिय समन्वय परिषद् बैठकमा पेश गरिएको र पत्रकारलाई सामाजिक सुरक्षा कोषमा सहभागि गराउने प्रक्रिया अघि बढाइएको पनि मुख्यमन्त्रीले जनाए ।

बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको व्यवस्थापनका लागि कानुन निर्माण कार्य अघि बढाएको बताए । उनले लघु फिल्म निर्माणका लागि कार्यविधि बनेको भन्दै पटकथा लेखन तालिम सञ्चालन हुने बताए ।

भेलामा चलचित्र ऐन, पत्रकार आचारसंहिता, पर्यटन प्रवर्द्धन लगायत विषयमा छलफल भएका थिए । चलचित्र संवाद, अन्तरक्रिया, कार्यशाला लगायतका कार्यक्रम पनि भएका थिए ।

चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले चलचित्र क्षेत्रको विकास नभए चलचित्रकर्मी र पत्रकार दुवैको अस्तित्व खतरामा पर्ने बताए । त्यसकारण सबैले मिलेर यस क्षेत्रको विकासमा लाग्नुपर्नेमा उनले जोड दिए ।

यस्तो छ १३ बुँदे घोषणा

१. भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माण गरी हेटौंडासहित समग्र मकवानपुरलाई फिल्म हबको रुपमा विकास गर्न चलचित्र पत्रकार संघ नेपाल सम्बन्धित सरोकारवाला निकायसँग माग गर्दछ ।

२. केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले स्थानीय पर्यटकीय ठाउँको पर्यटन प्रवर्द्धनका लागि सिनेमा पर्यटनलाई जोड दिंदै विभिन्न कार्यक्रम तय गर्न तीनै तहको सरकारसँग यो भेला माग गर्दछ ।

३. हेटौंडाको आसपासका क्षेत्र र मकवनपुरको चित्लाङ, कुलेखानी, दामन, थाहा, मकवानपुरगढी लगायतका ठाउँमा सिनेमा पर्यटनलाई जोड दिई आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहका दुवै सरकारसँग यो भेला माग गर्दछ ।

 ४. नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न र नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ति तथा सस्थाहरुसँग सहकार्य समन्वय गरी प्रोत्साहन र प्रवर्द्धन गर्न यो भेला सम्बन्धित पक्षसँग माग गर्दछ ।

५. विधागत पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना बनाउन सम्बन्धित निकायसँग यो भेला माग गर्दछ ।

६. अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो भेला माग गर्दछ ।

७. स्वायत्त चलचित्र उद्योगका लागि समयानुकूल र नेपाली चलचित्रको विकासका लागि प्रभावकारी रुपमा चलचित्र ऐन यथाशक्य संशोधन गर्न यो भेला माग गर्दछ ।

८. नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रमहरु तय गर्न यो भेला तीनै तहका सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

९. कला, संस्कृति र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरुमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन तथा प्रवर्द्धन, प्रचारप्रसार गर्न यो भेला सम्बन्धित निकायसँग माग गर्दछ ।

१०. श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।

११. सरकारले पत्रकारसम्बद्ध संघ-संस्थालाई दिइँदै आएको सहुलियत अनुदान रकम निकै न्यून छ । चलचित्र पत्रकार संघ नेपालले सो अनुदान समेत प्राप्त गर्न सकेको छैन । चलचित्र पत्रकार संघ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकम उपलब्ध गराउन केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारलाई यो भेला माग गर्दछ ।

१२. हेटौंडाको मकवानपुरगढी, शहीद स्मारक, कुष्माण्ड सरोवर त्रिवेणी धाम, वनस्खण्डी, भुटनदेवी मन्दिर, पाथीभरा, पुष्पलाल पार्क, चिप्लेटी गाउँ, हर्नामाडी मूर्तिपार्क लगायतका ठाउँहरुलाई प्रवर्द्धनका लागि सिनेमामार्फत प्रस्तुत गर्न र त्यसको लागि स्थानीय सरकारले समन्वय र सहुलियतको व्यवस्था गर्न यो भेला माग गर्दछ ।

१३. संघको प्रथम राष्ट्रिय भेला सम्पन्न गर्न सहयोग गर्नुहुने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सञ्चार रजिष्ट्रार कार्यालय, बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालय, चलचित्र विकास बोर्ड, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिभिजन, चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखा लगायत सम्पूर्ण संघ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?