+
+

अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा बरालको फोटोभिडियो प्रदर्शनी हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १३:१२

९ फागुन, पोखरा । अमेरिकामा मार्च १ देखि ३ गतेसम्म हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा पोखराका कृष्णमणि बराल सहभागी हुने भएका छन् । उनले त्यहाँ नेपालका लाटोकोसेरो तथा हुचिलसम्बन्धी डकुमेन्ट्री तथा फोटो प्रदर्शन गर्ने गरी छनोट भएका हुन् ।

नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर तयार पारिएको १० मिनेटको भिडियो र नेपालमा लाटोकोसेरो तथा हुचिलको उद्धार, उपचारका प्रयास, संरक्षण समस्या र चुनौतीबारे प्रदर्शन गर्ने बरालले बताए ।

‘सन् २०१९ मा पनि सहभागिताका लागि मलाई निम्तो थियो । तर, त्योबेला कोभिडले गर्दा जान पाइनँ’, बरालले भने, ‘यो वर्ष आएको निम्तामा डकुमेन्ट्री र फोटो पनि देखाउँछु भनेपछि आयोजकले स्वीकार्नुभयो ।’ उनले महोत्सवमा ३ प्रजातिको लाटोकोसेरोको ‘फोटो स्टोरी’ प्रदर्शन गर्ने जानकारी दिए ।

‘डकुमेन्ट्रीमा नेपालको तराईदेखि सगरमाथा फेदसम्मको जैविक विविधता, वन्यजन्तु तथा प्राकृतिक पक्ष पनि देखाउन कोसिस गरेको छु’, बरालले भने, ‘यसले नेपालमा विदेशी उद्धार सहयोग हुने र नेपालको पर्यटन प्रचारप्रसार पनि हुने विश्वास लिएको छु ।’

लामो समयदेखि गिद्ध संरक्षण अभियानमा लागेका बराल फोटो पत्रकारसमेत हुन् । उनले हालसम्म ३ दर्जनभन्दा बढी लाटोकोसेरो, हुचिल तथा गिद्धको उद्धार गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?