+
+

मापदण्ड विवादले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १४:१३

९ फागुन, काठमाडौं । मापदण्डमा विवाद भएपछि सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ । आवेदकहरुले उपकुलपतिको मापदण्ड कडा बनाएको गुनासो गरेपछि नियुक्ति प्रक्रिया स्थगित भएको उपकुलपति छनोट तथा सिफारिस समितिले जनाएको छ ।

‘आवेदकहरुले मापदण्ड कडाइ भयो भन्ने गुनासो आएपछि अहिले स्थगित गर्नुपर्छ भन्ने आएपछि बैठक बसेर निर्णय गरिएको हो,’ स्रोतले भन्यो । उनको भनाइ अनुसार कुलपति एवम् प्रधानमन्त्रीकै चहानामा छनोट प्रक्रिया स्थगित गरिएको हो ।

समितिले सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट मापदण्डमा अनुसन्धानलाई ३५ अंक छुट्याएको छ । अन्तर्वार्ता र विश्वविद्यालयको कार्ययोजना प्रस्तुतीलाई कम प्राथमिकता दिइएको छ ।

अब कार्यविधि संशोधन अथवा कसरी अगाडि बढ्ने भन्ने विषयमा समितिको बैठक बसेर निर्णय गर्ने तयारी भइरहेको छनोट तथा सिफारिस समितिका संयोजक तथा विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रा.डा.देवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘निर्णय गर्न अझै केही दिन लाग्छ । समितिको बैठक तथा छलफलपछि निर्णय गर्छौं ।’

यता त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि भने अनुसन्धानलाई ६ अंक र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि १६ अंक अनुसन्धानलाई छुट्याईएको थियो । त्यही मापदण्डलाई आधार मानेर आवेदकहरुले आपत्ति जनाइरहेको समितिले जनाएको छ ।

समितिले गत २६ माघमा सूचना निकालेर उपकुलपति पदमा दर्खास्त आह्वान गरेको थियो । १० दिनको समयावधि तोकेर आवेदन आह्वान गरेको समयावधि सकिने दिन नै अर्थात ६ फागुनमा समितिले अर्को सूचना निकाल्दै छनोट प्रकृया स्थगित भएको जनाएको थियो । उक्त अवधिमा १८ जना आवेदक (मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको लागि ९ जनाले र सुदूरपश्चिमका लागि ९ जनाले) आवेदन दिएको समितिले जनाएको छ ।

आगामी १८ फागुनमा सुदूरपश्चिम विश्वविद्यालयको र १७ फागुनमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिहरुको कार्यकाल सकिँदैछ ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी संयोजकत्वमा शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी र योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेश चन्द्र पौडेल सदस्य रहेको मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय छनोट तथा सिफारिस समिति बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?