+
+

दरबारमार्गमा स्नुकर स्टिक प्रहारबाट डान्सबार सञ्चालक घाइते, आरोपी एक लाख धरौटीमा छुटे

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १८:१३

१० फागुन, काठमाडौं । दरबारमार्गमा स्नुकरको स्टिकले हानेर डान्स बारका सञ्चालकलाई घाइते बनाएको आरोपमा पक्राउ परेका व्यक्ति एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

जमलको एन्टिक डान्सबारका सञ्चालक विजय लामालाई घाइते बनाएको आरोपमा पक्राउ परेका काभ्रेको चोरीदेउराली गाउँपालिका–३ घर भई भक्तपुर बस्दै आएका विशाल तामाङ धरौटी बुझाएर छुटेका हुन् ।

जिल्ला अदालत, काठमाडौंले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश दिएको थियो । धरौटी बुझाएपछि उनलाई थुनामुक्त गरिएको दरबारमार्ग प्रहरीका एक अधिकृतले अनलाइनखबरलाई बताए ।

के हो घटना ?

प्रहरी वृत्त, दरबारमार्गका अनुसार, १४ माघमा जमलस्थित एन्टिक डान्सबारमा कृष्ण रायमाझी, सरोज खड्का, विशाल तामाङ लगायत गएर मादक पदार्थ सेवन गरेर बसेका थिए । बिहान २ बजेतिर खड्का र तामाङ बारबाट निस्किएर गएका थिए ।

बिहान अन्दाजी ३ः३० बजेतिर बारका सञ्चालक विजय लामालाई आफन्त समेत पर्ने कृष्ण रायमाझीले फोन गरेर गाडी लिएर जान्छु भनेर तामाङले निहुँ खोजिरहेको भन्दै फोन गरेका थिए । विवाद भएको भन्दै आफूलाई दरबारमार्गस्थित उडल्याण्ड क्लबमा बोलाएको उनले भनेका छन् ।

‘म क्लबमा गएर तामाङलाई सम्झाइबुझाइ गर्न खोज्दा उनले उल्टै गालीगलौज गरेर स्नुकर स्टिक निकालेर मलाई हानेको थियो, त्यसपछि बेहोस भएको म होसमा आउँदा ट्रमा सेन्टरको बेडमा थिएँ’, पीडितले प्रहरीसँग भनेका छन्, ‘मेरो टाउकोमा चोट लागेका कारण ब्याण्डेज छ भने पछाडि ढाडको भागमा समेत चोट लागेकाले उपचार भइरहेको छ ।’

आरोपीले तामाङले प्रहरीसँग बयान दिँदै जाहेरवाला लामाले ‘तिमी ठूलो ठूलो कुरा गर्ने भनेर धकेले जस्तो लागेको’ भन्दै स्नुकर स्टिकले प्रहार गरेको स्वीकारेका छन् ।

‘त्यसपछि म नशाको तालमा भागेको थिएँ, पछि जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको थियो’, उनले भनेका छन् ।

उनले आफूहरुबीच स्नुकर खेल्दा चिनजान भएको समेत बताएका छन् । यो घटनामा सुरुमा तामाङविरुद्ध अभद्र व्यवहारको कसूरमा जाहेरी परेको थियो ।

पछि स्वास्थ्य परीक्षणपछि उनको गम्भीर चोट देखिएपछि ज्यान मार्ने उद्योगको कसूरमा मुद्दा लगिएको थियो ।

पीडित तामाङ ३ दिनसम्म ट्रमा सेन्टरमा उपचारपछि न्यूरो अस्पताल बाँसबारी भर्ना भएका थिए । त्यहाँ थप ६ दिन उपचारपछि उनी डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?