+
+

पोखराबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपास, श्रीलंकन नाइकेका नेपाली कामदार समातिए

सिआइबीको टोलीले १ महिनादेखि गरिरहेको थियो अनुसन्धान

अमृत सुवेदी अमृत सुवेदी
२०८० फागुन ११ गते १७:४०

११ फागुन, पोखरा पोखराबाट अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाइपास गरेर अवैध धन्दा भएको सार्वजनिक भएको छ । काठमाडौंलगायत देशका विभिन्न ठाउँमा अहिलेसम्म १ सय २१ वटा यस्ता अवैध धन्दा चलेको प्रहरी पत्ता लगाएको थियो । पोखराबाट पहिलोपटक अवैध रुपमा अन्तर्राष्ट्रिय आगमन कल तथा एसएमएस बाइपास गर्ने गिरोहका २ जना नेपाली कामदार समातिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले पोखरा–११ फूलबारीमा घरको कोठा भाडामा लिएर अन्तर्राष्ट्रिय कल बाइपास गर्ने रुपन्देही लुम्विनी सांस्कृतिक नगरपालिका–४ का २७ वर्षीय एमरान अहमद र पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ ३७ वर्षीय विशाल शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

१ सय २८ पोर्ट क्षमताको २ वटा डिभाइसमा एनसिएलको सिम प्रयोग गरी अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाइपास भइरहेका बेला प्रहरीले उनीहरुलाई प्रक्राउ गरेको हो । ६४ पोर्ट भएको अवैध कल बाइपास गर्ने उपकरण गेटवे थान २ वटा र त्यसको उपरकरणमा जडान भएको सिमहरु थान ६४, सोको चार्जर थान १ थान प्रहरीले बरामद गरेको छ । प्रहरीले कल तथा एसएमएस बाइपास गर्न प्रयोग गर्न ५ सय ९७ वटा एनसिएलको सिमसहित प्रहरीले अन्य विभिन्न उपकरण बरामत गरेको छ ।

अन्तर्राष्ट्रिय कलबाइपास गर्ने मुख्य नाइके श्रीलंकन नागरिक रहेको बुझिएको एसपी थापाले बताए । ‘थप अनुसन्धान गर्दै जाँदा अरु देशका व्यक्तिहरु पनि भेटिन सक्छन् तर अहिले मुख्य नाइके श्रीलंकन नै रहेको बुझिएको छ,’ एसपी थापाले भने ।

प्रारम्भिक अनुसन्धानमा फेब्रुअरी १ देखि अन्तर्राीष्ट्रय कलबाइपास हुने गरेको देखिएको प्रहरीको भनाइ छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई एक महिना अगाडि नै कल बाइपास भइरहेको जानकारी प्राप्त भएको थियो ।

‘सूचना प्राप्त भएपछि हामीले केस डेभलप गर्न थालेका थिायौं । कल, एसएमएस विदेशबाट आएको हो तर कल बाइपास भएर आएको छ भनेर टेलिकम सेवा प्रदायकले नम्बरसहित जानकारी दिए तर यो नै लोकेसन हो भन्ने थाहा भएन,’ सिआइबीका एक अनुसन्धान अधिकृतले भने, ‘कास्की प्रहरी र सिआइबीको टोलीले पोखरा फूलबारीबाट कल बाइपास भएको तथ्य पत्ता लगाएर छापा मारेको हो ।’

२ वटा डिभाइसमा १ सय २६ वटै पोर्टमा सिम राखेर कल बाइपास गर्दा दिनमै साढे २ लाख रुपैयाँसम्म आम्दानी गर्ने र त्यसमा थप २५ प्रतिशत राज्यलाई पनि घाटा पर्ने प्रहरीको भनाइ छ ।

पोखरामा बाहिर कपडा दोकान देखाएर भित्री रुपमा कल तथा एसएमएस बाइपास गर्ने काम उनीहरुले गरिरहेका थिए । नेपालमा दुरसञ्चार प्राधिकरणबाट अनुमति लिएर टेलिफोन सेवा प्रदायक कम्पनीहरु एनसेल, एनटीसीलगायतले अन्तर्राष्ट्रिय कल भित्राउने गरेका छन् ।

गिरोहले भने बिनाअनुमति नेपाल बाहिरबाट आउने कललाई वैधानिक गेटवेतिर प्रवेश गर्न नदिई आफ्नो रुटमा डाइभर्ट गरेर अन्तर्राष्ट्रिय कललाई लोकल कलका रुपमा सम्बन्धित टेलिफोन वा मोबाइलसम्म पु¥याउने कमाउने धन्दा चलाउने गरेका हुन् ।

विदेशबाट नेपालमा आउने कलको प्रतिमिनेट लाग्ने शुल्कलाई भिओआइपीको प्रयोगबाट सस्तोमा झार्ने र शुल्कबीचको फाइदा जुन देशबाट कल आउँछ, त्यही देशमा जाने गरेको सिआइबीका इन्स्पेक्टर प्रदीप खत्रीले जानकारी दिए ।

यसअघि कल बाइपासका यस्ता घटनामा बढी बंगलादेशी नागरिक संलग्न भएको देखिएको भए पनि यसपटक श्रीलंकन नागरिक संलग्न भएको देखिएको उनको भनाइ छ । डिभाइस तथा प्राप्त उपकरणको सबै अनुसन्धानपछि कति बराबर कहाँ कहाँ कल भएको भन्ने केही थप खुल्न सक्ने प्रहरीको भनाइ छ ।

उनीहरुलाई दूरसञ्चार ऐन २०५३ को दफा ४७ को उपदफा २ अनुसार मुद्धा चलाइने एसपी थापाले जानकारी दिए । अवैध रुपमा कल बास्पास गरेमा ५ वर्ष कैद र बिगो बराबर जरिवाना हुने व्यवस्था छ ।

कास्की जिल्लामा मुद्धा गर्दा गरेर अनुसन्धान अगाडि बढाउने र बिगोको हकमा थप कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइने थापाले एसपी जानकारी दिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?