+
+
अन्तर्वार्ता :

‘सबैको दिमाग नै गठबन्धनले खाइदियो’

म लामो समयदेखि नेपालका राजनीतिक दल ठिक नबनाइकन नेपालको राजनीतिक प्रणाली ठिक हुँदैन भन्दै आएको छु । यो मेरो अनुभव र तथ्य–तथ्यांकको आधारमा छ । अलिअलि ठिक हुने बाटो सुरु भएको थियो, गठबन्धनले यसलाई बर्बाद बनाइदियो ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते २०:४५

कांग्रेस महामन्त्री गगन थापाले यो अन्तर्वार्तामा बिहीबार सकिएको महासमिति बैठकका निर्णयले ल्याउन सक्ने सम्भावित तरंगबारे संकेत गरेका छन् । पार्टीमा सभापति शेरबहादुर देउवा र आफ्नै समूहमा शेखर कोइराला लगायत नेतासँगको मनमुटाव, सत्ता गठबन्धनको भविष्य, आगामी महाधिवेशन र आम चुनावको मार्गचित्र आदिबारे खुलेर बोलेका छन् ।

अनि त्रिभुवन विश्वविद्यालयमा फेरि भागबन्डाकै राजनीति किन जारी रह्यो भन्नेबारे अनलाइनखबरका बसन्त बस्नेतसँग शुक्रबार दिउँसो संवाद गरेका छन् :

गगन थापा बढी बोल्छन्, तर विषयलाई टुंगोमा पुर्‍याउँदैनन् भनी चित्रित हुँदै आएको थियो । यसपल्ट महासमिति मार्फत जवाफ दिन सकें भन्ने ठान्नुभएको हो ? 

मान्छेहरूले गगनको भर हुँदैन भन्ने गर्छन् । तर म धेरै हिसाबकिताबवाला मान्छे होइन । कहिले परिणाममा पुगिन्छ, कहिले पुगिन्न । काम गरिराख्नुपर्ने हुन्छ ।

तर हिसाबकिताब राख्नुपर्‍यो  होइन ? किनभने हिसाब नपुग्दा संसदीय दलमा पराजित हुनुभयो !

संसदीय दलमा लड्ने बेलामा मलाई मन्त्री बन भनेर आग्रह पनि आएको थियो । साथीहरूले हारिन्छ, नलड्नुस् पनि भनेका थिए । तर मैले हाम्रा ठूला दलका मुख्य नेताहरूबारे भन्दै आएको छु– उहाँहरूले अब सक्रिय राजनीति छाड्नुपर्छ ।

जनमतसंग्रह ग¥यो भने सायद ९५ प्रतिशतले उहाँहरूलाई छाड्नुस् भन्छन् होला । तर जनताको चाहना त्यस्तो हुँदाहुँदै उहाँहरूकै सम्बन्धित दलभित्रचाहिं कसैले चुनौती दिएन भने त्यो कति खराब कुरा होला ? मलाई जो–कसैले तँ नराम्रोसँग हार्छस्, मन्त्री हुन्नस् भन्ने डर देखाए पनि मैले त्यसबेला गर्नुपर्ने कुरा गरें ।

यसपल्ट महासमितिबाट पार्टीलाई बाटो देखाउने काम गर्नुभयो, खासगरी चुनावपूर्वको गठबन्धनविरोधी मतलाई लोकप्रिय बनाउन भूमिका खेल्नुभयो । तर अन्तिममा महासमिति टुंग्याउँदै गर्दा सभापति देउवाले यी विषयलाई केन्द्रीय समितिमा लैजाने भन्नुभयो । उसो भए कसले जित्यो त ?

सभापतिकहाँ पुग्नै परेन । मैले पढेको प्रस्तावमै छ– यहाँ उठेका सुझावहरू समेतका आधारमा परिमार्जन गर्दै केन्द्रीय समितितर्फ जान्छौं । मैले राखेका तीनवटा प्रस्तावमाथि हलमा छलफल भयो । सुझाव ख्याल गर्दै अन्तिम रूपलाई केन्द्रीय समितिमा लैजाने त हाम्रो परम्परा नै हो । किनभने महासमितिमा कुनै व्यक्तिले प्रस्ताव लैजाँदैन, पार्टीले लैजान्छ । पार्टी कार्यालयमा आउने बेलासम्म त्यो मेरो व्यक्तिगत प्रस्ताव हो । तर गोदावरीमा प्रस्तुत हुँदैगर्दा सभापति देउवाले नेतृत्व गर्नुभएको कांग्रेस केन्द्रीय समितिको प्रस्ताव हो, त्यो ।

तर ती प्रस्तावलाई गोदावरीको महासमिति हल लैजानुअघि सभापतिसँग लामै स्याडो बक्सिङ चल्यो होइन ?

चल्यो, चल्यो । केही कुराहरूमा हाम्रो बीचमा ठ्याक्कै कुरा मिलेन । अहिले पनि एउटै धारणा छैन ।

त्यस बेला के गरेर मनाउनुभयो देउवालाई ?

उहाँहरू खालि ८४ को चुनावअघि गठबन्धनको कुरा गरौंला भन्दै हुुनुहुन्थ्यो । मेरो त्यो कुरा होइन, जुन दस्तावेजमा प्रष्ट लेखेको छु । सबै पार्टीको सांगठनिक आधार र जनाधार भिन्नाभिन्नै हुन्छ । कांग्रेसका समर्थक खुला प्रकारका छन् । उनीहरू सदस्यता पनि लिंदैनन् । कार्यक्रममा पनि आउँदैनन् । झन्डा पनि बोक्दैनन् । लेबी पनि तिर्दैनन् । चार वर्ष लगातार नेताहरूलाई गाली पनि गरिरहेकै हुन्छन् । चुनावको बेलामा चाहिं लोयल्टी देखाउँछन् ।

लोकतन्त्रवादी, उदारहरूका लागि रूख चिह्न भनेको उनीहरूको आइडियासँग सम्बन्धित कुरा हो । हामीले गठबन्धनका नाममा उनीहरूको भोट हाल्ने ठाउँ नै खोसिदिएपछि डेमोक्र्याटहरू रिसाएर नयाँ पार्टी वा स्वतन्त्र उम्मेद्वारतिर बढे । हामीले समर्थनको आधार गुमाउन थाल्यौं । धरानदेखि धनगढीसम्म हेर्दा रूख चिह्न हल्लियो ।

त्यसैले यसबेला कांग्रेसले पार्टीको रुपमा सम्हालिने बेला आएको छ । हामीभन्दा अगाडिको यात्रामा हामीले जुनसुकै अवस्थामा पनि आफ्ना समर्थक र मतदातालाई यसभन्दा अन्त लैजाँदैनौं भन्नुपर्ने थियो । तर छलफल गर्ने क्रममा साथीहरूले महासमिति बैठकमा चुनावअघि गठबन्धनका बारेमा कुरा गरौं भन्न थाल्नुभयो । मैले त्योभन्दा ठूलो कुरा भन्न गइरहेको छु । मैले केवल ८४ को चुनावमा के गर्ने भनेर मात्रै कुरा गर्न खोजेको होइन ।

मैले गठबन्धनको कुरा पनि छिराएर समस्या सिर्जना गर्न खोजेको होइन खासमा । मैले यत्ति भनेको हुँ : नेपाली कांग्रेस आफ्नै ताकतमा चुनाव लड्छ । अब के कुनै कांग्रेसको सदस्यले आफ्नै ताकतमा लड्दैनौं, रूखमा भोट हाल्दैनौं भन्छ त ? खासमा यति लामो छलफल समेत गर्नुपर्ने कुरा होइन यो । अरू पनि धेरै महत्वपूर्ण कुराहरू थिए मेरा प्रस्तावमा ।

तपाईंका प्रस्तावलाई देउवाले बुझ्नुभयो त ? किनभने उहाँ त गठबन्धनकै ताकतमा फेरि प्रधानमन्त्री बन्ने योजनामा हुनुहुन्छ !

हामी सबै स्पष्ट छौं– अस्तिको चुनावमा गठबन्धन गर्‍यौं । हाम्रो बहुमत छैन । गठबन्धन बनाएर सरकारमा छौं । यसमा इमानदार छौं । पाँच वर्षमा आलोपालो सरकारको विकल्प सोच्दैनौं ।

तपाईंको प्रस्तावले अहिले गठबन्धन घटकहरू आत्तिनुपर्ने केही कुरा छैन ?

केही पनि छैन ।

उसोभए तपाईंले गोदावरीमा गठबन्धनको विरोधमा प्रस्ताव टेबुल गर्दै गर्दा बालुवाटारमा किन प्रचण्ड, ओली लगायत वाम नेताको दौडादौड चलेको त ?

उहाँहरूले किन भेट्नुभयो भन्ने मलाई थाहा छैन । मेरो उही प्रश्न छ, नेपालका दलहरू भविष्यमा आफ्नै ताकतमा लड्छौं भनेर पनि भन्न नसक्ने अवस्थामा पुगेको हो त ? गठबन्धनले त यस्तो ठाउँमा पुर्‍याइदियो कि कसैलाई पनि सरकारमा बसेर डेलिभरी गर्नु छैन । किनभने आफैं सरकार बनाएको भए पो नागरिकले मन पराए कि पराएनन्, काम गर्न सकियो कि सकिएन भन्ने चिन्ता हुन्छ ।

मतदाताको मन जितेर अर्को चुनाव जित्ने भन्ने पनि छैन । सबैको दिमाग नै गठबन्धनले खाइदियो । विद्यालय व्यवस्थापन समितिदेखि सार्वजनिक संस्थासम्म दलीयकरण भयो भन्ने चिन्ता छँदैथियो । अब त दलीयकरणभित्र पनि गठबन्धन हुन थाल्यो भनेपछि चिन्ता गर्नैपर्ने अवस्था आयो ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले एकपल्ट राष्ट्रपति, दुईपल्ट प्रधानमन्त्री, तीनपल्ट मन्त्री, चारपल्ट सांसदको प्रस्ताव गर्नुभयो । कांग्रेस जस्तो धेरैपल्ट प्रधानमन्त्री, मन्त्री बन्ने पार्टीमा यसको कार्यान्वयन सम्भव छ ?

नेपालका सबै दलहरूको समस्या हो । अरूको कुरा किन गर्ने, हाम्रो पार्टीमा दुईपल्टभन्दा बढी सभापति बन्न नपाइने तोकिएको छ । बाहिरिने प्रक्रिया तोकिएको छ । अघिल्लोपल्ट समानुपातिकबाट सांसद भएको व्यक्ति लगत्तैको चुनावबाट फेरि समानुपातिक बन्न नपाइने भन्ने किसिमको तोकिएको थियो । महामन्त्री विश्वप्रकाशजीको स्पिरिट पनि प्रधानमन्त्री, राष्ट्रपति समेत कतिपल्ट बन्ने भन्ने प्रस्ताव गरौं भन्ने हो ।

मतदाताको मन जितेर अर्को चुनाव जित्ने भन्ने पनि छैन । सबैको दिमाग नै गठबन्धनले खाइदियो ।

यसबारे तपाईंसँग सल्लाह भएको थियो ?

सल्लाह भएरै आएको हो । कुन पदमा कतिपल्ट भन्ने संख्यामा फेरि पनि छलफल गर्न सकिन्छ । तर यसमा पनि मापदण्ड हुनुपर्छ भन्ने उहाँ र मेरो कुरा हो । यसलाई पार्टीको मात्रै होइन, देशकै विषय बनाउँ । देशलाई भूतपूर्व प्रमहरूको क्लब बन्ने बाटोबाट रोकौं भन्ने कुरा हो ।

तर उहाँहरू देशले मलाई फेरि एकपल्ट खोज्यो, इतिहासले मेरो भूमिका माग गर्‍यो  भन्दै पदमा आउन खोज्नुहुन्छ, के गर्ने ?

देश मात्रै होइन, गठबन्धनले मलाई खोज्यो भन्ने ठाउँ समेत अब नराख्ने । उहाँहरू रिटायरमेन्टमै जाने हो । यसमा स्पष्ट मान्यता नै बनाउनुपर्छ । यस्तो कुरामा दलहरूबीच छलफल नै भएको छैन । देश निर्माणका लागि प्राथमिक युनिट भनेको पार्टी हो ।

यसले शासकीय संरचना बोक्छ । अहिले यस्ता धेरै कुराले उहाँहरूलाई छोएको छैन होला, तर दलले उम्मेदवार कसरी छान्ने भन्ने समस्याको हल खोज्ने कसरी भनेर हेर्दा थाहा हुन्छ । अरू धेरै कुरा सुध्रिन्छ ।

तपाईंले यसलाई बृहत्तर ढंगले सोच्नुभएको होला, तर गठबन्धनको विरोध गर्नुभयो भनेर कांग्रेसले कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष उठाउन खोजेका बेला वामलाई नै अध्यक्ष ल्याउने भन्ने पनि सुनिन्छ नि !

सायद नेताहरू त्यति अपरिपक्व हुनुहुन्न होला । म भविष्यमा चुनावपूर्व गठबन्धन किन गर्नुहुन्न भन्ने सैद्धान्तिक तर्कका आधारमा यो प्रस्ताव अघि सारिरहेको छु । हामी यो पाँच वर्षभित्र अरू कुनै चलखेल गर्दैनौं भनेर भनिरहेकै छौं । र हाम्रै प्रस्ताव अनुसार कांग्रेसले गठबन्धनमा अहिले कुनै चलखेल नगर्ने कुरा एकमतले पारित गरेको छ ।

यो पाँच वर्ष हामीले मतै मागेर आएको हो । मेरो निर्वाचन क्षेत्रमा मलाई माओवादी र एकीकृत समाजवादीको मतदाताले मत हाल्नुभएको छ । यस्तो गर्नुहुन्थ्यो हुँदैनथ्यो तर गरेर आइसकेपछि एउटा इमानदारी राख्नुपर्छ । अहिले त हामी सरकारमा सँगै छौं भने हामी बीचमै तल–माथि गर्नुपर्ने, विकल्पहरू खोज्नुपर्ने कुनै कारण छैन, हामी सबै प्रष्ट छौं ।

मैले भर्खरै पढेको माधवकुमार नेपालजीको पार्टीको एउटा सर्कुलरमा २०८४ को चुनाव हामी आफ्नै बुतामा एक्लै लड्ने भएकोले पार्टी संगठनको निर्माण त्यही अनुसारले गरौं भनेर लेख्नुभएको रहेछ । हिजो अग्नि सापकोटाजीको अन्तर्वार्ता पढें ।

उहाँले विधान सम्मेलन र केन्द्रीय कार्यसमितिको बैठकबाट २०८४ को चुनाव एक्लै लड्ने भएकोले स्पष्ट रूपमा एक्लै प्रतिस्पर्धा गर्ने हाम्रो संगठनको तयारी त्यही अनुरूप गर्नु भनेर लेखेर पठाएका छौं भन्नुभएको छ ।

मैले कांग्रेसका साथीहरूलाई सोधें, ‘माओवादी र समाजवादीले जे भन्यो एकदम ठिक भन्यो । एउटा दलले भन्ने त्यही हो । हामी कांग्रेस र यसको सम्मेलनबाट के भन्ने ?’ बैठकको अन्तिममा ‘भोट केमा रूखमा’ भनेर नारा लाग्यो ।

साथीहरूलाई मेरो पारित भएको प्रतिवेदन उल्ट्याउने हो भने भोट केमा भनेर नारा लगाउँदा थाहा छैन भन्नुपर्छ भनें । फेरि भोट केमा भन्ने आयो भने चार वर्षपछि भनौंला भन्नुपर्छ । यस्तो पनि पार्टी हुन्छ ? यस्तो हुतीहारा हुनुहुन्छ हामी ? त्यसैले यो अहिलेको विषयसँग सम्बन्धित छैन । अरू कारणले बिग्रियो भने म जान्दिनँ । अरू कारणहरू हुनसक्छन् ।

तर तपाईंले गठबन्धन रहुञ्जेलसम्म देउवा शक्तिशाली रहिराख्नुहुन्छ, यो गठबन्धनवाला फण्डा नै फ्याँकिदिएपछि उहाँसँग केही बाँकी रहँदैन भनेर तपाईं रणनीतिक हुनुभएको त होइन ?

होइन, केन्द्रीय सदस्य मात्रै रहँदा पनि मेरो आफ्नो मत त हुने गथ्र्यो । तर महामन्त्री निर्वाचित भइसकेपछि यो अलि सुनिने भयो । स्थानीय निर्वाचनमा गठबन्धन गर्नुहुँदैन, एक्लै लड्नुपर्छ भनेर पार्टीभित्र बकाइदासँग मत राखें तर त्यो मूल मत बन्न सकेन नै । पार्टी भनेको त्यही हो फेरि । आफ्नो मत बन्न सकेन भने के गर्ने ? कि पार्टी छाडेर हिंड्नुपर्‍यो कि पार्टीलाई मनाउनुपर्‍यो कि पार्टीको निर्णय मान्नुपर्‍यो । पार्टी पद्धतिमा विश्वास गर्ने मानिस भएकोले मानेर आएको हुँ ।

मेरो भावनाको कुरा वा तत्कालको हिसाबकिताबको कुरा होइन, म लामो समयदेखि नेपालका राजनीतिक दल ठिक नबनाइकन नेपालको राजनीतिक प्रणाली ठिक हुँदैन भन्दै आएको छु । यो मेरो अनुभव र तथ्य–तथ्यांकको आधारमा छ ।

अलिअलि ठिक हुने बाटो सुरु भएको थियो, गठबन्धनले यसलाई बर्बाद बनाइदियो । सब डिरेल गर्‍यो । यसले अवरुद्ध मात्र होइन, सुधारलाई तलतिर फर्काइदियो । यसले बर्बाद गर्छ । जस्तो, भारतमा केही समयमा चुनाव हुँदैछ । त्यहाँ पनि चुनाव अगाडि एनडीए र इण्डिया ब्लक बनाएर गठबन्धन गरेको अभ्यास छन् । कांग्रेस भएर सोच्दा हामीले ७–८ लाख लोयल (बफादार) मतदाता गुमाइसक्यौं, थप गुमाउन सक्छौं ।

पार्टीभन्दा ‘वियोण्ड’ हेर्दा यसले हाम्रो संस्थाहरूलाई खत्तम बनाउँछ । राजनीतिक संस्थाहरू नै खत्तम भएपछि अरू पनि खत्तम हुँदै जान्छन् । यसले थप ध्वस्त बनाउँछ । म त यसबारे नेकपा एमालेसँग पनि संवाद गर्न चाहन्छु । अहिलेको गठबन्धन चलाउन वा अरू विषयमा होइन, किन अँध्यारो कोठामा मात्र भेट्ने, खुल्ला भेटौं र संवाद गरौं । केही समयपछि संसद्मा निर्वाचन ऐन आउँदैछ । यसबाट केही बाटो पहिल्याउन सकिन्छ कि ?

एमालेसँग यसबारे संवाद भयो भने तपाईं के भन्नुहुन्छ ?

म भन्छु; हामी निर्वाचनपूर्व गठबन्धन गर्न नपाउने कुनै राजनीतिक निर्णय पनि गरौं । विधानमै पनि यस्तो केही ठाउँ खोज्न सकिन्छ भने किन हामी नखोज्ने ?

चुनावपछि गठबन्धन गर्ने तर चुनाव अघि नगर्ने ?

त्यो त कसैले भन्नै परेन । राष्ट्रिय राजनीतिक दल बन्न समानुपातिकमा मात्र होइन, प्रत्यक्षमा हाम्रो अनेकौं मापदण्ड हुन्छन् नि ! हाम्रो ऐनमै त्यस्तो कुनै व्यवस्था खोज्न सक्छौं कि जसले कुनै एउटा राष्ट्रिय दल बन्छु भनेर लडेकोले भोलि गएर राष्ट्रिय दल बन्नको लागि यति प्रतिशत थ्रेसहोल्ड हुनुपर्छ भन्ने शर्त जस्तै अर्को शर्त के थपिदिऊँ भने त्यही चुनावमा अर्को चुनाव चिह्नको लागि त्यो दलले मत माग्न नपाउने ।

अब २०७४ मा हुने चुनावमै हामी अहिले कुनै एउटा चुनावमा उम्मेदवार नै भएनौं हामी चुनाव नै लड्दैनौं भनेर कसैलाई मत माग्न पायौं तर आफूले उम्मेदवारी दिएको चुनावमा कुनै निर्वाचन क्षेत्र खाली राखेर अर्काे चुनाव चिह्नकोलाई मत माग्न नपाउने भन्यो भने अब म लुकेर गरे मात्रै सम्भव हुन्छ नि त !

अघि तपाईंले एउटा जवाफ दिनुभएन : राष्ट्रिय सभा अध्यक्षको चुनाव आउँदैछ । कांग्रेस महासमिति बैठकमा तपाईंले राखेको गठबन्धन विरोधी प्रस्तावको पहिलो सिकार कतै सिटौला त बन्नुहुन्न ?

हुँदैन, हुँदैन । त्यसमा केही कुरै छैन । पार्टीभित्र पनि एक मत छ ।

माओवादीभित्र त प्रश्न उठिसक्यो, हाम्रो पनि उम्मेदवार उठाउनुपर्छ भनेर !

उहाँहरूको भित्र छलफल हुने कुरालाई म अस्वाभाविक भन्दिनँ । त्यो अहिले नभएर हाम्रो महासमिति बैठक अगावै उहाँहरूकै विधान सम्मेलनको बेलामा त्यो उठिसकेको थियो ।

त्यो त उहाँहरूले छनक पाइसक्नुभएको थियो नि ! कांग्रेसमै यस्तो उठ्नेवाला छ भनेर ?

यो कुरामा चाहिं प्रचण्डभन्दा बढी हाम्रोपट्टिको मान्छेलाई वनको बाघले भन्दा मनको बाघले खाए जस्तो लागिरहेको छ मलाई । प्रधानमन्त्रीको लागि कांग्रेसभित्र गगन थापा वा अरू धेरै मानिसले गठबन्धन गर्नुहुँदैन भन्ने पक्षमा हिजो पनि थिए, आज पनि छन् । भोलि पनि हुनेछन् । तर अहिले बनिसकेको गठबन्धनलाई चलाउने कुरामा उनीहरू इमानदार छन् । म त प्रधानमन्त्रीसँग पनि नियमित संवादमा छु नि !

म उहाँलाई भनिरहेको छु कि म कांग्रेसको महामन्त्री मात्र होइन, तपाईंलाई भोट दिएको सांसद पनि हुँ । तपाईंले राम्रो काम गर्दा संसदमा छाती ठोकेर सबैभन्दा बढी समर्थन गर्ने मान्छे म हुन्छु । खराब गर्नुभयो भने सडक र सदनमा आएर सबैभन्दा बढी प्रश्न गर्ने मध्ये पनि म नै हुन्छु । मेरो दायाँ–बायाँ कुरा केही पनि छैन र अहिले सरकार बारे दायाँ–बायाँ षड्यन्त्रमा हामी कतै सहभागी छैनौं, हुँदैनौं । मैले कांग्रेसको बृहत्तर नीतिको कुरा गरिरहेको छु ।

चुनावअघि गठबन्धन हुनुहुँदैन भन्ने कुरा त उहाँहरूको लागि कुनै नयाँ कुरा नै होइन । म त वर्षौंदेखि भनिरहेकै छु । यसको लागि प्रयास गरिरहेको छु । अहिले यो गठबन्धनप्रति म बढी इमानदार छु भनेर देखाउने होड पो चलेको हो कि जस्तो लागिरहेको छ । अनावश्यक, बेकारमा ।

आफ्नो पार्टीले आफ्नो दस्तावेजमा सम्मेलनबाट एक्लै लड्छु, म आफ्नो भोट आफैंलाई हाल्छु भन्दा पनि सातोपुत्लो उड्ने पनि हुन्छ ? कांग्रेसले आफ्नो सम्मेलनबाट के भन्छ ? अघि भने जस्तै नारा के लगाउने ? भोट केमा भन्दा थाहा छैन भन्ने ? यस्तो हुतीहारा कुरा गरेर बेकारमा । हामी यस्तो अनावश्यक कुरामा लाग्यौं । यो त सामान्य कुरा हो नि !

 तपाईं अलि अघि समुदायमा कांग्रेस भन्दै देश–दौडाहा गरिरहनुभएको थियो । पार्टीका कार्यकर्ता, शुभेच्छुक र स्वतन्त्र मानिसहरूसँग भलाकुसारी गर्दै पूर्वबाट यात्रारत हुनुहुन्थ्यो तर बीचमै रोकियो । त्यसलाई निरन्तरता दिनुहुन्छ ?

म गर्दैछु । मैले खालि संसदको क्यालेन्डर कुरिरहेको छु, यहाँको काममा पनि बस्नुपर्ने भएकोले । जब तीन–चार दिनको बिदा हुन्छ, म हिंडिहाल्छु ।

पार्टीको महामन्त्री हुनुहुन्छ । शीर्षस्थ नेता पनि हुनुहुन्छ । तपाईंले थालेको अभियानलाई पार्टीका कतिपय नेताहरू नै गगनले आफ्नै निजी खालको भ्रमण गरेको होला, दौडाहा होला, हामीलाई थाहा छैन भन्ने टिप्पणी गरेको पनि सुनियो । त्यस्तै हो ?

एक–दुई ठाउँमा मैले पनि पढें । यसमा टिप्पणी गरेर छुद्रता व्यक्त गर्दिनँ । महामन्त्रीले कार्यक्रम बनाउने हो । म जहाँ उभिन्छु त्यहींबाट लाइन सुरु हुन्छ भने जस्तो । मैले बनाएपछि पार्टीको कार्यक्रम हो नि त्यो । यसमा लामो कुरा गर्नै पर्दैन । कसलाई सोध्ने हो मैले ? त्यो पनि म देश हिंड्छु, म आफ्नो पार्टीको साथीहरू र नागरिक भेट्छु भनेर मैले कसैको स्वीकृति लिनुपर्छ ? त्यसमाथि पनि अझ विश्वप्रकाश शर्मा र म बसेर, मध्यपहाडी लोकमार्ग हिंड्ने भनेर म कात्तिकको ४ गते च्याङ्थापुबाट निस्कँदै थिएँ, सबै तयारी गरेर । त्यसबेला विश्वप्रकाश शर्माले भन्नुभएको कुरा मलाई ठिक लाग्यो ।

तपाईं महामन्त्री हिंड्ने कुरा आफैंमा ठिक छँदैछ, तर एउटा पार्टीकै कार्यक्रम बनाऔं र अरू साथीहरू पनि एकैचोटि हिंडौं भन्नुभयो उहाँले । त्यसपछि समुदायमा कांग्रेस भन्ने कार्यक्रम बनाइयो । त्यसमा अहिले पार्टीका वरिष्ठ नेताहरू पनि हिंडाइयो । त्यही अन्तर्गत म समुदायमा कांग्रेसको प्रमुख चारवटा थिममध्ये पहिलो संवाद हो ।

त्यसैले म संवादै गर्छु तर त्यसको यात्रा पनि गर्छु पूर्वदेखि पश्चिमसम्म जान्छु । हुलाकी मार्ग हिंड्छु भनेर थपेपछि साथीहरूमा पनि उत्साह ल्यायो । मैले कति नयाँ कुरा थाहा पाउने मौका पाएँ । म त काठमाडौंको खाल्डोमा लामो समयसम्म अड्किएर बसिरहेको थिएँ, कति कति कुराहरू थाहा भयो । म नयाँ आत्मविश्वास लिएर काठमाडौं फर्किएको छु । त्यसैले मैले बेकारका टिप्पणीमा ध्यानै दिइनँ ।

तपाईंको नीति र नियत त स्पष्टै रहेछ । यति कुरा पार्टीभित्र किन बुझाउन सक्नुभएन ?

मैले किन बुझाइराख्नुपर्‍यो ? उहाँहरूलाई बुझाइराख्नुपर्ने हो !

बुझाउनुपर्यो‍ नि, महामन्त्री हो नि तपाईं ?

होइन उहाँहरू आफैं बुझ्नुहुन्छ । सबै बुझ्नुहुन्छ । सिंगो पार्टी त्यही कार्यक्रममा आयो । प्रत्येक ठाउँको पार्टी सभापतिदेखि सिंगो पार्टी नै त्यो कार्यक्रममा आएको छ । त्यस्तो टिप्पणी गर्नेहरू पनि अन्ततः कार्यक्रममा दौडिएर आउँछन् । नआइकन सुखै छैन । म रोकिएर उहाँहरूलाई कुरा बुझाउनेतिर किन लागिराखौं !

सभापतिलाई नै लिएर गइदिनुस् न कतिपय ठाउँमा ?

हामीले सभापतिलाई भनेका थियौं त्यतिबेला । माघ १६ को कार्यक्रममा पार्टीको प्रत्येक नेता अनिवार्य आफ्नो वडामा, जस्तो हामीले सभापतिलाई भन्यौं, तपाईं डडेलधुराको रुवाखोलाको आफ्नो गाउँको वडामै पुग्नुपर्छ ।

गन्यापधुरामै जानुपर्‍यो भन्नुभयो ?

हो, उहाँले राष्ट्रिय सभाको निर्वाचन र अरू केही कारणले म सक्दिनँ भन्नुभयो । म आफैं यात्राकै क्रममा एक रातको लागि काठमाडौंमा आएर १६ गते यहाँको सम्पदा सरसफाइ कार्यक्रममा सहभागी भएर १७ गते बिहान पुनः यात्रामा सहभागी भएँ । यसक्रममा पार्टीका धेरै वरिष्ठ नेताहरू आफ्नो वडा पुग्नुभयो । पहिलो वर्ष भएकोले हामीले भने जस्तै धेरै नेता, आफ्नो घर भएको वडा जाने कुरा पनि आफैंमा अलिकति सहज पनि भएन कतिलाई । अनुकूलता पनि मिलेन होला तर विस्तारै बनाउँदै लैजान्छौं ।

बाँकी कार्यक्रम पनि सुरु गरिहाल्नुहुन्छ ?

तुरुन्तै सुरु गर्छु, यही महिनामा ।

यस्तो खाले अलि नवीन प्रस्तावहरू ल्याउँदा पार्टी सभापतिको रेस्पोन्स कस्तो हुन्छ ?

यस्तोमा एकदमै खुल्ला हुनुहुन्छ । जस्तो, मैले बीपी साहित्य सम्मेलन गर्ने बेलाको सम्झन्छु । उहाँ खुल्ला हुनुहुन्छ । हामी सुवर्णशमशेर इकोनोमिक कन्क्लेभ गर्दैछौं । बाँकी रहेको कुरा गर केटाहरू (हास्ँदै) भन्ने हो ।

साउनमा केन्द्रीय समितिको बैठक बसेको थियो । त्यतिबेला वार्षिक क्यालेण्डर बनाउनुभएको थियो । त्यसको कार्यान्वयनको अवस्था के छ ?

अघि भनेकै इकोनोमिक कन्क्लेभ त्यही अनुसारको हो । महासमिति अघि जति पनि हामीले साहित्य सम्मेलन गर्‍यौं, त्यही अनुसार हो । २/२ महिनामा केन्द्रीय समितिको बैठक गर्‍यौं । क्यालेन्डरमा मैले राखेको कतिपय ठ्याक्क ठ्याक्क समयमा भएको छैन ।

भूकम्पका  कारणले दुई महिना हाम्रा कार्यक्रम प्रभावित भए । सबै कार्यक्रम रोकेर हामी त्यहाँ गयौं । कात्तिक १६ गते इकानोमिक कन्क्लेभ गर्ने तयारी थियो । अहिले हामीलाई एकदमै बाँधेको चाहिं क्यालेन्डरले छ ।

क्यालेन्डरमा नराखेको भए सायद इकोनोमिक कन्क्लेभ म छोडिदिन्थें होला । किनकि, डेट गयो भन्ने लाग्थ्यो होला । तर, क्यालेन्डरमा भएपछि त गर्नैपर्छ । क्यालेन्डर फलो गरिरहेका छौं, गाह्रो चाहिं भएको छ ।

एउटा आशंका तपाईंहरूमा छ । अरू सबै क्यालेन्डर लागू भए पनि मिसन ८२ को कार्यान्वयन हुँदैन भन्ने छ । किनभने सभापति १५औं महाधिवेशनलाई २०८३ तिर पुर्‍याएर आफू अनुकूल अवस्था खोजिरहनुभएको छ भन्ने आशंका पार्टीभित्र सुनिन्छ नि ?

अहिले नै अनुमान किन लगाउने । पछिल्लो समयमा देख्दै गर्दा महाधिवेशन  समयमा भएको छैन । सभापति सुशील कोइराला, गिरिजाप्रसाद कोइराला हुँदा पनि विधानलाई तन्काउने अभ्यास सबैले गर्दै आउनुभयो । ‘टेकन फर ग्रान्टेड’ भन्छन् नि ! सभापतिले पनि कसरी लिनुभएको होला भने पाँचै वर्ष हो भनी लिनुभएको होला । चार वर्षमा एक वर्ष थप्न मिल्नेछ ।

उहाँ पनि ढुक्क, तपाईंहरू पनि ढुक्कै हुनुहुन्छ ?

होइन, म चाहिं सार्ने कुरामा ढुक्क छैन । समयमा महाधिवेशन गराउन मरेर लाग्ने हो । आफ्नो तर्फबाट गर्ने सम्पूर्ण कोसिस गर्ने हो । एउटा त टाइम फर डिसिप्लिनसँग जोडिएको कुरा छ ।

२०८३ मा महाधिवेशन हुनेभयो भने मंसिर–पुसमा हुन्छ । अनि २०८४ को वैशाखमा चुनाव हुन्छ ।

त्यसकारण त उहाँले तन्काउन चाहनुहुन्छ नि मान्छेहरूको भावना भड्किन्छ भनेर चुनावसम्म जे जस्तो हुन्छ जाऔं भन्न त सक्नुहुन्छ ?

त्यो भन्न उहाँले विधानले पाउनुहुन्न । संविधानले पनि पाउनुहुन्न् । एकछिनलाई मानौं, कांग्रेसले चार वर्षमा महाधिवेशन गरेन । एक वर्ष म्याद थप्छ । एक वर्ष थप्दा २०८३ सालको पुसमा पुग्छ । आपतकालीन अवस्थाले ६ महिना थपियो भने पनि वैशाखमा पुग्छ । चुनाव २०८४ को मंसिरमा हुन्छ । वैशाखमा महाधिवेशन गरेपछि पद छोड्नुप¥यो ।

एक वर्ष थपिएको पीडा हामीले भोगिरहेका छौं नि त । अधिवेशनले  धेरै तुष ल्याएको हुन्छ । हाम्रो अधिवेशनको कुलिङ पिरियड नसकिंदै आम चुनावमा जानुपर्ने हुन्छ । २०८२ मा महाधिवेशन भयो भने नयाँ कमिटीले चुनावका लागि दुई वर्ष काम गर्न पाएको हुन्छ । सिंगो पार्टी पङ्तिको हित २०८२ सालमा अधिवेशन गराउने कुराले हुन्छ । २०८२ सालमा अधिवेशन गर्नुहुुँदैन भन्ने एक जना कोहीले मलाई बताइदेओस् त !

केही न केही कारण त सार्नका लागि निस्केला नि ?

बहाना बनाउन पाइएन । २०८२ मा महाधिवेशन नगरेर २०८३ मा यसकारण महाधिवेशन गर्नुपर्छ भनी कोही एक जनाले मलाई भनिदेओस् । कोही एक जनाले पनि भन्न सक्दैन ।

एकातिर तपाईले विधिले पार्टीलाई हिंडाउन सभापति पक्षसँग संघर्ष गरिरहेको देखिन्छ । बलियो गुट बनाएपछि बलियो पार्टीतिर गइन्छ  भन्ने सोच्नुभएको छ ? कहिलेकाहीं त समूहका दुई जना शेखर–गगनको भेटको पनि समाचार बन्ने अवस्था छ ?

म पार्टीको महामन्त्री छु । मलाई पनि एकप्रकारको अप्ठ्यारो छ । महामन्त्रीले पाएको मतले पनि मलाई समस्या पारेको छ । मत पाउँदै गर्दा त रमाइलो भयो । मलाई भेट्न आउने साथीहरू भन्नुहुन्छ कि तपाईंलाई महामन्त्रीमा मैले पनि भोट हालेको भन्नुहुन्छ ।

राजनीतिक दलमा समूहहरू बन्छन्, जुन स्वाभाविक हो । समूह गुट नभएर गिरोह भएर नै समस्या हो । समूह बन्छन्, भत्कन्छन् । जुन समूहमा छु, त्यसमै छु ।

अहिले त्यो समूहको नाम के छ ? एकपटक शेखर–गगन समूह भन्ने थियो ?

आ–आफ्नो अनुकूलतामा नाम भन्ने हो । समूहको नेतामा शेखर कोइराला हुनुहुन्छ । हामी सँगै छौं, कुराकानीहरू गरिरहेका छौं । समूहले जुन रूपमा कार्य गर्नुपर्ने हो, त्यहाँभित्र संवाद हुन्छ, छलफल हुन्छ । एकले अर्कामा माया–प्रेम हुन्छ । कतिपय एजेण्डामा लडाइँ हुन्छ ।

जतिबेला शेखर कोइरालाको नेतृत्वमा हामी चुनाव लड्यौं । बसेरा होटलमा साथीहरूलाई बोलाएर सबैलाई धन्यवाद दिने कार्यक्रम थियो । त्यो बेला हाम्रो एजेण्डा चुनावमा गठबन्धन नगर्ने भन्ने थियो । स्थानीय चुनाव आउँदैथ्यो ।

गठबन्धन नगर्ने कुरामा लड्दै आएर त्यो कुरा मैले महासमितिमा लगिसकेपछि त सिंगो समूह एकढिक्का भएर यसको पक्षमा आउनुपर्ने होइन ?

यतिका वर्षमा नेताहरूबाट आएका अभिव्यक्ति छन्, अन्तर्वार्ताहरू छन् । चरा बोल्ला, मुुसा बोल्ला । बोल्नुपर्ने साथीहरू बोल्दैनन् । समूहप्रति मेरो इमानदारी प्रति मेरो केही तल–माथि भएको छैन । समूहलाई जोगाएर जानुपर्छ भन्नेमा छु ।

यो समूहबाट जितेको महामन्त्री गगन थापा हुनुहुन्छ र उहाँ नेता हो भनी सम्मानपूर्वक राख्ने स्पेस शेखर कोइराला र अरूले पनि गर्नुपर्दछ ।

कहिलेकाहीं शेखर कोइराला एक्लै हिंड्न खोजे जस्तो तपाईंलाई लाग्छ ?

समूहहरू जुन रूपमा अघि बढ्नुपर्ने हो, समूहको रूपमा चलिरहेको छैन । संवाद, विश्वास जुन खालको हुनुपर्ने हो, समूह बन्नु भनेकै झन् बढी निकटता हुनु हो नि !

तपाईंहरूको समूह महाधिवेशनको समयसम्म एकढिक्का रहन्छ ?

रहन्छ ।

शेखर कोइरालालाई देउवाले आफ्नो समूहको सभापतिको रूपमा अघि सार्ने सम्भावना देख्नुहुन्न ?

राजनीतिमा सबै खाले सम्भावना रहन्छ भन्ने भइहाल्यो नै । शेखर डाक्टरसा’ब र म बीच कुराकानी नै नभएको तिक्तता भएको केही पनि होइन । समूह समूहको रूपमा चलेन भनिरहेको बेलामा सबैको आ–आफ्नो दोष होला । समूहलाई समूह जस्तो बनाउनुपर्छ है भन्नेमा उहाँ, म, अरू छौं । घटनाबाट केही कुरा सिकेर थप सुुधारेर सम्हालेर जान्छौं ।

अरू पार्टीमा यस्तो गुट–गुटको छुट्टै बैठक गर्न गाह्रो छ । कांग्रेसमा गुटको कुरा खुल्लमखुला भन्न सकिने अवस्था छ है ?

प्रत्येक पार्टीको आ–आफ्नो चरित्र हुन्छ । हामीहरू भित्र त्यस्तो खालको तिक्तता नै छैन । को–कोसँग बस्छ, खान्छ, त्यहाँभित्र बडो रोचक हुन्छ के !

बाहिरी रूपमा हेर्दा सभापतिलाई पनि यत्रो तनाव भएको देखिन्छ । उहाँका गएर बस्यो, एक किसिमको हार्दिकता, त्यहाँभित्रको माया–प्रेम हुन्छ ।

त्यस्तो कसरी सम्भव हुन्छ ! केही पनि नमिलेको जस्तो देखिन्छ । तर, सबै कुरा मिलेको हो कि जस्तो पनि देखिन्छ ?

हाम्रो विचारमा फरकपन हो नि ! नजरिया र दृष्टिकोण फरक हो नि ! विश्वास र आदरको सम्मान चाहिं त्यसको कारणले किन तल–माथि गर्ने ? त्यसलाई त आत्मसात् पो गर्नु पर्‍यो नि ! सरकार सञ्चालन गर्ने कुरासँग मेरो मन मिलेको छैन । सरकारले काम गर्न नसकेको हो भने मन्त्री निकाल ।

काम गर्न नसक्ने मन्त्री निकालौं । घर पठाऔं भनी महासमिति बैठकमा भन्नुभयो । पछि उपसभापतिले तपाईंकै कुरा काट्नुभयो । राम्रो काम गरेको भन्नुभयो । कसको कुरा पत्याउने ?

कसैको कुरा पत्याउनै परेन । मान्छेले के फिल गरेको छ भन्ने कुरा हो नि ! सरकारले एकसे एक उत्तम काम गरेको हो भने त आज हामी किन देश संकटमा छ भन्थ्यौ र ? ३३२ पालिकामा हामी सरकारमा छौं, सात प्रदेश र संघमा हामी सरकारमा छौं । हाम्रो सरकारले अभूतपूर्व काम गरेको छ भने त कांग्रेसले छाती पिटेर देश यसरी चलेको छ भन्न पाउने हो नि ! भन्न पाइरहेका छौं त ? कांग्रेसको जुन मञ्चमा गए पनि यता पनि समस्या छ, उता पनि समस्या छ, यो पनि भएन, त्यो पनि भएन भनिरहेका छौं ।

यो कुरा तपाईंको उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भन्नुभएन ?

सरकार जसरी र जुन तरिकाले चलेको छ, सरकारको स्पीडसँग म सन्तुष्ट छैन । यो भित्र बाहिर सबैतिर भनिरहेकै कुरा हो नि !

मेरो त साधारण कुरा छ । कांग्रेस अहिले सरकारमा छ । कहिलेकाहीं सरकारमा भएको बिर्सन्छौं क्या हो भन्छु के म । हामीले समस्या मात्रै देखाएर सुख पाउँछौं ? मिटरब्याजी, सहकारीको समस्या छ । समस्याहरू हल गर्दै आएको हो नि त !

यत्रा समस्याबारे नागरिकहरूले विभिन्न आन्दोलन गर्दै आएका छन् । महासमिति बैठकमा भने जनताका मर्कामा छलफल नै भएन भन्ने गुनासो छ नि ?

त्यसो पनि होइन है ! कांग्रेसका प्रत्येक महासमिति सदस्यले चार मिनेटमा आफ्ना कुरा राख्नुभएको छ । उसलाई जे लागेको छ, त्यसमा २ वा ३ विषय राखेका छन् । कसैले हात्तीले उत्पन्न गरेको समस्याको कुरा गरे होलान् । कसैले सहकारी, मिटरब्याजीको कुरा गरे होलान् ।

२ वा ३ कुरा गर्दा जनजीविकाको कुरा नउठाउने एक जना पनि थिएन । बाहिर चाहिं गठबन्धन, गठबन्धन भन्ने भयो । राजनीतिक विषयले चर्चा पाउने नै भयो । जनजीविकाको विषयमा नबोल्ने एक जना पनि थिएन ।

जसरी बैठकमा विषयहरू मुखरित भए, त्यसलाई कांग्रेसले कसरी कार्यान्वयनमा लैजान्छ भन्ने पनि होला नि ?

ओरियन्टेशन के छ भन्ने महत्वपूर्ण कुरा हो नि ! हामी अहिले सरकारमा छौं । अहिलेको समस्या के हो भनी पहिचान गरौं । भ्रष्टाचार ठूलो इस्यु भयो । सरकार, मन्त्रीहरू माथि पनि प्रश्न छ ।

अर्को कुरा, हामीले बनाउनुपर्ने कानुन एउटा पनि बनाएनौं । अहिलेको अनुकूल समयमा अर्थतन्त्र चलायमान गराउन नसक्ने प्रमुख कारक सरकार हो । अस्ति संसद्मा प्रधानमन्त्रीलाई यही विषय सोधें पनि । प्रधानमन्त्रीले टालटुले जवाफ दिएर जानुभयो । त्यस्तो पनि हुन्छ ? आफ्नो खुत्रुकेमा भएको पैसा पनि खर्च गर्न नसक्ने हुन्छ ? सरकारले आफ्नो खुत्रुकेमा भएको पैसा मात्रै पनि खर्च गरिदिने हो भने अर्थतन्त्र चलायमान हुन्छ । त्यसो भयो भने योभन्दा दुई गुणा राम्रो हुने अवस्था छ ।

जिम्मेवारी लिएको व्यक्तिको क्षमता नभएकाले अर्थतन्त्र चलायमान हुन नसकेको हो भने हटाइदिइहालौं । अरू केही कारण हो भने कारण खोजौं । तर, कारण नखोजेर गीत गाएर बस्ने ? यो पनि राम्रो, त्यो पनि राम्रो भएको छ भनेर बस्ने ?

अर्थमन्त्री सहित अन्य मन्त्रीसँग तपाईंका काफी प्रश्न छन् है ?

किन नहुनु नि ! मज्जाले छ नि !

अर्थमन्त्रीलाई यो कार्यशैली भएन है भन्नुभएको छ ?

सभापतिकहाँ बस्दा अर्थमन्त्रीलाई राखेर पनि भन्यौं । जसरी चलिरहेको छ, पटक्कै चित्त बुझिरहेको छैन । एउटा त त्यहाँ भनियो ।

प्रधानमन्त्रीलाई धेरैपटक भेटेको छु । हामीकहाँ गठबन्धनको संस्कृति नै छैन । प्रधानमन्त्री, सभापति केही जना बस्ने त्यही हो गठबन्धन ? दलहरूको कहिले भेट हुन्छ ? कांग्रेस, माओवादी, समाजवादी बैठक बसेर एक वर्षको सरकारको समीक्षा गर्नुपर्दैन ? अबको थप एक वर्ष जनतालाई के डेलिभर गर्ने छलफल हुनुपर्दैन ? तिनै ४÷५ जना बस्छन् ।

बैठकमा बस्दा जनताका कुरा पनि गर्छन् होला नि ! गर्दैनन् र ?

म पनि कतिपटक ती बैठकमा गएको छु नि ! त्यहाँको एजेण्डा अब राष्ट्रिय सभा अध्यक्षको हुन्छ । एजेण्डाभित्रका कुरा ती पनि हुन् ।

पदीय व्यवस्थापनका कुरा हुन्छन् । गठबन्धन दलभित्रका पदीय व्यवस्थापन र सरकारले गर्ने विभिन्न नियुक्तिहरूको बाँडफाँटका कुरा दलका नेताको छलफलमा हुन्छ । त्यो बाँडफाँट समिति हो । त्यो गठबन्धनको बैठक होइन, बाँडफाँट समितिको बैठक हो । त्यो बैठकमा जानु नै बेकार छ, जहाँ बाँडफाँट बाहेक केही कुरा नै हुन्न ।

तपाईंले बाँडफाँटको राजनीति नगरेर योग्य व्यक्तिलाई त्रिविको उपकुलपति नियुक्त गर्ने कुरा उठाइरहनुभएको थियो । हिजोको निर्णय हेर्दा प्रधानमन्त्री फरक तरिकाले जानुभयो होइन ?

तीन महिना अघि जस्तो होला, प्रधानमन्त्रीले अर्थसँग सम्बन्धित छलफलमा सबै पार्टीलाई बोलाउनुभएको थियो । त्यो छलफलमा म पनि गएको थिएँ । सरकारले गर्नुपर्ने कामहरूको विवरण मैले छलफलमा राखें । पछि म नवलपरासी भएको बेला प्रधानमन्त्रीले फोन गर्नुभयो । तपाईंको कुरा एकदमै चित्त बुझ्यो भन्नुभयो । भेट्नुपर्‍यो भन्नुभएकाले आएर भेटें । प्रोजेक्ट गभर्नमेन्टको आइडियामा काम गर्नुभएको छ, मद्दत गर्नुस् भन्नुभयो । तपाईंलाई मत हालेको सांसद भएकाले मद्दत गर्नु मेरो ड्युटी हो भनें । सफल हुनुस् भन्ने चाहन्छु भनें ।

कुराकानीको अन्तिमतिर प्रधानमन्त्रीलाई एउटा कुरा सुनाए । तपाईंले गर्न खोजेको देखाउने एउटा काम त्रिविको उपकुलपति नियुक्तिको हो मैले भनें । त्रिविको उपकुलपतिमा यस्तो नियुक्ति गरिदिनुस्, त्यसले नागरिकलाई तपाईंले काम गरेको लाग्छ । एकदम उत्साहित हुनुभयो । कसलाई बनाउने भनेर सोध्नुभयो । मैले माथेमा सर जस्तो मान्छे चाहियो भनें ।

प्रधानमन्त्रीसँग भेट भएपछि केदारभक्त माथेमा, कृष्ण खनाल लगायत अरू अरू पनि राखेर छलफल चलाए । प्रधानमन्त्री काम गर्न खोज्दै हुनुहुन्छ, वातावरण बनाइदिऔं भन्ने कुरा भयो । बाहिर बोल्ने, संसदमा बोल्ने, अन्तर्वार्तामा बोल्यौं । हाम्रै दलभित्र कुरा गरें, भाग माग्ने होइन है भनेर । प्रधानमन्त्रीलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ भनें ।

त्रिविको उपकुलपति नियुक्तिमा प्रचण्डको नियतमै खोट रहेछ । मेरा लागि यो टेस्ट केस पनि थियो । प्रधानमन्त्रीलाई बधाई भन्न मन लाग्यो । किन बधाई भने शीर्ष नेताहरूले मौका पाउनासाथ सुशासन, संस्था सबल बनाउने कुराको लेक्चर दिइहाल्ने । तर, मौका पाउनासाथ चाहिं ठ्याक्कै त्यसको उल्टो गर्ने जुन परम्परा छ त्यो परम्परा कायम राख्नुभएकोमा प्रधानमन्त्रीलाई बधाई भन्न मन लाग्यो । प्रधानमन्त्रीले चाहेको भए यसपटक सक्नुहुन्थ्यो ।

उहाँको नियतमा खोट देखियो । जब, पहिलोपटक सूचना आयो । त्यसलाई फिर्ता लिन लगाउनुभयो ।

त्यतिबेला प्रधानमन्त्री सुधारमुखी नै हुनेमा विश्वस्त हुनुहुन्थ्यो ?

थिएँ, थिएँ । अझै पनि ठाउँ छ भन्यौं । कार्यविधिलाई तपाई चाहेको बेलामा रोक्न सक्नुहुन्छ । छनोट समितिलाई पनि थप जिम्मेवारी दिन सक्नुहुन्छ भनी सुझाव दियौं । बाहिरबाट ल्याऊ भन्न सक्नुहुन्छ ।

अलि पछि त उहाँ माओवादी पार्टीको पनि गुटमा जानुभयो । अब के हुन्छ ? म भनिदिन्छु । रजिष्ट्रार कांग्रेसले पाउँछ । सेवा आयोग समाजवादीले छोडेको हुनाले उहाँहरूले पाउनुहुन्छ होला । मध्य र सुदूरपश्चिमको उपकुलपति कांग्रेसले पाउँछ । भागबन्डा कस्तो हुन्छ भने रजिष्ट्रार कस्तो हुनेमा कुलपति र उपकुलपति अब बोल्न नि पाउँदैनन् ।  त्यो त गठबन्धनको अर्को दलले पाएको हुन्छ ।

त्रिविको उपकुलपति नियुक्तिमा प्रचण्डको नियतमै खोट रहेछ । मेरा लागि यो टेस्ट केस पनि थियो । प्रधानमन्त्रीलाई बधाई भन्न मन लाग्यो ।

उपकुलपति कस्तो बनाउनेमा शिक्षामन्त्रीको राय पनि हुन सकेन । सहकुलपतिको कुनै अर्थ नै भएन । गठबन्धनको राजनीतिले बिगारेर कहाँ लगेको छ, हेर्नुस् त !

शिक्षा मन्त्रीको नियुक्तिमा भएको सर्च कमिटी थियो नि ! त्यसले विधि प्रक्रियामा रहेर गरेको कार्यमा तपाईंले किन प्रश्न गर्नुभएको ?

यो त नियतको कुरा हो नि ! यति कुरा त हामी बुझ्छौं नि ! मापदण्ड नपुगेको व्यक्ति आजसम्म कहीं कोही बनेको छ ? यसअघिको भिसी पनि त भागबन्डामा हो नि ! विश्वविद्यालयको मापदण्ड अनुसार बनाउने हो नि !

उच्च शिक्षा विधेयक केही समयमा आउँछ । त्यो विधेयकमा हामीहरू काम गर्छौं । त्यो गज्जब बनाउँछौं, तपाईंले टीम ठिक बनाइदिनुस् भनेर प्रधानमन्त्रीलाई भनेका थियौं । मैले त यसरी भनेको हो, हामी प्रचार गर्छौं तपाईंको । मौका पाएको बेला बोल्ड स्टेप चालेको हामीले प्रचार हुन्थ्यो । मान्छेले साना–साना कामको जज गर्दछ । निराश भइरहेको ठाउँमा साना साना कुराले खुसी दिने त हो नि ! मैले भन्दा उत्साहको कुरा आफैं प्रधानमन्त्रीले गर्नुभएको थियो ।

के कुराले उहाँ पछाडि फर्कनुभयो होला ?

हाम्रा नेताहरूमा भएकै कुराबाट मैले जगाउन खोजेको हो । हामीले अलिकति जगाएका थियौं । जगाएको कुरा गयो ।

हिजोआज तपाईं प्रधानमन्त्रीको आलोचना गर्न थाल्नुभएको छ ?

बाहिरबाट हेर्दै गर्दा भर नलाग्ने मान्छे लाग्छ नि ! तीन महिनाअघि प्रधानमन्त्रीलाई भेटेर तपाईं यही कुरा गर्नुस् भनेको थिएँ । हामीलाई काम चाहियो, परिणाम चाहियो, समय खेर फाल्नुभएन भनें । प्रधानमन्त्रीले काम गर्दै हुनुहुन्छ भनेर बाहिर वातावरण बनाउँदै थियौं । मैले टेस्ट केस विश्वविद्यालयमा उहाँले गर्ने नियुक्तिलाई बनाएको थिएँ ।

तपाईंलाई कृत्रिम रूपमा आशावादी बनाइयो कि ?

छोटो समय मन्त्री भई उहाँसँग काम गरें । मन्त्रीहरूले काम गर्न खोज्दै गर्दा त्यसलाई स्पेस दिने र वातावरण बनाइदिने प्रधानमन्त्री हो । कुनै मन्त्रीले काम गर्छु भन्यो र यहाँनेर मद्दत चाहिन्छ भने नरोक्ने, स्पेस दिने मान्छे चाहिं हो, उहाँ ।

अहिले भने विश्वस्त हुनुभएन ?

मन्त्रीहरूले नगरेको सबै कुरा प्रधानमन्त्रीको टाउकोमा हाल्दिनँ । यो मन्त्रीले गजब काम गर्‍यो भन्ने कुन चाहिं मन्त्री हुनुहुन्छ र ?

प्रधानमन्त्रीमा प्रचण्ड कहिलेसम्म रहनुपर्छ ?

गठबन्धनको अंकगणितले उहाँ अझै एक वर्ष रहनुहुन्छ ।

यो अंकगणितमा वाम बीजगणितको समीकरण त जोडिंदैन नि ?

नजोड्नुहोला । अर्को एक वर्ष यही अंकगणितले भ्याइहाल्नुहुन्छ । अर्को अंक किन जोड्नुहोला र ?

सबैतिर मिलाएर पाँच वर्ष नै लैजान सकिन्छ भन्ने पनि प्रधानमन्त्रीलाई होला नि?

मेरो त सामान्य कुरा छ । एक वर्ष प्रधानमन्त्री हुनुहुन्छ । काम गरिदिनु न ! प्रधानमन्त्री जस्तो भएर कार्यक्षमता गरिदिनुस् । गर्न पाउने काम गरिदिनुस्, तपार्इंको प्रशंसा गर्न पाऊँ ।

तस्बिर र भिडियो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?