+
+

अलैँचीको मूल्य बढेपछि किसान उत्साहित   

रासस रासस
२०८० फागुन १२ गते २०:१०

१२ फागुन, फुङलिङ (ताप्लेजुङ) । कालो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन् । एक मनमा ४० केजी अलैँची हुन्छ ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यस वर्ष अधिकांश अलैँची किसानले प्रतिमन ७० हजारदेखि ८० हजार रुपैयाँसम्ममा बिक्री गरेको जानकारी दिए ।

‘सुरुआतमा प्रतिमन ६० हजार रुपैयाँदेखि अलैँची बिक्री सुरु भएको थियो । दुई साता अघि ८० हजार रुपैयाँसम्म पनि पुग्यो । अहिले प्रतिमन ७१ हजार रुपैयाँमा अलैँची बिक्री भइरहेको छ ।’

अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको फुङलिङ नगरपालिका–५ का अलैँची व्यवसायी दिनेश अधिकारीको भनाइ छ । ‘पछिल्लो समय भारतमा अलैँची उत्पादन कम भएको र अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको हो’, उनले भने ।

अधिकारीका अनुसार यहाँका ८० प्रतिशत किसानले अलैँची बिक्री गरिसकेका छन् । ‘गत वर्षको तुलनामा यसवर्ष अलैँचीको मूल्य अत्यधिक बढ्दा किसान खुसी भएका छन् । अधिकांश किसानले प्रतिमन ७८ हजारदेखि ८० हजार रुपैयाँसम्म अलैँची बिक्री गरेका छन्’, उनले भने ।

अलैँचीको मूल्य पाँच वर्षयताकै राम्रो भएको उनको भनाइ छ । प्रत्येक वर्ष भदौदेखि मङ्सिरसम्म अलैँची टिप्न सुरु हुन्छ भने त्यसपछि बिक्री सुरु हुन्छ ।

ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ भने प्रत्येक वर्ष दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । जिल्लाका ६० वडामा अलैँची खेती हुँदै आएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?