+
+

१० प्रतिशत मूल्य घट्दा पनि बिकेन समाज लघुवित्तको सेयर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १६:५३

१३ फागुन, काठमाडौं । अघिल्लो कारोबार दिनसम्म १० प्रतिशत मूल्य बढेको समाज लघुवित्तको सेयर आइतबार भने १० प्रतिशत नै घट्यो । १० प्रतिशत मूल्य घट्दा पनि बेच्न चाहने लगानीकर्ताले सेयर बेच्न पाएनन् । यस्तो अवस्था अझै केही दिन लम्बिन सक्छ ।

आइतबार प्रतिकित्ता २ हजार २१९ रुपैयाँ ८० पैसामा कम्पनीको कारोबार सुरु भयो । कारोबार सुरु भएपछि कम्पनीको मूल्य नै प्रतिकित्ता २ हजार ३९३ रुपैयाँ ९० पैसासम्म पुग्यो । तर अन्तिम समयतिर सेयरको आपूर्ति बढ्यो, माग भएजति सबैले सेयर पाएर पनि नबिक्ने अवस्था सिर्जना भयो ।

अन्तिम समयतिर कम्पनीको मार्केट डेप्थ हेर्दा सेयर बिक्रीतर्फ २ हजार ८९४ कित्ता सेयर बिक्रीका लागि आदेश पोस्ट भएको थियो, तर खरिदका लागि कोही थिएनन् ।

कमजोर वित्तीय अवस्थाका बाबजुत कम्पनीको मूल्य निरन्तर १० प्रतिशत बढेको थियो । मूल्य बढाएर बेच्नका लागि कारोबारी यस कम्पनीमा सक्रिय थिए । तर यसअघि खरिद गरेका कतिपय लगानीकर्ताको सेयर डिम्याट खातामा नआउँदै मूल्य ओरालो लाग्न थालेको छ । गत बिहीबारसम्म प्रतिकित्ता २ हजा १ सय ७६ रुपैयाँमा पनि कम्पनीको सेयर बिक्री गर्ने थिएनन् । तर आइतबार भने १ हजार ९ सय ५८ रुपैयाँमा सेयर बेच्न खोज्नेहरूले पनि बिक्री गर्न सकेनन् ।

साउनदेखि पुस मसान्तसम्म ६ महिनामा कम्पनी १६ लाख ७० हजार नोक्सानीमा छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ३१ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २६ पैसा छ ।

कम्पनीको मुख्य बिजनेस पनि घट्दै गएको छ । चालु वर्षको दोस्रो त्रैमासमा कम्पनीले २ करोड ८० लाख रुपैयाँ कुल ब्याज आम्दानी गरेको छ, जबकि गत वर्षको यसै अवधिमा ५ करोड ७८ लाख रुपैयाँ थियो । कुल कर्जामा कम्पनीको निष्क्रिय कर्जा ४.०१ प्रतिशत छ । यस्तो कर्जा ठूलो दरमा बढेको छ । गत वर्षको यसै अवधिमा जम्मा ०.०९ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?