+
+

महिला निर्देशक हुँदा प्रश्न किन ? : अभिनेत्री लक्ष्मी बर्देवा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते २२:१३

काठमाडौं । तामाङ भाषाको शब्द नाङ्सालको नेपाली अर्थ हो- बत्ती । पछिल्लो समय नेपाली फिल्म र नाटकमा युवा कलाकारको उपस्थिति बढ्दै गइरहेको छ ।

कलाको उज्यालोमा होमिन आएका लक्ष्मी बर्देवा र बिजय बरालले कलाकारिताको सम्भाव्यतामाथि बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सव २०८० को दोस्रो दिन नाङ्साल सेसनमा आफ्नो कला यात्रालाई सम्झिए ।

सहजकर्ता केदार श्रेष्ठले यी दुई कलाकारलाई कलाकारिता र समाजको समृद्धिको चाहनाको अन्तर, सामिप्यता, कलाकारको जीवनयापन र वर्तमान कला परिवेशको बारेमा प्रश्न सोधेका थिए ।

दुवै कलाकारले कला क्षेत्र उज्यालो भएरै युवा आकर्षण बढेकोमा सहमति जनाए । तर, यो क्षेत्रमा आउन अध्ययन र पर्याप्त तयारीको आवश्यकता हुनेमा उनीहरुको जोड थियो ।

सत्रमा अभिनेत्री बर्देवाले भनिन्, ‘समाजमा भइरहेको परिवर्तनले कलामा प्रत्यक्ष प्रभाव पार्छ । जति–जति समाज परिवर्तन हुँदै गयो, त्यसलाई देखाउने कलाकारिता पनि समयअनुसार परिमार्जन भइरहेको हुन्छ । समाजको समृद्धिलाई कला–साहित्यले नै टेवा दिने हो ।’

बरालको धारणा पनि मिल्दोजुल्दो थियो, उनले भने, ‘समाजसँगै कलाकारिताको पनि विकास हुँदै जान्छ । समाजमा भौतिक उन्नतीसँगै कलाकारिताको उपयोगितालाई पनि कम आकलन गर्न सकिन्न ।’
फिल्म र रंगमञ्चको प्राविधिक पक्ष फरक भए पनि अभिनयमा भने समानता हुने धारणा विजयको थियो । लक्ष्मीले भने महिला कलाकारले अभिनय गर्दैगर्दा खासै विभेद सहनु नपरे पनि निर्देशकको भूमिकामा आउँदा भने चलचित्र उद्योगभित्रैका व्यक्तिलाई स्वीकार्न गाह्रो भइरहेको बताइन् ।

उनी भन्छिन्, ‘मैले कलाकार भएर मात्र आउँदा त्यस्तो ठूलो अन्तर हुने रहेनछ । निर्देशक भएर आउँदा महिलाको बुद्धिमाथि नै प्रश्न उठ्ने रहेछ । महिलाको दिमाग यसरी चल्दैन भन्ने हिसाबमा चलचित्र क्षेत्र भित्रकै व्यक्तिहरूले औंला उठाए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?