+
+

टी-२० आई त्रिकोणात्मक सिरिज : नेपालले आज नामिबियासँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते ७:२०

१५ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालको रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले कप्तानी गर्नेछन् ।

नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ । लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ ।

कुशल भुर्तेल, अनिल शाह, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी टी-२० का प्रमुख ब्याटर हुन् । यी चार खेलाडी प्रदर्शनमा टोलीको योगफल निर्धारण हुनेछ ।

ओपनर कुशलबाट नेपाल आक्रामक सुरुवात चाहन्छ । कुशलले २९ टी-२० आईमा एक शतक र ७ अर्धशतकसहित ९१५ रन बनाएका छन् ।

उता कुशल मल्ल विष्फोटक ब्याटर हुन् । उनी चलेको खण्डमा नेपालले एकै ओभरमा खेललाई मोड्न सक्छ । अनिल राम्रो लयमा देखिंदै टोलीमा पुनरागमन गरेका छन् ।

दीपेन्द्र प्रमुख अलराउन्डर हुन् । पछिल्लो समय ग्लोबल टी-२० क्यानडा र इन्टरनेशनल लिग टी-२० यूएईको अनुभव बटुलेका छन् । नेपाली क्रिकेटका टाइगर भनिने उनी फिनिसरको रुपमा हुनेछन् । ५३ टी-२० आई खेलमा दीपेन्द्रले १३४४ रन बनाएका छन् । २५ विकेट पनि लिएका छन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उनको योगदान महत्वपूर्ण हुनेछ ।

बलिङमा भने नेपालले ध्यान दिनुपर्ने हुन्छ । सोमपाल कामी र करण केसी खेल्नेछन् । यी दुवै राम्रो ब्याटिङ गर्दछन् । अर्का तीव्र गतिका बलर गुलशन झा भने टोलीको रणनीतिमा भर पर्नेछन् ।

नेपालले डेथ ओभर स्पेलिष्ट अभिनाश बोहरालाई खेलाउन सक्छ । गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध अभिनाशले एकै ओभरमा २१ रन खर्चेका थिए ।

डेढ महिनाअघि प्रधानमन्त्री कप खेल्ने समयमा मधेशविरुद्ध खेल्दा हातको नाँडीमा चोट लागेपछि शल्यक्रिया गरेका अभिनाशको मैदानमा पुनरागमन गर्ने सम्भावना छ । पूर्ण फिट नभएको अवस्थामा भने विश्रााम गर्न सक्छन् ।

चौथो तीव्र गतिको बलिङ अलराउन्डरमा विवेक यादव हुनेछन् । गुलशनलाई खेलाउँदा पाँच तीव्र गतिका बलर टोलीमा खेल्नेछन् ।

ललित राजवंशी प्रमुख स्पिनर हुनेछन् । दीपेन्द्र र कुशल मल्ल पार्टटाइम स्पिनर हुनेछन् । डेथ ओभर बलिङ नेपालको समस्याको रुपमा रहँदै आएको छ ।

उता नामिबियाको टोली पनि मजबुत छ । डेभिन निकोलस, कप्तान जेराल्ड इरास्मस र जेजे स्मिथ प्रमुख हतियार हुन् । डेभिनले गत नोभेम्बरमा जिम्बावेलाई हराउन ८९ रनको इनिङ खेलेका थिए ।

त्यसअघि जिम्बावेसँगको टी-२० आई सिरिजमा ८० र ६० रनको इनिङ लगातार खेलेका थिए । उनी आक्रामक इनिङको लागि चिनिन्छन् । जेजे र इरास्मस दुबै अलराउन्डर हुन् । राम्रो लयमा पनि छन् ।

तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान पनि घातक बन्नसक्ने खेलाडी हुन् । जान फ्रेलिंक र जान निकोल लोफ्टी पनि राम्रो अलराउन्डर मानिन्छन् ।

नेपाल र नामिबियाबीच पहिलो पटक टी-२० आई खेल हुँदैछ । त्रिकोणात्मक सिरिज नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?