+
+

भ्रष्टाचारको डिल नेपालबाहिर गएर हुन थालेको छ : अख्तियार प्रमुख राई

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १५:३३

१५ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालभित्रको भ्रष्टाचारको कारोबार पनि विदेशमा हुने गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले विदेशमा हुने भ्रष्टाचारको कारोबारको सूचना पाउन धेरै मुश्किल भएको बताए ।

‘करप्सनको क्षेत्र नेपालभित्र होइन बाहिर गएर डिलिङ हुन थालेको छ, ती देशबाट सूचना प्राप्त गर्न समस्या छ’, उनले भने ।

नेपालले अरु देशहरुसँग पारस्परिक कानुनी सहायतासम्बन्धी द्विपक्षीय समझदारी नगरेकाले अहिले ती देशका निकायहरुले सूचना दिन अस्वीकार गरेको प्रमुख आयुक्त राईले बताए । नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिदसम्बन्धी कतिपय सूचनाहरु अरु देशका निकायहरुसँग लिनुपर्ने देखिएको तर पारस्परिक कानुनी सहायतासम्बन्धी समझदारी नहुँदा लिन नसकेको उनको भनाइ छ ।

‘वाइवडबडी खरिदको सम्वन्धमा अनुसन्धान गरिरहेका छौं, करिब करिब अन्तिम चरणमा पुर्‍याएका छौं । अनुसन्धानकै विषय भएकाले त्यो भन्दा बढी भन्दिन’, उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना संकलन गर्नुपर्ने अवस्था हो । तर अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना ल्याउन धेरै कठिनाइ छ ।’

प्रमुख आयुक्त राईका अनुसार धेरै निकायमा सूचना लिन पत्राचार गरे पनि देशहरुबीच द्विपक्षीय समझदारी नभएको कारण देखाएर सूचना दिन अस्वीकार गरेका छन् ।

‘नेपाल सरकारले चाँडो भन्दा चाँडो हामीलाई आवश्यक पर्ने देशसँग बाइल्याटरल एग्रिमेन्ट गर्नुपर्छ, त्यो गरिसकेपछि संसदबाट अनुमोदन गरिनुपर्छ । अहिलेसम्म एउटा देशसँग (बाइल्याटरल एग्रिमेन्ट) भएको होला त्यो पनि संसदबाट अनुमोदन भएको छैन’, उनले भने ।

पारस्परिक कानुनी सहायतासम्बन्धी द्वीपक्षीय समझदारी गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिनुपर्ने प्रमुख आयुक्त राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?