+
+

धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न कार्यविधि तयार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १७:५०

१५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि बनाएको छ । अध्यक्ष नियुक्तिका लागि आवश्यक कार्यविधि तयार पारेसँगै अध्यक्षका लागि आवदेन आह्वान गर्ने बाटो खुलेको छ । १५ दिनको समय अवधि राखेर आवेदन आह्वान गर्न सक्नेगरी कार्यविधि बनेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव र विज्ञ सदस्य व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेको सिफारिस समिति गठन गरेको थियो ।

२० पुसमा तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड करिब २ महिना यता अध्यक्षविहीन रहेको छ ।

अध्यक्ष रिक्त भएको १५ दिनपछि ४ माघमा सरकारको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । समिति गठन भएको ४० दिन कटेपछि बल्ल अध्यक्ष सिफारिसका लागि आवश्यक कार्यविधि स्वीकृत भएको छ ।

बोर्ड अध्यक्षका लागि आवेदन दिन मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

यस्तै ३० वर्ष उमेर पूरा भई ६५ वर्ष नकटेको नेपाली नागरिक हुनुपर्नेछ ।

अध्यक्षका लागि आवेदन दिने उम्मेदवारले पाँच हजार शब्दमा नबढ्ने गरी व्यावसायिक कार्ययोजना तयार गरी चार प्रति पेश गर्नु पर्ने कार्यविधीमा उल्लेख छ ।

यस्तै प्रतिस्पर्धामा भाग लिन सेवारत निकायबाट विभागीय स्वीकृति प्रदान गरिएको पत्र संलग्न गर्नु पर्नेछ ।

दरखास्त साथमा आवेदक कुनै राजनीतिक दलको सदस्य नभएको, नेपाल धितोपत्र बोर्डसँगको ठेक्कापट्टा वा कुनै चलअचल सम्पत्ति कारोबारमा आफैं वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नरहको वा बोर्डसँग निजी स्वार्थ नभएको स्वयम् घोषणा विवरण संलगन गर्नुपर्नेछ ।

भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागूऔषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको स्वःघोषणा गरेको कागजात उम्मेदवारले नै प्रमाणित गरी पेस गर्नुपर्ने हुन्छ ।

अध्यक्षका लागि आवेदन दिने उम्मेदवारले व्यावसायिक कार्ययोजना पेस गर्नुपर्ने हुन्छ । पूँजीबजारको सैद्धान्तिक पृष्ठभूमि एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृश्य’ तथा ‘नेपाल धितोपत्र बोर्डको संगठनात्मक विश्लेषण’ का साथै पूँजीबजारको विकास तथा धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण लगायका विषय कार्यायोजनामा समावेश गर्नुपर्ने हुन्छ ।

यस्तै अध्यक्षका लागि तोकिए बमोजिमको काम, कर्तव्य र अधिकार समेतका आधारमा नेपाल धितोपत्र बोर्डको नियामकीय भूमिकाको थप प्रभावकारिताको लागि चालिनु पर्ने नीतिगत, रणनीतिक तथा कार्यगत सुधारका कदमहरू समावेश भएको समयसारिणी सहितको कार्ययोजना हुनपर्ने कार्यविधिमा उल्लेख छ ।

अध्यक्षको मूल्यांकन गर्दा व्यावसायिक कार्ययोजनाका लागि १०० मा ४० अंक रहेको कार्यविधिमा उल्लेख छ । यस्तै शैक्षिक योग्यताको १२ अंक, व्यावसायिक कार्ययोजना प्रस्तुतिकरणको १८ अंक र अन्तर्वार्तको ३० अंक रहेको  कार्यविधिमा उल्लेख छ ।

कार्यविधिको आधारमा समितिले आवेदन दिएका मध्येबाट ३ जना छनोट गरी नियुक्तिका लागि सिफारिस गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?