+
+
रवीन्द्र अधिकारीको छैटौं स्मृति दिवस :

जहाँ अझै रवीन्द्रलाई नै खोजिरहन्छन् आँखाहरू

अमृत सुवेदी अमृत सुवेदी
२०८० फागुन १६ गते ९:२०

१६ फागुन, पोखरा । पछिल्ला केही वर्षयता पोखरामा एउटा नियमित कार्यक्रमको सूचीमा थपिएको छ, ‘पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृति सभा ।’

पार्टीको आन्तरिक जीवनमा प्रतिस्पर्धी र तिक्ततापूर्ण सम्बन्ध भएका नेता पनि मृत्युपछि भने रवीन्द्रलाई खोटरहित नेताका रुपमा व्याख्या गर्ने गरेका छन् ।

कास्कीका विभिन्न पार्टीका केही नेताले मंगलबार पनि रवीन्द्रका नाममा प्रशंसाका शब्ददहरू खर्चिएर उनको स्मृति गरे ।

रवीन्द्रको शालिक ठडिएको पोखरा-१८ मेथ्याङको जामुनबोटदेखि जन्मगाउँ पोखरा-३३ गैरीगाउँको जामुनबोटसम्म उनको योगदान र व्यक्तित्वको चर्चा भएको छ ।

पूर्वपर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको ६ वर्ष पुगिसक्दा पनि उनको जन्मथलो गैरीगाउँवासीले भने उनको अभाव महसुस गरिरहेका छन् भने अझै पनि रवीन्द्र सम्झिएर भक्कानिइरहेका छन् ।

६ वर्षअघि २०७५ फागुन १५ गते ताप्लेजुङमा पर्यटनमन्त्री अधिकारी चढेकै हेलिकप्टर दुर्घटनामा परेपछि उनीसहित ७ जनाको ज्यान गएको थियो । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले हरेक वर्ष उनको स्मृतिमा पोखरामा कार्यक्रम गर्दै आएको छ ।

गैरीगाउँवासीले भने अझै पनि रवीन्द्र हँसिलो मुहारका सााथ हात हल्लाउँदै आउँछन् कि जस्तो लागिरहने बताउँछन् ।

रवीन्द्रको जन्मघरमा श्रीमती विद्या र बुवा आफन्तहरूसँग ।

भरतपोखरीबाट अन्यत्र आउजाउ गर्दा होस् वा पानी खाँदा गाउँलेले रवीन्द्रलाई सम्झिरहेका छन् । सबैभन्दा बढी अभाव र समस्यामा गाउँलेले हर पल रवीन्द्रलाई सम्झिएर आँखाले उनैलाई खोज्ने गैरीगाउँवासीले सुनाए ।

मंगलबार दिउँसो रवीन्द्रको घर पुग्दा गाउँले र आफन्तहरु पिँढीमा भेला भएर बसिरहेका थिए । रवीन्द्रको मृत्यु भएपछि बाबुआमाले पनि चटक्कै गाउँ छाडे र कहिले पोखरा त कहिले काठमाडौं बस्न थाले । त्यसपछि उनको घरमा आफन्त बस्ने गरेका छन् ।

उनको घर र आडैमा रहेको स्मृति भवनको कार्यक्रमका लागि जम्मा भएका गाउँलेले बाटो, खानेपानी, स्कुल र गाउँका हरेक समस्यामा रवीन्द्रको अभाव खडि्कने सुनाए । ‘उनकै कारण गाउँममा मोटरबाटो आयो, खानेपानी आउँदै थियो, उनी भएको भए स्याङ्जाको सुरौंदीसम्म अहिले पक्की बनिसक्थ्यो, अहिले धुलो खानुपरेको छ,’ चेतनशील आमा समूहको अध्यक्षसमेत रहेकी सरस्वती आचार्यले भनिन्, ‘विकास त हुँदै थियो, त्योभन्दा पनि रवीन्द्र हाम्रो गाउँको हो भन्ने छुट्टै गर्व हुन्थ्यो । अहिले उनलाई सम्झिंदा पनि भक्कानो छुट्छ ।’

६ वर्षअघि विकासप्रेमी युवा नेता रवीन्द्रको श्रद्धाञ्जली सभा र शवयात्रामा पोखरामा जनसागर नै उर्लिएको थियो । मिजासिलो र सरल स्वभावका रवीन्द्रले कमैलाई चिड्याएकै कारण सबै पार्टी र सबै नेताले उनको मृत्युमा ठूलो क्षतिको महसुस गरेको थियो ।

अहिले विकास र पोखराको नेतृत्व गर्ने सन्दर्भमा रवीन्द्रको बेलामौकाममा चर्चा भइरहने भए पनि उनको झझल्को भने बिस्तारै हराउँदै गयो । तर, गैरीगाउँवासीलाई भने अझै पनि एउटै थकथकी छ, ‘पहिले पटक देशको मन्त्री त भए तर रवीन्द्र देशकै नेतृत्वमा पुगेको हेर्ने धोको पूरा भएन ।’

रवीन्द्रका बालसखा पोखराका मेयर धनराजले रवीन्द्रको सम्झनामा गैरीगाउँवासीको आँखा ओभानो हुन नसक्ने बताए । ‘रवीन्द्रजी हाम्रो बीचमा हुनुहुन्न भन्ने स्वीकार्नै पर्‍यो तर यहीकतै हुनुहुन्छ र हाँस्दै हात हल्लाउँदै आउनुहुन्छजस्तो लाग्छ,’ मेयर  धनराज आचार्यले भन्छन् ।

छोराको स्मृतिमा गाउँ पुगेका रवीन्द्रका बुबा इन्द्र अधिकारीसँग गाउँलेसँग छोराकोबारे यतिसाह्रै कुरै गर्दैनन् भने गाउँले पनि उनीसँग रवीन्द्रबारे ज्यादा कुरा गर्दैनन् । कुरै निक्लियो भने दुवैका आँखा रसाउँछन् ।

गाउँकै छोरो भए पनि रवीन्द्रले विद्यार्थी कालदेखि नै अभिभावकत्व निर्वाह गरेका थिए । ‘गैरीगाउँ यस्तो गाउँ थियो, जहाँ एक घर एक शिक्षकजस्तो थियो र सबैजसो वामपन्थी थिए । तर, रवीन्द्र हाम्रो पुस्ता माले बनेको थियो,’ रुद्रप्रसाद क्रान्तिकारीले सुनाए, ‘कठिन संघर्षसँग जुध्दै पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुँदै एमालेको जिल्ला नेतृत्व गर्दै सांसद, विकास समितिको सभासम्म पुग्दा रवीन्द्र देशकै भर्भराउँदो नेता बनिसकेका थिए, जुन भरतपोखरीका लागि ठूलो कुरा थियो ।’

मंगलबार अधिकारीको स्मृतिमा गाउँलेहरु कोही भक्कानिए त कोही हात हल्लाउँदै गाउँको दुखपीर बुझ्दै हिंड्ने आउँछन् किजस्तो लाग्ने सुनाए ।

रवीन्द्रले कास्कीबाट प्रतिनिधि सभामा ३ पटक लगातार चुनाव जितेर इतिहास रचेका थिए ।

अधिकारी कास्कीको मात्र होइन देशकै नेता बनेको हेर्ने चाहना गाउँलेको थियो ।

गाउँलको चाहनाले अधिकारीको मृत्युलाई रोक्न नसके पनि छोटो समयमा गरेको प्रगति र निभाएको भूमिकाको स्मरण गरिरहेका छन् ।

अधिकारी जन्मेहुर्केको र राजनीतिक जीवन सुरु गरेको जन्मघरमा भेला भएका स्थानीयका कहिले आँखा रसाए भने कहिले उनको मृत्युले गाउँ नै टुहुरो बनेको दुखेसो पोखे ।

एमालेबाट फुटेको तत्कालीन मालेबाट पहिलो चुनावमा हार बेहोरे पनि पार्टी एकीकरणपछिका चुनावमा कास्कीका जनताको अपार माया पाएका थिए अधिकारीले ।

अधिकारीको मृत्युपछि भरतपोखरी, निर्मलपोखेरीलगायत दक्षिणी क्षेत्रले सबैभन्दा बढी आफ्नो नेतृत्व गुमाएको महसुस गरेको थियो ।

कास्की क्षेत्र नम्बर २ का जनताले रवीन्द्रपछि पत्नी विद्या भट्टराईलाई उपनिर्वाचन २ चुनावमा जिताए । रवीन्द्रकै बालसखा धनराज आचार्य पोखराको मेयर छन् । भरतपोखरी गैरीगाउँमा मात्र करिब २ सय घर परिवार छन् ।

रवीन्द्रको निधनपछि पनि विद्या र धनराजलाई पोखराको दक्षिणी क्षेत्रले ठूलो भरोसाको मत दिएको वुद्धिजीवी परिषद्का कृष्णप्रसाद आचार्यले बताए । गैरीगाउँबाटै हुर्किएका नेता रश्मी आचार्यले रवीन्द्र सिंगो कास्की र पोखराकै निम्ति केन्द्रमा लबिइङ गर्न सक्ने नेताका रुपमा व्याख्या गरे ।

जन्मघरकै आडमा बनेको स्मृति भवनमा उनको सम्झनामा नेताहरुले रवीन्द्रको स्मरणमात्र गरेनन्, उनका सपना पूरा गर्ने बाचासमेत गरे ।

गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, संघीय सांसद दामोदर बैरागी, प्रदेश सांसद भीम कार्की, पूर्वसांसद कृष्ण थापाले कास्कीले अब त्यतिको नेता पाउन नसक्ने बताएका थिए ।

रवीन्द्रका बालसखा पोखराका मेयर धनराजले रवीन्द्रको सम्झनामा गैरीगाउँवासीको आँखा ओभानो हुन नसक्ने बताए । ‘रवीन्द्रजी हाम्रो बीचमा हुनुहुन्न भन्ने स्वीकार्नै पर्‍यो तर यहीकतै हुनुहुन्छ र हाँस्दै हात हल्लाउँदै आउनुहुन्छजस्तो लाग्छ,’ मेयर आचार्यले भने, ‘४०/४५ वर्ष त मैले उहाँसँग संगत गरे । देशले आशा भरोसा गरेको नेता गुमायो, हामीले अभिभावक गुमायौं । तर, हामी उहाँकै पद्चाप पछ्याइरहेका छौं ।’

सँगै विद्यार्थी राजनीति गरेर विवाहपछि रवीन्द्रका निम्ति त्याग गरेर प्राध्यापनतिर लागेकी पत्नी विद्या भट्टराईलाई अधिकारीको मृत्युपछि एमालेले टिकट दिएपछि कास्की-२ का मतदातासँग जोडिन आइपुगिन् ।

रवीन्द्रलाई जनताले देखाएको अपार मायाकै कारणले आफूलाई पनि उपनिर्वाचन र पछिल्लो आम निर्वाचन जिताएको भट्टराईले बताइन् ।

देश ३ तहको संघीय संरचनामा गइसकेपछि सांसदले गर्नुपर्ने धेरै काम अहिले कम भए पनि जनताले विकासकै खोजी गर्ने तर अहिले संसदमा पनि राम्रै भूमिका निभाएको छ भनेर हौसला पाइरहेको सुनाइन् ।

‘आज पनि रवीन्द्र अधिकारीको अभाव यो ठाउँले खपिरहेको छ । किनभने आशा र अपेक्षा बोकेको नेता गुमाउँदा पीडा अहिले पनि भइराखेको छ,’ विद्याले भनिन्, ‘त्यो पीडामा मल्हम लगाउँदै अगाडि बढ्न हामी धेरै यात्री उहाँहरुले पाउनुभएको छ । त्यही कारणले धेरै कुरा गर्न सक्ने हिम्मत पनि आर्जन गरेको छु ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?