+
+

आज भरतमोहन अधिकारीको स्मृति दिवस मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते ९:२८

१८ फागुन, काठमाडौं । आज वामपन्थी नेता स्वर्गीय भरतमोहन अधिकारीको पाचौं स्मृति दिवस मनाइँदैछ ।

‘भरतमोहन अधिकारी स्मृति फाउण्डेशन’ ले आज काठमाडौंको चन्द्रागिरिमा एक कार्यक्रम आयोजना गरेको छ ।

अधिकारी पुत्री एवं फाउण्डेशनकी सदस्य लीमा अधिकारीका अनुसार स्मृति दिवसको अवसर पारेर चन्द्रागिरि नगरपालिका-१३ स्थित कंकाली माविका छात्रछात्रालाई आत्मनिर्भर बनाउन सिपमूलक प्राविधिक तालिम आयोजना गरिएको छ ।

विद्यालयका कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी विषय विज्ञहरुबाट अंग्रेजी भाषा सिकाईका साथै इलेक्ट्रिक, इलेक्ट्रोनिक, प्लम्बिङ, कम्प्युटर र डिजिटल मार्केटिङसम्बन्धी एक महिने तालिम दिन लागिएको लीमाले बताइन् ।

नेपालको शिक्षा कामसँग नजोडिएका कारण शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो जस्तो बनेकाले विद्यालय उमेरमै सिप सिकाउन सकिए युवा पलायन रोक्न सकिने विश्वास आफूहरुले लिएको उनको भनाइ थियो ।

स्मृति दिवसमा नेता आउने, बुबाको योगदानको र व्यक्तित्वको चर्चा गर्ने र गएपछि बिर्सने जस्तो नहोओस् भन्ने आफूहरुको चाहना रहेको अधिकारीले उल्लेख गरिन् ।

कार्यक्रमको पहिलो दिन रास्वपा नेता रमेश प्रसाईंले ‘नेपालमै सम्भव छ’ शीर्षकमा विद्यार्थीहरूलाई मोटिभेसनल तालिम दिने पनि प्रतिष्ठानले जनाएको छ ।

विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा जन्मिएका भरतमोहनको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते काठमाडौंमा निधन भएको थियो ।

अधिकारीले वामपन्थी आन्दोलनमार्फत नेपालको राजनीतिक परिवर्तन, राजनीतिक अर्थशास्त्र तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन् ।

अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातकसम्मको अध्ययन गरेका अधिकारी पञ्चायतकालीन समयमा चर्चित अधिवक्ता थिए । २०४७ सालको संविधान मस्यौदा समितिमा रहेर उनले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अर्थमन्त्री थिए । उनले नै ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रममार्फत हरेक स्थानीय तहमा सीधै रकम पठाउने कामको सुरुआत गरेका थिए ।

तत्कालीन अर्थमन्त्रीका रुपमा बजेटमार्फत अधिकारीले मासिक एक सय रुपैयाँ वृद्धभत्ता र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?