+
+

जितेन्द्र देवको आक्रोश : मठाधीश साथीहरुले नेतृत्वलाई कब्जा गरे

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १३:४६

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र देवले संविधान संशोधन गरेर राष्ट्रिय सभालाई बलियो बनाउन माग गरेका छन् ।

६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुनु अघिल्लो दिन शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सम्बोधन गरेका देवले राष्ट्रिय सभालाई बलियो बनाउनुपर्नेमा जोड दिए । संविधान बनाउने बेला नै राष्ट्रिय सभालाई प्रतिनिधिमुलक, अधिकार सम्पन्न र गुणस्तरीय बनाउने कि नबनाउने भन्ने बहस भएको स्मरण गर्दै उनले भने, ‘गणितीय रुपमा त्यो विचारले जित्यो, जसले राष्ट्रिय सभालाई कमजोर बनाउने र प्रतिनिधिसभालाई मात्र अगाडि राख्न चाह्यो ।’

जसले राष्ट्रिय सभालाई अधिकार सम्पन्न बनाउन हुन्न भनेर भूमिका खेले, उनीहरुले नै लामो समयसम्म प्रतिनिधिसभामा प्रभुत्व जमाएर बसेको उनले बताए । त्यही कारण संयुक्त नियमावली बनाउने बेलामा समेत राष्ट्रिय सभाले सर्वसम्मत पास गरेका ५ वटै संशोधन स्वीकार नगरिएको भन्दै उनले भने, ‘प्रतिनिधिसभाका ती मठाधीश साथीहरु, जसले नेतृत्वलाई कज्याएका छन्, कब्जा गरेका छन् र नेतृतवले पनि उनीहरुलाई मात्र बडा परिपक्क सांसद ठान्छन्, तिनीहरु टसकामस भएनन् । त्यसैले राष्ट्रिय सभा कमजोर हुन पुग्यो ।’

राष्ट्रियसभाप्रति पार्टीकै शीर्ष नेताहरुको दृष्टिकोण पनि सकारात्मक नभएको उनले बताए ।

‘नेपाली कांग्रेसभित्र राष्ट्रिय सभाका सदस्यहरुले आफ्नो दलको नेता छान्ने अधिकार पाएका छैनन्’ देवले भने, ‘यस्तो पनि कहीँ हुन्छ ? दलको सदस्य हुने, दलको नेता छान्न नपाउने ?’

आफ्नो ६ वर्षको निचोड भन्दै उनले राष्ट्रियसभालाई बलियो बनाउन नेताहरुलाई आग्रह गरे ।

कांग्रेस सांसद देवले भने, ‘केन्द्रीय नेताहरुलाई आग्रह गर्न चाहन्छु, अन्तर्राष्ट्रिय स्ट्रयाण्डरको आधार बिन्दु मानेर संविधानलाई खुला गरौं र राष्ट्रिय सभालाई बलियो बनाऊँ ।’

कांग्रेस राष्ट्रियसभा सदस्य देवले ६ वर्षको कार्यकालमा आफूले एउटा विधेयकमा गल्ती गरेको भन्दै अबका दिनमा नगर्ने बताए । ‘आफ्नो बुद्धिले भ्याएसम्म जति राम्रो गरे पनि एक ठाउँमा गल्ती गरेँ एउटा विधेयकको सन्दर्भमा’ उनले भने, ‘त्यो परिस्थितिजन्य थियो, तथापि म आत्मालोचना गर्न चाहन्छु ।’

लेनिनले गल्ती नगर्ने देउता मात्र हुन्छ, जो बारम्बर गल्ती गर्छ, त्यो बद्मास हुन्छ भनेको भन्दै उनले भने, ‘मैंले एक चोटी गल्ती गरेको छु, बारम्बर गल्ती गर्दिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?