+
+

रङ्गकर्मी खतिवडाको कथा सङ्ग्रह अकथ्य सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १९:२२

१९ फागुन, काठमाडौँ । रङ्गकर्मी प्रवीण खतिवडाको पहिलो कथा सङ्ग्रह अकथ्य सार्वजनिक भएको छ ।

विश्लेषक सीके लाल, साहित्यकार एवम् कलाकार सगुना शाह, कलाकार सौगात मल्ल र लेखक खतिवडाले एक समारोहकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पुस्तकको लोकार्पण गरेका थिए । खतिवडाको कथा सङ्ग्रहमा नौ वटा कथा समेटिएका छन् ।

पुस्तक विमोचन गर्दै विश्लेषक सिके लालले खतिवडाले आँसु, आवेग र परिवर्तनको चाहनाका कथा लेखेको र ती कथा पाठकलाई सोच्न र यथास्थितिमाथि प्रश्न गर्न बाध्य पार्ने खालको भएको टिप्पणी गर्नुभयो ।

‘केन्द्रीय पात्रहरुलाई स्थापित गरेर नाटक र सिनेमाको उतारचढावयुक्त संरचनामा लेखिएका कथाहरु पुस्तकमा छन्’, विश्लेषक लालले भने, ‘सायद त्यही भएर कथाहरुमा सहायक पात्र गौण छन् ।’

यसैगरी साहित्यकार एवम् कलाकार सगुना शाहले प्रवीणका कथाहरु गम्भीर र गहन भएको टिप्पणी गर्नुभयो ।

कलाकार सौगात मल्लले खतिवडासँग रङ्गमञ्चदेखि चलचित्रसम्म आफ्नो सहकार्य हुने गरेको चर्चा गरे । ‘कथा लेख्ने, सृजनात्मक लेखन गर्ने कुरा त हामीबीच हुन्थ्यो । म लेख्ने काममा अलमल गरिरहेको थिएँ’, मल्लले भने, ‘तर मेरो भाइले मलाई सृजनात्मक लेखनमा उछिन्यो ।’

लेखक खतिवडा नेपाली रङ्गमञ्चका व्यस्त कलाकार र निर्देशक हुन् । अभि सुवेदीद्वारा लिखित तथा सुनील पोखरेलद्वारा निर्देशित आरोहण गुरुकुलको चर्चित नाटक अग्निको कथा (२०६०) बाट उनले रङ्गमञ्चको अभिनय यात्रा अघि बढाएका थिए ।

त्यसयता उनले रशोमन, मार्क्स फर्किए, न्यायप्रेमी, घनचक्कर, पानी फोटो, बाघ भैरव जस्ता तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् । त्यस्तै ध्रुव, महादेवको बाजी, लखन पटवारी, हेड्डा ग्याब्लर, ऊ कसको, सरजमिन, मिमांशा, मार्क्स फर्किए, विमोक्ष आदि नाटकको निर्देशनसमेत गरिसकेका छन् ।

खतिवडाले नेपाली चलचित्रमा समेत अभिनय गर्दै आएका छन् । लुटबाट चलचित्र अभिनय यात्रा थालेका खतिवडाले लुट २, ढुवानी, विना कारण, कालो पोथी, जात्रा, रङ्गेली, महाजात्रा, मनसरा, उमा, द स्पोन्सर, मिस्टर झोले, खाग आदि चलचित्रहरूमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?