+
+

प्रतिशले जितेको विश्वास

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १९:४४

१९ फागुन, काठमाडौं । एसोसिएटको बादशाह नेदरल्याण्ड्समाथि ६ विकेटको जित हात पार्दै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पुगेको छ ।

प्रतिश जिसीको प्लेयर अफ द म्याच प्रदर्शनको मद्दतमा नेपालले डच टोलीलाई १२० रनमै अलआउट ग¥यो, अनि १५.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

बुधबार यही मैदानमा नेपालले जितनजिक पुगिसकेको अवस्थामा २ रनले नतिजा नेदरल्याण्ड््सलाई सुम्पिएको थियो । जितको लागि अन्तिम २ बलमा ४ रन मात्र चाहिएको थियो, तैपनि नेपालले जित्न सकेन । त्यो दुबै बल प्रतिश जिसीले खेलेका थिए ।

जितका लागि १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपाललाई अन्तिम ओभरमा ६ बलमा १५ रन आवश्यक थियो । स्पिनर भान डर मर्वेलाई दीपेन्द्रसिंह ऐरीले सुरुवाती दुई बलमा चौका र छक्का प्रहार गरे ।

तेस्रो बलमा दुई रन लिनेक्रममा करण केसी रन आउट भए । चौथो गुड लेन्थको बलमा स्वीप सट खेलेका दीपेन्द्र मिस हुँदा बोल्ड हुन पुगे । त्यसपछि ब्याटिङमा प्रतिश आएका थिए ।

बुधबार नेदरल्याण्डसविरुद्ध राम्रो प्रदर्शन गर्न नसकेकै कारण प्रतिशले शुक्रबार नामिबियाविरुद्ध खेल्न नपाएको भए मनोबल गिर्न सक्यो । तर उनले शुक्रबार अवसर पाउँदा प्रमाणित गरेर देखाए ।

जितको लागि २ बलमा ४ रन चाहिएको थियो । नन स्ट्राइकमा गुल्सन झा थिए ।

बायाँ हाते तीव्र गतिका बलरसँगै तल्लो क्रममा क्लिन हिट हान्ने खुबी भएको खेलाडीमा प्रतिश पर्छन् । हजारौं दर्शक, एसोसिएटको बादशाह डच टोली र दबावपूर्ण कन्डिसनमा आफ्नो टी–२० आई करिअरको दोस्रो खेल खेलेका प्रतिशले आफूलाई सम्हाल्न सकेनन् ।

मर्वेको पाँचौं प्रतिशले ब्याट त घुमाए, तर बल कनेक्ट भएन । मवेको अफ स्टम्प भन्दा केही टाढाको बल स्वीङ हुन पुग्यो । अन्तिम बलमा लेग साइडको बलमा एक रन बटुल्न सकेनन् ।

पाँचौं बलमा उनले एक रन बटुल्दै अन्तिम बल गुल्सनलाई दिन सक्थे । तर त्यो समयमा उनले सोचेको जस्तो नतिजा आउन सकेन । मुखमै आएको जित सुनिश्चित गर्न नसक्दा प्रतिश स्तब्ध भए ।

‘देशलाई जिताउन सक्ने अवस्थाबाट हराउन पुगेको थिए । नराम्रो लागेको थियो’ उनी भन्छन्, ‘मलाई नराम्रो पनि किन लागेको थियो भने म त्यो खेल जिताउन सक्थे ।’

तर पनि टोलीले प्रतिशमाथि भरोसा गर्‍यो । बिहीबार नामिवियाविरुद्ध पनि उनले अवसर पाए । सुरुवाती दुई ओभरमा ९ रन खर्चिए । १३ औं ओभरमा एक छक्का र दुई चौका खर्चिएपछि कुल ३ ओभरमा २६ रन दिए । विकेट लिन सकेनन् ।

शनिबार नेपाललाई जित्र्नै पर्ने खेलमा प्रतिशले प्लेयर अफ द म्याच प्रदर्शन गरे ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेको नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्ने निर्णय लियो ।

पछिल्लो खेलमा नामिवियाविरुद्ध पहिला ब्याटिङ गर्दै नेदरल्यान्ड्सले ओपनर माइकल लेभिटले १३५ रनको शानदार शतकीय इनिङको मद्दतमा २४७ रन बनाएको थियो ।

शनिबार तीव्र गतिका बलर करण केसीको चौथो बलमै लेभिट ४ रनमा दीपेन्द्रसिंह ऐरीबाट मिडअफमा क्याच आउट भए । अन्तिम बलमा साइब्रान्ड एंगलब्रेक्ट शून्यमा एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएपछि डच टोली दबाबमा पर्‍यो ।

पहिलो ओभरमै दुई विकेट गुमाएपनि म्याक्स ओडाउड र स्कट एडवार्डसले विस्तारै खेलमा फर्कायो । ८ औं ओभरको समाप्तिमा ५४–२ को अवस्थामा पुगिसकेको थियो ।

नवौं ओभरमा चोभार एन्डबाट आएका प्रतिशले खेललाई नेपालको पक्षमा ल्याए ।

उनले आफ्नो पहिलो ओभरमा जम्मा दुई रन खर्चिदै नेदरल्याण्डसलाई दबाबमा राखेका थिए । नवौं ओभरको पहिलो बलमा प्रतिशको सर्ट लेन्थको बलमा स्कट १८ रनमा बोल्ड भए ।

चौथो बलमा म्याक्स ओडाउडलाई ३१ रनमा बोल्ड गरे । दुबै खेलाडी क्रस ब्याटरले खेल्नेक्रममा मिस भएपछि बोल्ड भएका थिए । उनले चलाखीपूर्ण बलिङको गति पनि घटाएका थिए ।

सेट भएका दुबै ब्याटरलाई एकै ओभरमा आउट गरेपछि नेदरल्यान्ड्स सम्हाल्लिन सकेन । अर्को ओभरको अन्तिम दुई बलमा कुशल मल्लले नोहा क्रस ३ र आर्यन दत्तलाई शून्यमा आउट गरेपछि नेदरल्यान्ड्स संकटमा पर्‍यो ।

नेदरल्यान्ड्सको झिनो आशा तेजा निणामानिरुमा थियो । प्रतिशले १५औं ओभरको तेस्रो बलमा १५ बल खेलेका तेजालाई ५ रनमा बोल्ड आउट गरे । फुल लेन्थको इन स्वीङमा तेजालाई बोल्ड गर्दै ८३–७ को कठिन अवस्थामा पुर्‍याए ।

समग्रमा प्रतिशले ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिए । उनको उत्कृष्ट प्रदर्शनमा नेदरल्यान्ड्स १९.३ ओभरमा १२० रनमा अल आउट भएको थियो ।

नेपालले उक्त लक्ष्य लक्ष्य १५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा स्थान पक्का गरायो । भरिभराउ दर्शकलाई प्रतिशले खुसी प्रदान गरे ।

शनिबार प्लेयर अफ द म्याच बनेपछि प्रतिशले बुधबार जिताउन नसक्दाको क्षण सम्झिए, ‘पूरा देशलाई जिताउन सक्ने अवस्थाबाट हराउन पुगेको थिएँ । नराम्रो लागेको थियो । टिमले मलाई ब्याक गरेको थियो । टिमले ब्याक गर्दा अलिकति मलाई पनि इमोसनल्ली (भावनात्मक) रुपमा सपोर्ट मिलेको थियो ।’

उनका अनुसार बुधबार नेदरल्याण्डसविरुद्ध राम्रो प्रदर्शन गर्न नसकेकै कारण शुक्रबार नामिबियाविरुद्ध खेल्न नपाएको भए मनोबल गिर्न सक्यो । ‘मलाई ब्याक गर्दा झनै आत्मविश्वास आयो, प्रतिशले भने’ त्यो खेल हारेर आएपछि जसरी सपोर्ट गर्नुभयो, त्यसका लागि म मोन्टी सरलाई धन्यवाद भन्न चाहन्छु ।’

प्रशिक्षक मोन्टी देशाईले बायाँ हाते बलर प्रतिशलाई रणनीतिक हिसाबमा खेलाउँदै आएका छन् । पछिल्लो एक वर्ष प्रतिश टोलीसँगै रहे ।

नेपालको जर्सीमा खेल्ने मौका भने विरलै पाए । क्यानडासँगको तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग–२ मा नामिविया र नेदरल्यान्ड्ससँग खेल्ने टोलीमा प्रतिश थिएनन् ।

क्यानडासँगको खेलमा नेपालले अर्का बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाललाई मौका दिएको थियो । लिग २ मा रिजन ढकाललाई बाहिर राख्दै देव खनाललाई मौका दिएको थियो । प्रतिश भने नेपाल ए बाट क्यानडासँग तीन एकदिवसीय सिरिजमा थिए । उनले नेपाल ए बाट क्यानडाविरुद्ध दुई खेल खेलेका थिए ।

‘नेटमा खेल्दा कुनै दबाव हुँदैन । त्यहाँ खेलेर आउँदा यहाँ सिधैं आएको जस्तो हुँदैन । क्यानडाको सिनियर टोलीसँग खेलेर आउँदा बीचको दुरी कम भयो । त्यही भएर सजिलो भयो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?