+
+

महानगरविरुद्ध किन सडकमा आए कवाड व्यवसायी ?

‘बालेनले हामी गरिबलाई काठमाडौं नबस भने’

अमृत चिमरिया अमृत चिमरिया
२०८० फागुन २० गते २१:२१

२० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा आइतबार कवाड संकलक र व्यवसायीले प्रदर्शन गरे ।

सुन्धाराबाट र्‍याली निकालेका उनीहरुले महानगरपालिकाको कार्यालय राष्ट्रियसभा गृहबाहिर प्रदर्शन र नाराबाजी गरे । महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पछिल्लो केही हप्तादेखि कवाड संकलन केन्द्रहरुमा डोजर चलाइरहेको छ ।

आफूहरुको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायी मेयर बालेन शाहसँग रिसाएका छन् ।

२०६६ सालदेखि कवाड सामान संकलन गर्दै आएका रौतहट कटहरियाका प्रेम नारायण पटेल चार जना साथीहरुसँग एउटै कोठामा बस्छन् ।

उनीहरु कवाड जम्मा गर्ने डिल्लीबजारको संकलन केन्द्रमा एक हप्ता अगाडि महानगरपालिकाले भत्काइदिएपछि बेरोजगार भएका छन् ।

घरघबाट कवाड संकलन गरेर बिक्री गर्ने उनीहरु केही आम्दानी जोगाएर घर पठाउँथे । ‘अब त्यो बाटो बन्द भयो’, राष्ट्रिय सभागृह अगाडि आन्दोलनमा आएका पटेलले भने, ‘रोजीरोटीको बाटो नै यही हो । महानगरले अहिले एक्कासी भाग भन्छ, कहाँ जानु ?’

विदेश जान भनेर काठमाडौं आएका प्रेमनारायण दलालले ६० हजार रुपैयाँ खाइदिएपछि कवाड संकलनको काममा लागेका थिए । ‘काम गरेदेखि यस्तो समस्या कहिल्यै परेको थिएन, बालेन साबले हामी गरिबलाई काठमाडौंमा नबस भनेका छन्’, उनी भन्छन् ।

महोत्तरीका सुरेन्द्र पासवानले काठमाडौंमा कवाडी संकलन गर्न थालेको २० वर्ष भयो । बालेन शाह मेयरमा निर्वाचित हुँदा पासवान पनि खुशी थिए । तर अहिले आफूहरुलाई हेपेको भन्दै उनी दुःखी छन् । ‘हामीलाई इज्जत त दिएन नै, खान पनि दिएन’, कवाड संकलकलाई अपराधीको व्यवहार गरेको पासवानले बताए ।

फोहोर टिप्दा किन टाउको दुख्यो ?

२५ वर्षदेखि काठमाडौंमा कवाड संकलन गरिरहेका भारत मोतीहारीका छोटेलाल जैसवालले डिल्लीबजारस्थित शम्भु साहको संकलन केन्द्रमा बेच्ने गरेका छन् ।

उनी आफूहरुले कवाड संकलन गर्दा महानगर नै सफा हुने बताउँछन् । ‘हामीले फोहोर टिपेर बेच्दा के गल्ती गर्‍यौं । हामीलाई काठमाडौं छाडेर बाहिर जाउ, जाउ मात्रै भनिरहेको छ । यहाँ नबस मात्रै भनिरहेको छ’, उनले भने ।

महानगरपालिकालाई उनको प्रश्न छ, ‘खेर जाने सिसी बोतल, कापी किताब, बिग्रेको भाँडा, काम नलाग्ने डण्डी संकलन गर्दा महानगरलाई किन यत्रो टाउको दुख्यो ?’

‘कवाड संकलक लखेट्दा ५ लाख मान्छे लखेटिन्छ’

काठमाडौंका विभिन्न टोलमा साइकलमार्फत कवाड संकलन गर्दै आएका प्रेमकुमार कलवार कवाड व्यवसायले महानगरपालिकालाई कर तिरिरहेको बताउँछन् । त्यसैले आफूहरुलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।

‘हामी खेर जाने सामान जम्मा गरेर कच्चा पदार्थ बनाउँछौं, अनि उद्योगलाई दिन्छौं । त्यहीबाट फलामको सामान, प्लाष्टिको सामान बन्छ । फोहोर उठाएर उद्योगलाई दिँदा त देशलाई नै फाइदा हुन्छ नि’, कलवारले भने ।

कवाड संकलन नगर्ने हो भने एकातिर काठमाडौंमा अहिले भन्दा धेरै फोहोर जम्मा हुने र अर्कोतिर प्लाष्टिक तथा फलाम उद्योगले भारतबाट कच्चा पदार्थ किनेर ल्याउनुपर्ने उनी बताउँछन् ।

‘बालेन सरसँग हाम्रो धेरै माग होइन बरु केही नियम लगाऔं, यो समयमा मात्रै संकलन गर्न पाइन्छ भन्नुपर्‍यो, तर यहाँ बस्नै पाउँदैनस् त भन्न भएन नि’, कलवारले भने ।

उनका अनुसार काठमाडौंमा करिब तीन हजार कवाड संकलन केन्द्र छन् । एउटा संकलन केन्द्र मातहतमा करिब एक सय जना संकलक छन् र उनीहरु परिवारसहित काठमाडौंमा बसेका छन् ।

‘कवाडी कामसँग जोडिएको मात्रै काठमाडौंमा ५ लाख मान्छे होला सबै लखेटेपछि यहाँ व्यापार चाहिँ चल्छ त ?’ उनी प्रश्न गर्छन् ।

कवाड व्यवसायीहरुको स्क्राफ्ट हकहित फाउन्डेसनका अध्यक्ष सञ्जय साहले महानगरपालिकाले व्यक्तिगत जग्गामा डोजर चलाउन नमिल्ने बताए ।

‘कानुनमा हातमा लिएर बालेनले लाखौंलाई बेरोजगार बनाउने हर्कत गरिरहेका छन् । कवाड व्यवसायलाई नियमन गर्न परे नीति बनाऔं, वार्तामा बसौं तर सिधै डोजर चलाएर तँ काठमाडौं छोड भन्न त मिलेन नि ?’

अध्यक्ष साहका अनुसार कवाड व्यवसायबाट मात्र उपत्यकामा दैनिक १० लाख रुपैयाँ संकलन हुन्छ । कवाड व्यवसायी महेश कलवालले देशभरि यो पेशामा करिब ८ लाख मानिस प्रत्यक्ष संलग्न रहेको बताए । ‘देशमा यति ठूलो उद्योग, व्यवसायमा योगदान दिने पेशामा महानगर किन क्रुर भएको थाहा छैन’, उनले भने ।

अध्यक्ष साहले मेयर बालेनले यो समस्या वार्तामार्फत समाधान नगरे काठमाडौंमा ठूलो आन्दोलन हुने बताए । ‘आजको भीड त १० प्रतिशतको मात्रै हो, लाखौं कवाड संकलक काठमाडौंमा उतार्छौं,’उनले भने ।

कवाड व्यवसाय प्रतिबन्ध छ : महानगर

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले १५ भन्दा बढी कवाड संकलन केन्द्रमा डोजर चलाइसकेको बताए ।

‘३ महिनादेखि माइकिङ गरेर हट्न भनेको थियौं, अहिले डोजर चलाउन थालिएको हो । महानगरभित्र ९० वटा कवाडी छ भन्ने हाम्रो अध्ययनले देखाएको छ । ३२ वटै वडामा कतैपनि कवाडी व्यवसाय राख्न नदिने नै हाम्रो नीति हो’, पाण्डेले भने ।

अहिले काठमाडौंको मात्रै नभएर ललितपुर, भक्तपुर, कीर्तिपुर लगायत क्षेत्रका कवाड व्यवसायीले पनि महानगर विरुद्ध आन्दोलन गरिरहेको पाण्डेले बताए । जनप्रतिनिधिहरुले कवाड संकलन केन्द्रका कारण धेरै असुरक्षा भएको गुनासो गरेको भन्दै नगर प्रहरी प्रमुख पाण्डेले नक्सापास नगरी राखिएका कवाड संकलन केन्द्रमा डोजर चलाएको बताए ।

मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले महानगर आफैंले कवाड संकलन गर्न खोजेको बताए । ‘महानगरपालिकाभित्र आफैं कवाड संकलन गर्ने तयारी छ । आफैंले संकलन गर्ने भएपछि अनौपचारिक रुपमा भइरहेको संकलनलाई रोक्न खोजेको हो’, उनले भने ।

फोटो/भिडियो : शंकर गिरी

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?